कहिलेकाहीँ साहित्य पढ्दा नराम्रोसँग जीवनलाई घोच्छ । त्यसबाट दुखाइहरु उत्पन्न हुन्छन् । किन यस्तो हुन्छ ? यसको जवाफ खोज्न सहज छैन । मनसँग मनको मिलन अर्थात् साहित्यमा पदावलीमार्फत् आएका मनहरुका कारण त्यसो भएको हो त ? यसको पनि पूर्ण जवाफ नआउन सक्छ । किनकि सबैको बुझाइ फरक फरक हुनसक्छ, साहित्यप्रति ।

साहित्य आनन्दका लागि पढिन्छ होला सायद । यदि मनलाई आनन्द दिने साहित्य नै जीवनजगत्को सम्बोधन होला । त्यसैकारण मानिसलाई साहित्यले तानिरहन्छ होला । केही समययता यस्तै प्रकारको साहित्य पढ्ने मौका मिल्यो । अनायास पढ्न जुरेको कथाकार सरण राईको पछिल्लो कथा सङ्ग्रह ‘फुली’ ले यसरी मन उद्वेलित बनायो । पाँचपोखरी प्रकाशन गृहबाट प्रकाशित सङ्ग्रहभित्र ११ वटा कथा समावेश छन् । ती कथामध्ये पनि शीर्ष कथा ‘फुली’ आफैमा नौलो प्रयोग छ ।

कथाको सिद्धान्त के हो ? भाष्य के हो ? विद्वानहरुका आ–आफ्ना तर्क र मतहरु रहेको पाइन्छ । विदेशी विद्वान एडगर एलेन पोको मान्यतालाई मान्ने हो भने यसो भन्छन्, ‘कथा भनेको एउटा यस्तो कथात्मक कृति हो जुन छोटो हुनाले एक बसाइमै पढेर सिध्याउन सकिन्छ । पाठकमा एउटा प्रभाव जमाउनका निम्ति यो लेखिन्छ र यसरी प्रभाव जमाउन बाधा गर्ने सबै कुराहरु यसमा रहन दिइँदैन । यो आफैमा पूर्ण हुन्छ (नेपाली कथा भाग ४, पृष्ठ ७) ।’ कथासम्बन्धी उनको मतमा सबै एकमत हुन सक्छन् भन्ने छैन । किनकि उनको मत नै सार्वभौम पनि होइन । यही मत नै निरपेक्ष भन्ने होइन । हरेक वस्तु तथा चिजका सापेक्षताहरु हुन्छन् । शीर्षकथा फुली पढिरहँदा मैले बुझ्ने र अन्य पाठकले बुझ्ने तौरतरिकाहरु फरक फरक हुन सक्छन् । यही नै वास्तविकता हो । यसैकारण त नाम चलेका लेखक हुनेबित्तिकै उनले लेखेका साहित्यहरु सबै उत्कृष्ट हुन्छ भन्ने हुँदैन ।

