पाँचथर । प्रदेश १ को पहाडी जिल्ला हो, पाँचथर । यो जिल्लाको ४४.३८ किलोमिटर भू–भाग भारतसँगको सीमाक्षेत्रमा पर्छ । भारतको पयश्चिम बङ्गाल र सिक्किम राज्यसँग जोडिएको छ, पाँचथरको भू–भाग । जिल्लाको याङ्वरक र हिलिहाङ गाउँपालिका सीमाक्षेत्रमा पर्छन् ।
सीमाक्षेत्र उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्छ । माथिल्लो भू–भागमा त्यसै पनि रमणीय र रहरलाग्दो डाँडाकाँडा छन् । मनै फुरुङ्ग पार्ने नागी र चउर । स–साना पोथ्रा र बुट्यानको सुन्दरता । नाङ्गो आँखाले मनमोहक हिमालका दृश्यलाई नियाल्दै रमाउनुको आनन्द छुट्टै हुन्छ । स्वदेशी तथा विदेशी पर्यटकको भीड लागिरहने सन्दकपुरछेउको आहालडाँडादेखि प्रसिद्ध तीर्थस्थल तिम्बुङपोखरीसम्मको सीमाक्षेत्र यस्तै प्राकृतिक सौन्दर्यले सिँगारिएको छ ।
सीमाक्षेत्रमा पर्ने खुला र रमणीयस्थल चारराते यहाँको आकर्षक पर्यटकीय गन्तव्य हो । यहाँ हरेक नयाँ वर्षमा चौंरी पालन व्यवसाय प्रवद्र्धनका लागि चौंरी महोत्सव हुन्छ । देश–विदेशका मानिस चारराते पुग्छन् ।
नेपाल तथा भारतको पश्चिम बङ्गाल र सिक्किम राज्यको त्रिकोणात्मक सङ्गमस्थल तीन सिमाना र फालोट सीमाक्षेत्रमै पर्छ । जहाँ सिजनमा आन्तरिक तथा वाह्य पर्यटकको घुइँचो लाग्छ । सन्दकपुर–फालोट भारतीय पर्यटकहरूका लागि चर्चित ‘ट्रेकिङ रुट’ हो ।
याङ्वरक गाउँपालिकामा पर्ने चिवाभञ्ज्याङ सीमाक्षेत्रको अब्बल पर्यटकीय गन्तव्य हो । चिवाबाट पहाडैपहाड भएर पूर्व–पश्चिम जोड्ने पुष्पलाल मध्यपहाडी लोकमार्ग सुरु हुन्छ । पाँचथर–ताप्लेजुङ र सिक्किमको सीमावर्ती क्षेत्रमा रहेको छ, तिम्बुङपोखरी । जुन पूर्वकै प्रसिद्ध तीर्थस्थलको रूपमा चर्चित छ । सिजनमा यहाँ तीर्थयात्रीहरू आउने स्थानीय बताउँछन् । जेठदेखि सुरु हुने तिम्बुङ तीर्थयात्राको सिजन साउन अन्तिमसम्म चल्छ ।
विश्वमै दुर्लभ रेडपाण्डाको बासस्थान
सुन्दर प्राकृतिक छटाले सजिएको सीमाक्षेत्र दुर्लभ तथा लोपोन्मुख जङ्गली जीवजन्तुको बासस्थान पनि हो । उक्त क्षेत्रमा विश्वमै दुर्लभ रेडपाण्डा (हाब्रे) पाइन्छ । रेडपाण्डा नेटवर्कले स्थानीय साझेदार संस्थाहरूसँगको सहकार्यमा रेडपाण्डा संरक्षण अभियान चलाएको छ ।
पाँचथर, इलाम र ताप्लेजुङको उच्च पहाडी क्षेत्रलाई समेटी पिट (एक्ष्त्) करिडोर बनाएर संरक्षणको काम गरिएको करिडोरमा एक सयभन्दा बढी रेडपाण्डा रहेको बताइन्छ । रेडपाण्डाको गणना गर्न राखिएको क्यामेरा ट्रयापिङमा दुर्लभ पाटे बाघसमेत भेटिएको संरक्षण साझेदार संस्था दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले बताए ।
बहुमूल्य जडिबुटीको राजधानी
सीमाक्षेत्रलाई बहुमूल्य जडिबुटीको राजधानीको रूपमा पनि चिनिन्छ । सीमाक्षेत्र प्राकृतिक सुन्दरताले मात्र होइन, विभिन्न किसिमका बहुमूल्य जडिबुटीले पनि भरिएको छ । सतुवा, बिखमा, पाखनवेद, कुड्की, पदमचाल, पाँचऔंले, वनलसुन, केञ्जो, चिम्फिङ, टिमुर, जटामसीलगायतका औषधीय गुणले युक्त दर्जनौं जडिबुटी सीमाक्षेत्रमा पाइने फालेलुङ–६ छिरुवाका राजकुमार इशारा राईले बताए ।
कोरोना–कहरले चहल–पहल शून्य
प्राकृतिक सौन्दर्यको खानी सीमाक्षेत्रमा विगतका वर्षहरूमा जस्तो चहल–पहल भने छैन । कोरोना प्रकोपका कारण पर्यटकले भरिभराउ हुने सीमाक्षेत्र गत वर्ष र यो वर्ष शून्य रह्यो । कोरोनाको पहिलो लहर केही शान्त भएसँगै पर्यटक सिमाना पुग्न थाले पनि लगत्तै दोस्रो लहर सुरु भएपछि सीमाक्षेत्र पुनः पर्यटकविहीन बन्न पुगेको गोठ–स्टे (गोठबास) सञ्चालन गर्दै आएका राजेन्द्र राईले बताए ।