धरान : महिलाहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन आज दर खाने दिन । तीज पर्वको अघिल्लो दिन तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु महिलाहरूले दर खाने चलन रहेको छ ।
दर खाने दिनमा विभिन्न मिठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने परम्परासमेत रहिआएको छ । तीजमा माइतीले छोरी÷चेलीलाई घरमा बोलाएर मीठामीठा परिकार ख्वाउने चलन छ भने कोरोना महामारीका कारण माइती आउने जाने रौनकमा कमी आएको पाइन्छ ।कोराना सँग सर्तकता अपनाउँदै सबैले आ-आफ्नो घरमा दर खाने गरिरहेका छन्। दर खाने दरमा खीर, ढकने वा सेलरोटी, केरा आदि अथवा ठाउँअनुसार विभिन्न मिठामिठा परिकार खाने गरिन्छ।
दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्दछ । तीजको दिन निराहार व्रत बस्ने भएकाले त्यसका लागि शक्ति प्राप्त गर्न अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने गरिन्छ ।
दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक–फरक रहेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ ।
परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनी निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ ।
सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ। भोलिपल्ट दिनभर पानीसम्म नपिई बस्नुपर्ने भएकोले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरि खाने प्रचलन बसेको हो।