फुलीले एउटा पुरूष र स्त्रीबीचको दाम्पत्य जीवनलाई कलात्मक ढङ्गले उतार गरेको छ । दाम्पत्य जीवनका सुखानुभूति मात्रै हैन, दुःखानुभूतिलाई पनि चिर्ने प्रयास गरेको छ । एक प्रकारले भन्ने हो भने दाम्पत्य जीवनको मनोविज्ञानलाई यसले उतार गर्न सफल भएको छ । भूमिका लेखनको क्रममा प्राज्ञ माया ठकुरी लेख्छिन्, ‘स्त्री र पुरूष, विशेष गरेर पति र पत्नीको दाम्पत्य जीवनको मनोविज्ञानलाई कथाहरुमा कलात्मक ढङ्गले व्याख्या गरिएको छ (शुभकामना खण्ड) ।’ फुली कथा सङ्ग्रहभित्रका अन्य कथाहरु पनि आख्यानकार सरण राईको जीवनको वरिपरि नै घुमेका छन् । यथार्थ र वस्तुपरक ढङ्गले आफ्नो जीवनको सम्पूर्ण अवयवहरुलाई प्रस्तुत गरेका छन् । त्यसमा कलात्मकता थपेका छन् । मानिस तब निरस बन्दो रहेछ, जब उसका इच्छा, आकाङ्क्षा र जीवनको सम्पूर्ण कुराहरुको अन्त्य हुँदो रहेछ । आख्यानकार राईका धर्मपत्नी लक्ष्मी राई जब महायात्रामा निस्किन्छिन्, तब उनको मनमा आएका भावनाहरु, आवेगहरु, चाहनाहरु, इच्छाहरुलाई कथामार्फत् पोखेका छन् । जीवनको कहालीलाग्दो निरस जीवन व्यतीत गर्न पुगेपश्चात् उनले आफ्नो मन बहकाउनका लागि पनि कथामार्फत् जीवनका भोगाइलाई यथार्थपरक ढङ्गबाट चित्रण गरेका छन् । प्राज्ञ माया ठकुरी थप लेख्छिन्, ‘मानिसहरुको जीवन, उनीहरुको आकाङ्क्षा र भोगाइका अन्तव्र्यथालाई कथामा सुव्यवस्थित रुपमा प्रस्तुत गरिएको छ (शुभकामना खण्ड) ।’ शुभकामना खण्डमै रीता ताम्राकार लेख्छिन्, ‘विशेष रुपमा विविध परिवेशमा एक्लिएका र जीवनको उत्तराद्र्धमा एक्लोपनको भोगाइको मनोविज्ञानलाई कथाहरुमा निकै गहन र कलात्मक रुपले उतारिएको पाइन्छ । जुन पक्ष सङ्ग्रहको अत्यन्तै मर्मस्पर्शी, हृदयस्पर्शी, कारूणिक भावको पाटो रहेको छ ।’

आख्यानकार राई आफैले पनि मृत्युको पूर्वाभासको पीडालाई मार्मिक ढङ्गले प्रस्तुत गरेका छन् । सप्तरङ्गी जीवन भइञ्जेल मानिसलाई अन्य दुई रङ्गको यथार्थबोध नहुने कुरा उप्काएका छन् । सप्तरङ्गमै मानिस भुल्दो रहेछ तर, जब थप दुई रङ्गको बोध हुन पुग्छ, तब त्यो पीडाबाट उन्मुक्ति खोज्दा पनि कहाँ सहज उन्मुक्ति मिल्छ र भन्ने आशय व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘मानिस दुःखविहीन हुँदा सप्तरङ्गी रङ्गीन दुनियाँमा भुल्दो रहेछ । सप्तरङ्गत इन्द्रेणीका रङ्गहरु हुन् । सात रङभन्दा अर्का दुई रङहरु हुन्–असह्य शोक जब मानिसको जीवनमा घट्छ रङ्गविहीन अनुभूतिका साथ एउटा शून्य अनुभूति हुन्छ । रोइरहेका आँखाले देखिने रङ्ग आठौं हो । नवौं रङ्ग अनेकौं दुःख, पीडा, रिक्तता, अभाव, आघात, सन्ताप, यातना, बिछोड, वियोगका असह्य परिस्थितिमा पनि मानिस बाँच्न चाहन्छ । त्यस जीजीविषाको अद्भूत रहस्यमयी अदृश्य रङ्ग नवौं हो (भूमिका खण्डमा) ।’

