मोरङ/प्रदेश १ सामाजिक विकास मन्त्रालयले चौधौं राष्ट्रिय पुस्तकालय दिवस मनाएको छ ।
भर्चुअल माध्यमबाट दिवस मनाइएको मन्त्रालयका उच्च शिक्षा तथा युवा खेलकुद महाशाखाका प्रमुख फणिन्द्र खत्रीले जानकारी दिए । ‘सवल समाजको आधार, सार्वजनिक पुस्तकालयको विकास र विस्तार’ भन्ने नाराका साथ कार्यक्रम मनाइएको हो ।
कार्यक्रममा पुस्तकालयको सञ्जाल निर्माण, पुस्तकालयलाई आधुनिक र प्रविधिमैत्री बनाइनुपर्ने, पुस्तकालयसम्बन्धी कानून निर्माण, नमूना पुस्तकालय निर्माण, पुस्तकालयमा जनशक्ति व्यवस्थापन, प्रदेश स्तरिय मन्त्रालयमा पुस्तकालय समन्वय शाखाको आवश्यकता, प्रदेशमा भएका पुस्तकालयहरूको अध्ययन हुनुपर्ने लगायतका विषयमा छलफल भएको खत्रीले जानकारी दिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति महासङ्घ प्रदेश १ का अध्यक्ष बवि राई, नगरपालिका सङ्घ प्रदेश १ का अध्यक्ष महेश बस्नेत, गाउँपालिका महासङ्घ प्रदेश १ का अध्यक्ष ताराबहादुर काफ्लेले पालिकास्तरमा पुस्तकालयको विकास र विस्तारका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताए । सङ्गम पुस्तकालय उदयपुरको समन्वयमा कार्यक्रम भएको थियो ।