साहित्य जीवन, जगत् र भोगाइका अनुभूतिजन्य संवेदना र सञ्चेतनाको भाषिक अभिव्यञ्जना हो । साहित्यमा समाज, देश, काल र परिस्थितिका परिघटना र त्यसको प्रभावबाट मानवीय अन्तर्मनमा उत्पन्न भाव संवेगहरूलाई भाषाको माध्यमबाट कलात्मक रूपमा अभिव्यक्त गरिएको हुन्छ । त्यसैले जीवनको कथाव्यथा पनि साहित्य हो ।
समाजको दृश्य–परिदृश्य पनि साहित्य हो । प्रकृतिको छायाछवि पनि साहित्य हो । सृष्टिको विधिविधान पनि साहित्य हो । साहित्य अदृश्य भावहरूको दृश्यरूप हो । साहित्यको अध्ययनबाट जीवन, समाज र समयको यथार्थबोध हुन्छ । हृदयमा नव्य ऊर्जा आप्लावित हुन्छ । मस्तिष्कमा नव्य चेत झङ्कृत हुन्छ । नसानसामा नव्य स्फूर्ति संवाहित हुन्छ । यसर्थ साहित्यको अध्ययनबाट मनोरञ्जन, ज्ञान र आत्मसन्तुष्टि सम्प्राप्ति हुन्छ ।
यस्ता मनोरञ्जन, ज्ञान र आत्मसन्तुष्टिले जीवन भोगाइ सुखद, सुगम र सौन्दर्यमय बनाउँछ । साहित्य विशाल ब्रह्माण्डजस्तै हो । यसको क्षेत्र विशाल र व्यापक छ ।साहित्यका दुई पाटा छन् । ती गद्य र पद्य हुन् । गद्य साहित्यमा उपन्यास, कथा, नाटक र निबन्धजस्ता भेदहरू छन् । पद्य साहित्यमा महाकाव्य, खण्डकाव्य र स्फुट कविताजस्ता भेदहरू छन् ।
उपन्यासमा जीवन, जगत् र भोगाइको बृहत् आयामलाई आख्यानीकृत गरिएको हुन्छ । कथामा जीवनको कुनै एउटा सग्लो पक्षलाई कथानक स्वरूपमा चित्रण गरिएको हुन्छ । नाटकमा जीवनको समग्र परिघटनालाई संवादात्मक स्वरूपमा परिवृत्त गरिएको हुन्छ । निबन्धमा देश, समाज र जीवनभोगका अनुभूतिजन्य यथार्थलाई भावनात्मक रूपमा अभिव्यक्त गरिएको हुन्छ । पद्य साहित्यका मुख्य तीन भेदहरूमध्ये महाकाव्यमा देश, काल, प्रकृति, जीवन र भोगाइका बृहत्तम स्वरूप प्रबन्धनात्मक रूपमा पद्यमय भावाभिव्यक्तिमा चित्रण गरिएको हुन्छ र महाकाव्य बृहत् आकार र आयामको हुन्छ । खण्डकाव्यमा जीवन भोगाइको कुनै एउटा सिङ्गो स्वरूप पद्यमय शिल्प–शैलीमा चित्रित गरिएको हुन्छ र यो मझौला आकार र आयामको हुन्छ । स्फुट कवितामा जीवनको कुनै अनुभतिजन्य यथार्थलाई कलात्मक रूपमा व्यक्त गरिएको हुन्छ र यो लघुआकार र आयामको हुन्छ । स्फुट कविता गद्यात्मक र पद्यात्मक दुवै स्वरूपमा रचना गरिन्छ । स्फुट कविताको आकार र आयामभन्दा पनि भिन्न स्वरूप र संरचनामा लघुत्तम र सूत्रात्मक आकार र आयाममा अनुभूतिको सूक्ष्मतम र तीक्ष्णतम झिल्कोलाई टिपेर कविता लेखन गर्ने परम्परा पनि विकसित हुँदै गएको छ ।
आजको युग वैज्ञानिक युग हो । व्यस्त समयको युग हो । अध्ययन क्रममा थोरै अध्ययनबाट धेरै ग्रहण गर्ने युग हो । साहित्य अध्ययनको भोक हुँदाहुँदै पनि लामो लामो रचना अध्ययन गर्ने र त्यसमा डुबेर बस्ने समय सबैलाई नहुन सक्छ । तसर्थ यस्ता व्यक्तिहरू समयको सदुपयोग गर्दै थोरै अध्ययनबाट धेरै ग्रहण गर्ने चाहना राख्छन् । थोरै समयमा वा थोरैमा धेरै बुझिने र अध्ययनपश्चात् सियोको टुप्पोले चस्स घोचेजस्तो वा आगोको झिल्कोले चस्स पोलेजस्तो हृदयमा एक किसिमको झड्का दिने वा तरङ्ग उत्पन्न गर्ने र प्रभाव छोड्ने हुनाले अचेल छोटा, छरिता र ससाना वा सूक्ष्म स्वरूपका रचनाहरू सृजना हुने गरेका छन् र यस्ता रचनाहरू लेखन र अध्ययनको केन्द्र पनि बन्दै गएको छ । थोरै समयमा थोरै अध्ययनबाट धेरै ग्रहण गरिने स– साना स्वरूपका रचना सृजना गर्ने सन्दर्भमा एलाक, छोक, छेस्का, झिल्का, कृमुक, झर, दाना कविता, सूत्रकविता, बिम्ब कविता, बीज कविता र बाछिटाजस्ता लघुत्तम र सूक्ष्म स्वरूपका काव्यिक उपविधाहरू प्रादुर्भाव भएका हुन् ।