हो, कथाकार राईले आफ्नो कथामा बढीभन्दा बढी नवौं रङ्गको चर्चा गरेका छन् । शीर्षकथा फुलीमा सबैभन्दा बढी यसको चर्चा छ । नवौं रङ्गको भाष्य के हो ? भाष्यकारहरुले यसलाई कसरी परिभाषित गरेका छन् ? हामीकहाँ यस्ता थुप्रै कथाहरु छन्, उपन्यासहरु छन्, आत्मवृत्तान्तहरु छन् । जुन पढेर मन उद्वेलित हुने गर्छ । साहित्यले जीवनजगत्को यथार्थता पस्किएको हुन्छ । जसले गर्दा नै हरेक पाठकको मनमा एक खालको अनुभूति हुन्छ । त्यो अनुभूति लेखकको भन्दा फरक नहुन सक्छ । फुलीले यसरी नै पाठकलाई डो¥याउँछ । सङ्ग्रहले कथाकारको आगत, विगतलाई केलाइदिएको छ । उसको वास्तविकतालाई चिरेको छ । फुली पढ्ने हरेक पाठकलाई कथाकारको जीवनको भोगाइबारे मात्रै अवगत हुँदैनन् । उनको जीवनको वास्तविक पाटोबारे पनि जानकार हुन्छन् । विगतमा उनको जीवन कसरी गुज्रिएको थियो भन्नेबारे पनि अगवत हुन्छन् । उनका खराब आनीबानी, कुलतबारे पनि प्रष्ट भइन्छ । एउटा विद्वान कसरी कुलतमा जानीनजानी फस्दो रहेछ भन्ने चित्रण पनि यथार्थपरक तरिकाले गरिएको छ । एउटा उदारहण हेरौं–बाहिर रक्सी मातुञ्जेल खाएर आए पनि घरमा आइसकेपछि अलिकति नखाई हुँदैनथ्यो । यति मात्रै हैन, उनमा तास खेल्ने लत लागेको कुरालाई पनि उल्लेख गरेका छन् । यस्ता थुप्रै लतबाट उनी गुज्रिएका छन् तर, लक्ष्मीको मायालुपनकै कारण ती कुराहरु छाड्न सकेको प्रसङ्ग उप्काएका छन् ।

मनोवाद ढाँचामा कथाहरु लेखिएका छन् । लक्ष्मी महायात्रामा निस्किएपछि एकल, निरस बन्न पुगेको जीवन कथामार्फत् पूर्वाभाष दिलाउन खोजेका छन् । ‘कुनै बेला आधा रातमा वा रात–विरात तिनको सम्झना आएर मुटु चरक्क चिरिन्छ । उठेर बस्छु र एकोहोरिन्छु तर, एकल जीवन....‘काजी के भयो ?’ सोध्ने तिनी कहाँ छिन र !’ उनका कथाका पानाहरु पल्टाइरहँदा मुटुका व्यथा, वेदनालाई निमोठेर राखेका छन् जस्तो आभाष पाउन सकिन्छ । कहीँकतै पाठककै मनमा शूल रोपिएजस्तो गराउँछ । यदि कुनै पाठकले अद्योपान्त पढ्छ भने उसको पनि एकपटक मुटु चिरिन्छ । उत्तराद्र्ध, वयोवृद्ध अवस्थामा पुगेपछि मानिसले के सोच्ला ? उसका विगतका जीवनका पानाहरु पल्टिँदा कति ‘नोस्टाल्जिक’ होला ? कथाकार राई त्यसरी नै नोस्टाल्जिक बनेका छन् । ‘त्यतिबेला छुट्टिएजस्तो मृत्युमा कहाँ छुट्टिन पाइँदो रहेछ । केही दिनपछिको त्यसपालिको मेरो जन्मदिन तिनी साथमा नहँुदा मलाई अति फिका अनुभव भएको थियो (पृ. ३२) ।’ यस्ता वाक्यले उनलाई विगततिर फर्काएको छ ।

