धरान । जनवादी गायक जेबी टुहुरेको बिहीबार साढे १२ बजे निधन भएको छ ।
काठमाडौंको बयोधा अस्पतालमा उपचाररत टुहुरेको ७८ वर्षको उमेरमा निधन भएको हो । उनी मुटुसम्बन्धी समस्या, फोक्सो, मधुमेह, उच्च रक्तचाप लगायतको समस्याबाट ग्रसित थिए । गत मंगलबार मष्तिस्कघात भएपछि उनलाई उपचारका लागि बयोधामा भर्ना गरिएको थियो ।
वि.सं. २००१ साल कात्तिक १५ गते धरानमा जन्मिएका उनको वास्तविक नाम जुटबहादुर खड्गी हो । कम्युनिष्ट आन्दोलनमा होमिएका उनी गीतको माध्यमबाट जनतालाई सचेत गराउँदै आएका थिए । प्रगतिवादी चिन्तनको गीत गाउने टुहुरेको ‘आमा दिदीबहिनी हो’ बोलको गीत निकै चर्चित छ ।
पञ्चायत कालमा कम्युनिष्ट पार्टीमा लागेर उनले जनताको घरघरमा यस्ता लोकप्रिय गीत लिएर जाने गरेका थिए । सोही कारण नै कम्युनिष्ट आन्दोलनले एउटा उचाइ प्राप्त गरेको थियो । उनी २०७० सालमा नेकपा माओवादी केन्द्र समर्थित मानिन्थे । उनको शवलाई माओवादीको मुख्यालय पेरिस डाँडामा राखेर श्रद्धाञ्जलि दिने कार्यक्रम रहेको जनाइएको छ ।