सरकार

छेपारो प्रवृति देखाउँछ ।

भूँइमान्छेहरू बीच 

कुदृष्टि फ्याँक्छ

सरकार !

बामन अवतार लिन्छ

अनाहकमा निमोठी दिन्छ आशाका कलिला मुनाहरू !


दोहोरो भिडन्तको

नाटक मञ्चन गर्छ जीवन मञ्चमा 

सदियौं अगिदेखिको 

घरमा

वर्वरतापूर्वक आगो सल्काउँछ

डडाउँछ आदिवासी बस्ती

ताप्छ

कहिल्यै नतातिने छाला

सुकाउँछ

चिसो पसिना

मन्त्रमुग्ध हुँदै

बाँसुरी बजाउँछ –नीरोले झैं 

छिः नालायक सरकार !


यता सडकमा 

उफ्री उफ्री चिच्याउँछ र छट्पटिन्छ

तर, सुन्दैन सरकार !

या त सुनेर पनि नसुने झैं गर्छ

अर्थात्

बहिरो छ काठमाडौं !

यतिबेला

दोसाँधमा उभिएको छ

विवश छ टीकापुर ।

हो,

उठ्नु त छँदैछ

जुट्नु त छँदैछ

आफ्नो सुदूर भविष्य सम्झेर

अवश्य एकदिन उठ्ने छ

अवश्य एकदिन जुट्ने छ ।

म त्यो दिनको प्रतीक्षामा छु ।