सफल दाम्पत्य जीवन केलाई भन्ने ? कस्तो दाम्पत्य चाहिँ असलमा सफल हो ? यसको मापक के हो ? संसारमा सफल दाम्पत्य भनिएका जीवनहरु पनि टुटेका धेरै उदाहरणहरु छन् । धनसम्पत्तिले दाम्पत्य सफल हुन्छ कि हुँदैन ? सफल दाम्पत्य हुनका लागि पैसा सबथोक हो या होइन ? भनेर प्रश्न गरिँदा कयौं यस्ता दाम्पत्य जीवन जससँग अथाह पैसा भएर पनि टुटेका उदाहरणहरु छन् । त्यसो हो भने पैसा हुँदैमा सफल हुने र नहुँदैमा असफल हुने पनि होइन रहेछ । सफल दाम्पत्य जीवन हुनका लागि एकले अर्कालाई बुझ्नुपर्छ होला सायद । पतिले पत्नीलाई, पत्नीले पतिलाई । सफल बनाउनका लागि भौतिक वस्तुभन्दा अभौतिक वस्तु अर्थात् अदृश्य कुराले बढी भूमिका खेल्छ होला । जसलाई हामी माया, प्रेम, सद्भाव, समर्पण, त्याग भन्छौं । एक–अर्काप्रति समर्पण र त्याग भइञ्जेल सायद सम्बन्धहरु प्रगाढ रहन्छन् होला । नत्र फेरि टुट्छन् होला । कथाकार राईको जीवन भएको यो समर्पणलाई ‘काल’ रुपी अभौतिक वस्तुले विच्छेद गराइदिएको छ । जुन सत्य मान्नलाई हामीलाई कयौं वर्ष र जीवन गुजार्नुपर्छ । मृत्यु अँगाल्न सहज छैन । यो सत्यबाट मानिस भाग्न पनि सक्दैन । भागेर पनि धर पाउँदैन । त्यही सत्य थाहा पाउनका लागि कथाकारलाई निकै वर्ष लाग्यो र जब त्यो सत्यसँग एकाकार भए, तब धेरै ढिला भइसकेको थियो तर, त्यो एकदिन अवश्य हुनुथियो । त्यो तथ्यसँग पनि उनी भाग्न सक्दैनथे । आखिर त्यो सत्यलाई उनले यसरी उल्लेख गरेका छन्, ‘जीवन(मृत्युको दोसाँधमा रहेकी तिनको आँशु रुमालले पुछेँ । त्यो रुमाल अझै मसँग छ ।’

लक्ष्मीका भौतिक वस्तुहरू जो कुनै कालखण्डमा नष्ट भएर जान्छन्, त्यही कथाकारसँग छ अर्थात् फुली, रूमाल । तर, उनीसँग भएको अभौतिक वस्तु जुन अदृश्य छन् तिनीहरु उनी रहिञ्जेल रहनेछ । अनिमात्रै सधैंका लागि नष्ट हुनेछ । ती अदृष्य वस्तु माया, प्रेम, मोह, समर्पण, त्याग मात्रै त छ उनीसँग । यिनैको भरमा उनी जीवनको उत्तराद्र्ध सहज ढङ्गले काटिरहेका छन् । जब विगत उनको मनमा नाँच्छ, तब उनी असाध्यै पिरोलिन्छन् । कुनै क्षण उनले लक्ष्मी मृत्यु नजिक साक्षात्कार भएको पाए त्यो बेला उनको मनमा यस्ता भावना पनि उत्पन्न भएछन्–‘अब सँगसँगै रहने धेरै दिन छैन भन्ने चेतले खिन्नताका साथै एक–अर्काप्रति समर्पण, आकर्षण र प्रेमको उद्वेग हाम्रो मन, मुटु र मगजलाई अस्थिर बनाई प्रतिक्षर मनभरि उर्लंदो बाढी झैं भएर अविरल बगिरहेको थियो (पृ. ४७) ।’ जब मृत्युलाई लक्ष्मीले साक्षात्कार गरिन्, त्यसपश्चात् भने कथाकार राईको जीवन एक्लो, निरस र शून्य शून्य बनेको छ । ‘तिनको मृत्युले मलाई बिछोडको एकत्रित अचम्म, आघात, असह्य वेदना, असीमित पीडा दियो र रोएँ (पृ. ४९) ।’

