विषय प्रवेशः
नेपाली लोक सांस्कृतिक उत्सवहरूमा नेपालमा मात्र मनाइने श्रद्धाञ्जलीको सहयात्रा अर्थात् मृतक स्मृति पर्वः गाईजात्रा विश्वको इतिहासमा नै अद्वितीय र अनुपम चाड रहि आएको छ ।

मृतक वा पितृहरूको सम्झनामा मनाइने यो पर्व नेवारहरूको मौलिक पर्व हो । एउटै चाडमा रुने र हाँस्ने परम्परा विश्वका अन्य कुनै चाडमा छैन । यो गाईजात्राको विशेषता र मौलिकता हो । गाईजात्रा पर्वले मृत्युलाई जीवनको सहचर मानी त्यसलाई हाँसी, हाँसी स्वीकार गर्ने शिक्षा विश्वलाई नै दिएको छ । गाईजात्रामा एकातिर दिवङ्गत आफन्तहरूको बिछोडमा रोइरहेको व्यक्तिमा हास्य व्यङ्ग्यका माध्यमबाट हाँसो र खुसीको सञ्चार गराइन्छ । तिथिअनुसार यसवर्ष भाद्र ७ गते सोमबार गाईजात्रा परेको छ ।

गाईको महत्वले जन्माएको गाईजात्राः
धार्मिक परम्परा र मान्यताअनुसार भाद्र कृष्ण प्रतिपदामा एक दिनमात्र यमलोकको ढोका खुला हुने गर्छ । त्यसैले अरू दिन मरेका सबै पिचासको रूपमा यमलोकको ढोकाबाहिर नै बसिरहेका हुन्छन् । उक्तदिन मृतकको आत्मालाई गाईको प्रदर्शनले गाईको मद्दतबाट यमलोकमा प्रवेश हुने जनविश्वास अनुसार नेवारहरू यसदिन गाईको प्रतीक जिउँदो गाईलाई नै परिक्रमा गराउँछन् ।

धार्मिक ग्रन्थ तथा किंवदन्तीहरूका शास्त्रीय मतानुसार मानिसले मरेपछि स्वर्ग जाने बाटोमा पर्ने एउटा वैतर्णी नदी तर्नुपर्छ । वितरण शब्दबाट ‘वैतरणी’ शब्द बनेको छ । वैतरणी शब्दमा त्याग र दानको महŒव लुकेको छ । गाईजात्राको दिन गाई प्रदर्शन गर्ने क्रममा उक्त गाईले हालेको एक पाइला बराबर एक अश्वमेघ गरेको फल प्राप्त हुन्छ । पुराणहरूमा उल्लेख भएअनुसार गाईका पिठ्युँमा ब्रह्मा, गलामा विष्णु, मुखमा शिव, मध्य भागमा देवता र रोमावलीहरूमा महर्षिहरूका निवास हुन्छ ।

वस्तुतः गाईजात्राको मूलमा धार्मिक भावना लुकेको पाइन्छ । किनभने एकवर्ष भित्र जुन परिवारको कुनै सदस्यको निधन भएको हुन्छ, त्यस परिवारले आप्mनो घरबाट एउटा व्यक्तिलाई गाईजात्रामा भाग लिन लगाउँछ । यसरी कुनै परिवारले आर्थिक वा अन्य कुनै कारणले गाईदान गर्न नसकेर त्यस परिवारको सदस्यको मृत आत्मा आदि कतै भौंतारिरहेको छ भने त्यस परिवारबाट कुनै व्यक्ति गाईको प्रतिरूप बनेर पनि आप्mना मृत पूर्वजलाई मुक्ति दिलाउने त्यसले अवसर पाउँदछ ।

यसरी धार्मिक भावनाबाट जन्मेको यस जात्रामा गाईको रूप बनेर जाने मानिसलाई विशेष रूपले सजिसजाउ गरिएको हुन्छ । गाई बन्ने व्यक्तिहरू धेरैजसो किशोर वर्गका नै हुन्छन् । गाईको प्रतिरूप बन्ने व्यक्तिलाई गाईको चित्राङ्कित मुकुट पहि¥याउनुका साथै गालामा लाली आँखामा गाजल आदि लगाई सिंगारेर भूईंसम्म लत्रेको पटुका बाँधी नगर परिक्रमा गराउने गर्दछन् ।

सापारु पर्व गाईजात्रा राजधानी काठमाडौं उपत्यकालगायत नेवारहरूको जनघनत्व बढी भएका बनेपा, नाला, धुलिखेल, त्रिशूली, खोटाङ, दोलखा, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, बुटवल, वीरजञ्ज, हेटौंडा र पोखरामा नियमित रूपमा मनाइन्छ ।

गाईजात्रा पर्व पछिल्लो समयमा नेवाःदेय् दबूको स्थापना नेपाल संवत् १११६ (वि.सं.२०५३) मा भएपछि पूर्वी नेपालको नेवारहरूको जनघनत्व बढी भएका बिर्तामोड, दमक, विराटचोक, ताप्लेजुङ, उदयपुर आदि स्थानहरूमा पनि मनाउन थालिएको छ । यस पर्वको क्रममा परम्परागत कार्यक्रमका साथै सामाजिक विकृतिप्रति प्रहसन, ब्यूँथ्यात्मक प्रदर्शन, नाचगान तथा मृतकको नाममा रामायणका करुणरसका गीतहरूका साथ रामायण निकाल्ने चलन बढ्दो रूपमा रहेको पाइन्छ । यस अवसरमा  पत्रकार, कलाकार, बुद्धिजीवीहरूबाट प्रशासन, राजनीतिक र समाजका विकृत र थोत्रा गतिविधिहरूलाई व्यङ्ग्य प्रहार गर्र्दै अन्य दिनहरूमा भन्नै नसकिने कुराहरूलाई जोडेर भन्न सफल हुन्छन् ।

