प्रत्येक वर्ष भाद्रकृष्ण  औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।

स्नाने दाने जपे होमे स्वाध्याये पितृकर्मणि।

करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने।।

अर्थात् नुहाउँदा, जप स्नान गर्दा, दान गर्दा, पूजापाठ तथा पितृ कार्यमा समेत प्रयोग हुने वहूपयोगी कुश वैदिक संस्कारका लागि अत्यन्तै महत्त्वपूर्ण वनस्पति हो । कुश वैदिक सनातनीहरूले देव कार्य तथा पितृ कार्यमा प्रयोग गर्ने रुढीवादी परम्परा मात्र नभएर वैज्ञानिक महत्त्व बोकेको बनास्पतिको हो । आयुर्वेदिक उपचारमा पनि कुशको उत्तिकै महत्त्व रहेको छ ।

कुशको प्रयोग दाद, रक्तपित्त, मिर्गौलाको पत्थरी इत्यादि रोगहरूको उपचारमा प्रयोग गर्न सकिन्छ । कुशको वैज्ञानिक नाम Eragrostis cynosuroides" हो । श्रावण शुक्ल चतुर्दशीका दिन रोपिने कुशलाई भाद्रकृष्ण औँसी अर्थात् कुशे औँसीका दिन काट्ने गरिन्छ ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । 

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ । आजका दिन घर–घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ । 

पितृसम्मान दिवस

यसै अवसरमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । 

घरमै मनाइँदै पितृ सम्मान दिवस

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीहरूले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाहरूले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।