म कसरी सम्झौँ, कहाँबाट सुरूवात गरौँ, मलाई थाहा छ हजुरको संघर्ष र जीवन्त भोगाइको कथा खैँ कसरी व्याख्या गरौं । यो मेरो ल्याकत र क्षमताभन्दा बाहिरको कुरा हो । ती हजुरको पिठिउँमा ढाकरले घोटिएर सगरमाथाजस्तै बनेका जुराहरू, फाँटेका भोटोका छिँडीबाट बाहिर चियाहिरहेका शरीरका अंगहरू र धाँजा फाटेर पट्ट फुटेका पैताला जसको सहायताले हाम्रो परिवारमा खुसी सिञ्चित गर्नुहुन्थ्यो । इमानको पहाडमा बसी पसिना बेचेर हाम्रो मुहारमा मुस्कान खरिद गर्ने बुबा तपाईंलाई कोटी कोटी प्रणाम छ ।
आफ्ना हरेक चाहनालाई बन्दकी राखेर हाम्रो भोको पेट, नाङ्गो शरीर, अज्ञानता र असक्षमता विरूद्ध चट्टानी संघर्ष गरिरहनुभयो । म बिसन्चो हुँदा बस्नु परेको अनिँदो, कतै मेरा छोराछोरी पछि पर्लान् की भन्ने पिरलो, हाम्रो कारण अरूसँग झगडा हुने अवस्था, जिन्दगी एउटा, अनेक थरी कथा, छोराछोरी हुर्काउन खाएका ठक्कर अनि भोग्नु पर्ने बाध्यता । मेरो छोराले नराम्रो गर्लाकी भर्ने डर, अरूभन्दा तल पर्लाकी भन्ने डर, मुटुको टुक्रा मर्लाकी भन्ने डर हो, मेरो त त्यो बेला रहरको जिन्दगी थियो तर तपाईंको डर, चिन्ता, समस्या कहिले अभरको त कहिले बेघरको जिन्दगी थियो । त्यति दुःख र पीडा हुँदा पनि मेरो अनुहार हेरेर मुस्काउँदै बुन्नु हुन्थ्यो मिठो सपना । भुल्नु हुन्थ्यो समस्याका चाङलाई र डुल्नुहुन्थ्यो मनको फूलबारी भरी । नैतिकताको पाठ सिकाउँदै ज्ञानका कथा सुनाउने हरेक समस्यामा पर्खाल बनेर, मेरा रहर पूरा गर्नुभयो सत्तिसाल बनेर ।
भनिन्छ मर्नका लागि त हरेक तरिका हुन्छन् । मार्न दुनियाँ तम्सिन्छन तर जन्मिन एउटै आधार हुन्छ बा र आमा । हो, हजुर त्यहीँ बुबा हो । जो सँधै हाम्रो खुसीका लागि आफू हार्नु हुन्छ । हामीलाई माथि उठाएर आफूलाई तल पार्नुहुन्छ । मेरो सफलतामा आँफूसँग दाँजेर दुनिया दुःखी हुँदा सुरुमा खुसी हुने व्यक्ति हो तपाईं । त्यसैले आज तपाईंको मुख हेर्ने दिन यिनै कुराहरू सम्झिरहेको छु ।
म जन्मेपछि हजुरले सोच्नु भएको थियो होला मेरो छोरा असल सपुत बनोस, रामजस्तै पराक्रमी होस्, कृष्णजस्तै प्रतिभावान, बुद्धजस्तै शान्ति प्रेमी, जनकजस्तै ज्ञानी यो नेपाली आकाश चम्किरहने नक्षत्र जस्तो, प्रत्येक रोम रोममा सुन्दरता दिने गुलाबजस्तो जसले नेपाल आमाको लुटिन लागेको अस्मिता बचाओस् । आफ्नो कर्मले दुनियामा छाओस् तर विडम्बना मैले त्यो सोच पूरा गर्ने संकल्प मात्र लिएको छु तर गर्न केही सकेको छैन । गोर्खाली भन्दैमा आफ्नो उत्पादनशील उमेर विदेशी विधर्मीको गुलामी बनेर बुढेसकालमा देश फर्केको तपार्इंलाई राम्रो लागेको छैन होला ।
हाम्रो भूमीमाथि विदेशीले हैकम चलाएर परेड खेलेको मन परेको छैन होला । हाम्रा अपूर्व प्राकृतिक सम्पदा र संस्कृतिहरू सँधैभरि बुर्का ओडेर बसेको मन परेको छैन होला । हजुरले यो देशको निम्ति के गरिस् भन्नुभयो भने मसँग दिने जवाफ छैन तर मुर्छित सपनाहरू मात्र छन् । अवसरको तर मारेर यो देशप्रति घात हुने र तपाईंको संघर्षको अपमान हुने काम नगर्ने कुरामा दृढ संकल्पित छु । संमृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्नु मेरो पनि अभिष्ट हुनेछ । यो देशप्रति मेरो शरीरभन्दा पनि बढी माया त्यसैले त देशले माग्यो भने यो जीवन बलिदानी चढाउन तयार छु तर पनि मलाई यो कुरा राम्रोसँग थाहा छ । तपाईंको ऋण मेरा पूरै जुनीमा पनि म भुक्तान गर्न सक्ने छैन ।
बुबा म तपाईंको कठिन र अनवरत मेहनतको पर्याय हो । हुनत सबैलाई आफ्नो बुबा प्यारो लाग्छ तर मलाई यो संसारका उत्कृष्ट बुबामध्ये हजुर नै उत्कृष्ट हो भन्ने लाग्छ । तपाईंको यो असाधारण माया, कृपा र आशीर्वाद सँधै पाइराखुँ । आजको बुबाको मुख हेर्ने दिनमा घरबाट टाढा भए पनि मनबाट नजिक छु भन्दै मिठो सम्झना अनि कोटी कोटी प्रणाम ।
धरान उपमहानगरपालिका