कविताको उपविधात्मक स्वरूपका रूपमा बाछिटा कविता विधाका बृहत्, मझौला र स्फुट गरी तीन भेदहरू रहेका छन् । बृहत् रूप महाकाव्य, मझौला रूप खण्डकाव्य र स्फुट रूप फुटकर कविता हुन् । फुटकर कवितामा जीवन भोगाइको एउटा सग्लो पक्षलाई कलात्मकता साथ व्यक्त गरिएको हुन्छ । फुटकर कविता गद्यात्मक र पद्यात्मक दवै स्वरूपमा रचना गरिन्छ । कविताको फुटकर स्वरूपका रचनाका आकार र आयामभन्दा भिन्न स्वरूपका आकार र आयाममा सृजना गरिने पद्यात्मक वा काव्यात्मक शिल्प–शैलीका रचनालाई कविताको उपविधा भन्ने गरिएको पाइन्छ । यस्ता उपविधात्मक कविताको संरचनात्मक स्वरूप सूक्ष्म र प्रस्तुति तीक्ष्ण किसिमको हुन्छ । यही सूक्ष्म र तीक्ष्ण स्वरूपमा नेपाली कविताको उपविधाको रूपमा बाछिटाको जन्म भएको हो ।
बाछिटा शब्दको प्रकृति, व्युत्पति र अर्थको आधारमा यो अवधारणा निर्माण गरिएको हो । बाछिटाको तीन पाँच तीन अक्षरीय तीन पङ्क्तिपुञ्ज लघुत्तम काव्यिक परिकल्पनाका आधारमा परिनिर्मित भएको हो । विषयगत, आकारगत, आयामगत, संरचनागत र प्रस्तुतिगत भावभूमिका आधारमा बाछिटा सूक्ष्मतम, तीक्ष्णतम, लघुत्तम र सूत्रात्मक स्वरूपको काव्यिक उपविधा हो । बाछिटा कविता विधाको लघुत्तमा स्वरूपको उपविधाको रूपमा रहेको छ । यो तीन पाँच तीन अक्षरका तीन पङ्क्तिपुञ्जमा रचना गरिन्छ । यसको रचना सोझो अर्थमा नभएर प्रतीकात्मक हुने गर्छ । सैद्धान्तिक अवधारणाअनुसार जीवन, जगत् र भोगाइका अनन्त चेतना, चिन्तन र अनुभतिका संवेगहरूलाई प्रकृतिको स्वरूप वा झलकलाई बिम्ब बनाएर प्रतीकात्मक रूपमा बाछिटा लेखन गरिन्छ अर्थात् बाछिटामा अनुभूतिको एक झल्कोको प्रस्तुति हुन्छ, जुन झल्कोले चस्स छोएर मनमस्तिष्कमा एक किसिमको झन्झनाहट उत्पन्न गर्न सक्नुपर्छ ।
बाछिटाको व्युत्पत्ति, अर्थ र संरचनात्मक स्वरूप बाछिटा समस्त शब्द हो । यो शब्द कर्मधारय समास भएर बनेको हो । यसको विग्रह रूप बाङ्गो छिटा हुन्छ । तत्समको रूपमा रहेको वक्र शब्द तद्भव भएर बाङ्गो बन्छ । बाङ्गोको अर्थ सोझो नभएको वा टेढो चालको हुन्छ । बाछिटा नेपाली भाषाको तद्भव शब्द हो । यो प्रकृतिपरक शब्द हो । यसको अर्थगत भावले बाङ्गो प्रवृत्तिको भन्ने सङ्केत गर्छ । बाछिटा तीन अक्षरीय शब्द हो । काव्यिक रूपमा बाछिटाको पहिलो पङ्क्ति तीन अक्षरीय शब्दको परिकल्पना गरिएको हो । त्यस्तै दोस्रो पङ्क्ति दुई अक्षर थपेर पाँच अक्षरको र तेस्रो पङ्क्ति पनि पहिलोमा जस्तै तीन अक्षरको शब्द राखेर तीन पाँच तीन अक्षरीय तीन पङ्क्तिपुञ्जको लघुत्तम स्वरूप भएको काव्यिक उपविधाको रूपमा बाछिटाको संरचनात्मक स्वरूप निर्धारण गरिएको हो ।
बाछिटा तीन पाँच तीन अक्षरीय तीन पङ्क्तिपुञ्जयुक्त प्रकृतिपरकता र प्रतीकात्मकता अन्तर्गर्भित लक्षणा र व्यञ्जना शब्दशक्तिद्वारा भावलाई झङ्कृत पार्ने सूत्र वा सूक्ष्म संरचना भएको सशक्त, गहन र लघुत्तम काव्यिक उपविधा हो ।” प्रतीकात्मकता बाछिटा लेखनको मूल अभिलक्षण हो । तसर्थ, यसमा प्रतीकात्मक प्रस्तुति हुनै पर्ने मान्यता रहेको छ । बाछिटामा भावनाको तीव्रता र अनुभूतिको तीक्ष्णता प्रतिकात्मक र मार्मिक रूपमा आएमा प्रकृति बिम्ब वा झलक नआए पनि बाछिटा बन्न सक्छ ।
लेखक : अमर त्यागी हालः अमेरिका