यस अवसरमा प्रायः पत्रपत्रिकाहरूले गाईजात्रा विशेषाङ्क निकाल्छन् । जसले गर्दा हाम्रो सांस्कृतिक परम्परा जीवन्त बनी हास्यव्यङ्ग्य विधा मौलिक रूपमा मौलाएको छ ।

धरानमा गाईजात्राः
धरानको पुरानो बजार (हाल वडा नं.३) मा मनिराज ताम्राकार नाम गरेका नेवार समुदायका सम्पन्न धार्मिक प्रवृत्तिका भावुक व्यक्ति थिए । उनी वडा नं.३ कै राधाकृष्ण मन्दिरको पुनःनिर्माण समितिका २००७ चैत्रदेखि प्रथम उपसभापति भई लामो अवधिसम्म सेवा गरी २०१० मा निधन भयो ।

सोही वर्ष २०१० सालमा धरानमा व्यक्तिगत रूपमा गाईजात्रा र लाखेनाचको श्रीगणेश भएको पाइन्छ । नेपालका प्रमुख नेवार बस्तीहरूमा धरान पनि गनिन्छ ।

धरानमा नेवारी संस्कृतिको संरक्षण र जगेर्ना गर्न २०५१ सालमा सिद्धिनेवाः परिषद्को स्थापना भई २०५२ सालदेखि व्यवस्थित एवम् संस्थागत रूपमा धरानका नेवार जातिका परिवारका दिवङ््गत व्यक्तिको नाममा सामूहिक रूपमा हरेक वर्ष गाईजात्रा कार्यक्रम हुँदै आइरहेछ ।

२०५८ जेठ १९ गते नारायणहिटी राजदरबारमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र तथा राजपरिवारका अन्य सदस्यहरूको वंशविनाश भयो । उक्त कहालीलाग्दो घटनामा आत्माको परम् शान्तिको सम्झनामा दुईवटा गाई र रथमा राधाकृष्ण प्रस्तुत गरी भव्य रूपमा तीन दिनसम्म शोकाञ्जली रामायण धरानका चोक–चोकमा सफलतापूर्वक प्रस्तुत भएको थियो ।

धरानमा सिद्धिनेवाः परिषद्बाट नेवारी रीतिरिवाज अनुसार गाईजात्रा र शोकाञ्जली रामायण हरेक वर्ष हुँदै आइरहेछ । त्यसैले जहाँ तीर्थ छ, त्यहाँ महादेव हुन्छ भन्ने मान्यता अनुसार जहाँ नेवारहरूको जनघनत्व बढी छ, त्यहाँ गाईजात्रा र लाखेनृत्य हुन्छ ।

ऐतिहासिक पृष्ठभूमिः
सापारु (गाईजात्रा) को प्रारम्भ बारे प्रचलित कथनअनुसार आप्mनो सुपुत्र चक्रवर्तेन्द्र मल्लको अल्पायुमै असामयिक निधन भएको शोकले विह्वल भएकी आप्mनी रानीलाई दुनियामा सबैले यस्तो शोक बेहोर्नु पर्छ भनी सम्झाउनका लागि नेपाल संवत् ७६१ मा राजा भएका कान्तिपुरका मध्ययुगीन राजा प्रताप मल्लले जनताहरूलाई आ–आप्mना घरबाट मृत्यु भएका व्यक्तिहरूको नाममा सापारु निकाली सहर परिक्रमा गराउनू भनी आदेश दिएको र यतिले पनि रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रकारका प्रहसन तथा व्यङ््ग्यात्मक कार्यक्रम पनि देखाउने आदेश दिए अनुसार यो प्रचलन सुरु भएको इतिहासहरूमा उल्लेख भएको पाइन्छ ।

यही कथनलाई अनुसरण गर्दै सापारु काठमाडौं हनुमानढोकास्थित राजप्रासाद भएर अघि बढ्नु पर्ने चलन हालसम्म कायमै छ । नेपाल भाषामा ‘सा’ भन्नाले ‘गाई’ र ‘पारु’ भन्नाले प्रतिपदा बुझाउँछ । गाईको भूमिका रहने जात्रा भएकाले नेपालीमा यस पर्वलाई गाईजात्रा भन्ने गरिन्छ ।

उपसंहारः
रुढी परम्परा, धर्मान्धता राजनीतिक स्वार्थ तथा हत्याहिंसा आदिबाट ग्रस्त र अशान्त नेपाली समाज आज रोइरहेछ । गाईजात्राका माध्यमबाट हामीले यी विकृतिहरूलाई उदाङ्गो पारी समाजमा फेरि नैतिकता राजनीतिक स्थिरता, अहिंसा आदिबाट देशमा शान्ति स्थापना गरी नेपाली जनतालाई समृद्ध बनाई हँसाउनु परेको छ । जसले गर्दा हाम्रा पूर्वजहरूको आत्मालाई मुक्ति मिलोस् । यही सन्देश आज हामीलाई गाईजात्रा पर्वले दिइरहेको छ ।