कथाकार राई शीर्ष कथाबाहेक पनि अन्य कथाहरुले पनि पाठकहरुलाई एकोहो¥याउँछ । विशेषगरी उनले कथामा आफ्ना भावना मात्रै पोखेका छैनन्, जीवन्त पनि बनाएका छन् । बनोट पक्षभन्दा पनि बुनोट पक्षलाई बढी ध्यान दिएका छन् । पचासको दशकबाट लेखिएका कथाहरुलाई सङ्ग्रहमा अटाएका छन् । विगतका कथा सङ्ग्रहमा समावेश नगरेका कथाहरुलाई समेटेर सङ्ग्रहको रुप दिएका छन् । उनका कथा हुन् वा लघुकथा वा उपन्यास नै । मनोवाद शैलीलाई पछ्याउन सफल छन् । उनको नौरङ्गी लघुकथा सङ्ग्रहमा पनि मनोवाद ढाँचालाई पछ्याएका छन् । मानव संसार उपन्यासमा पनि यस्तै प्रकृति पाउन सकिन्छ । फुली कथामा शीर्ष कथाबाहेक कोङ्हाङ, जब घाम डुब्न लाग्छ, अन्तरचक्षु, खराब सोचाइ, खल्लो ममता, सम्बन्ध, भावी साहित्य, सपनाको देश, मायाहरु र वश शीर्षकका कथा छन् । कतिपय कथाहरु एक–अर्कासँग अन्तरसम्बन्धित छन् भने केही कथाहरुमा फरक परिवेश र पात्रको चयन गरेका छन् । विज्ञान कथाहरु पनि छन् । कथामा अद्योपान्त लागिरहँदा हाम्रै परिवेश र आफ्नै जीवन भोगाइको कथा हो कि भन्ने आभाष पनि गराउँछ । पाठकलाई एकपटक घोत्लिन बाध्य बनाउन सक्ने खुबी केही कथाहरूमा छ तर केही कथाले भने विल्कुल पाठकलाई घोत्लिन बाध्य पार्दैन । एकदम निरस छन् । उनको निरस जीवन झैं । पात्रका हिसाबले एकदमै कम पात्रको प्रयोग गरेका छन् । केही कथामा सार्वनामिक पात्रहरु पनि छन् । जसले गर्दा कथागत संरचनाभित्र प्रवृष्टि नपाएको हो कि जस्तै भान गराउँछ ।

वास्तवमै कथाको संरचना र रुपविन्यासलाई हेर्ने हो भने संरचना पक्षमा भन्दा पनि रुपविन्यासको पक्षमा ‘फुली’ सबल देखिन्छ । बुनोट सुन्दर छ । रुपविन्यास अर्थलाई केलाउँदा प्राध्यापक दयाराम श्रेष्ठले सम्पादन गरेको नेपाली कथा भाग ४ को पृष्ठ १२ मा यसरी उल्लेख गरेका छन्–‘कथावस्तुलाई एउटा निश्चित आकार प्रदान गरिसकेपछि कथाकारले त्यसलाई सुन्दर बनाउन प्रयोग गर्ने युक्ति नै रुपविन्यास हो ।’ यस कथा सङ्ग्रह प्रतीकविधान, बिम्बविधानका दृष्टिले पनि सशक्त छ । आखिर रुपविन्यास हुनका लागि यी तत्वहरुको अहम् भूमिका हुने गर्दछ । 

निष्कर्षमा भन्नुपर्दा केही भाषिक त्रुटिबाहेक समग्रमा कथाले पाठकलाई तान्छ । जीवनको उत्तराद्र्ध काल, त्यसमा पनि आफ्ना नजिकमा मान्छे नहुँदाको पीडाले कति घोच्छ भन्ने यथार्थलाई चित्रण गरिएको छ । अन्तिम सत्य मृत्युलाई पनि सहज रुपमा अँगाल्न नसकिने यथार्थका बीच बाँच्न बाध्य हुनुपरेको कुरालाई चित्रण गरिएको छ । यसकारण हरेक पाठक जो त्यो कालखण्डमा पुग्दा के महसुस गर्दो हो भन्ने हरेकको मनमा चित्र आउँछ । त्यो चित्र नै समग्रमा यस कथा सङ्ग्रहको सबल पक्ष हो ।
सन्दर्भसूचीः
राई, सरण (२०७७), फुली, काठमाडौं, पाँचपोखरी प्रकाशन गृह ।
श्रेष्ठ, दयाराम (२०६८), नेपाली कथा भाग ४, पाँचौं संस्करण, ललितपुर, साझा प्रकाशन ।