तिमीले त्यो पर देख्यौ ?
रछानमा फालिएको रोटीको टुक्रासँग,
भोक साटिरहेको मान्छे,
ऊ पनि एक मनुस्यको जाति हो
हो ऊ मेरो साथी हो ।
सडकमा टोलाइरहेको, एक पेट भातका लागि तड्पिरहेको,
सडकमै भौतारिने त्यो सडक बालक
हेर्दा सानो छ, थाहा छैन उमेर कति हो ?
तर ऊ मेरो साथी हो ।
भोको पेटका विरुद्ध,
होटलका भाडासँग सङ्घर्ष गरिरहेको
गडीको ढोकामा झुण्डिएर भाडा उठाउँदै गरेको
त्यो पर हातभरि ठेला देखाउने, गिट्टीको थुप्रोमा माथिको
अरू कोही हैन ऊ मेरो साथी हो ।
झोलामा टिफिन बोकेर, आमाको हात समाउँदै स्कुल हिनेको
स्कुलको चौरीमा भकुण्डो डुलाउँदै गर्ने
गुरुमाको काखमा बसेर चक्लेट खाँदै गरेको
हेर्दा चिटिक्क, ऊ पक्कै दुःख र अभावभन्दा माथि हो
बुबाको कारमा स्कुलबाट घर जाने ऊ मेरो साथी हो
इमान्दार र अनुशासित, पढाइमा अब्बल
सङ्घर्ष गर्दै पढेको, सबै कार्यक्रममा सहभागी हुने
जिज्ञासु, सबैको प्यारो मान्छे,
कति स्वाभिमानी, निडर अनि आँटी हो
सबैको आँखाको नानी ऊ मेरो साथी हो
कोमल मस्तिष्कको सहायताले
भविष्य खोजिरहेको,
यो मातृभूमीमै केही गर्ने र केही हुने सपना देखेको
हेर त त्यो प्रखर चेहरा,
उसको नेपाली भएर फूलेको छाती हो
अब त चिन्यौ होला नि ऊ मेरो साथी हो