सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा भएको सामूहिक हत्याकाण्ड योजनाबद्ध रूपमा भएको खुलेको छ ।
हत्यामा संलग्न लोकबहादुर कार्की पक्राउपश्चात् आवेगमा आएर हत्या भएको अनुसन्धानमा खटिएका अधिकारीले बताए पनि अहिले आएर घटना योजनाबद्ध भएको खुलेको हो । अपराधपश्चात् प्रहरीले आवेगमा हत्या भएको हो कि मनसाय प्रेरित हत्या हो भनेर अनुसन्धान गर्ने गर्दछ । सोही क्रममा पहिलो पटकको पत्रकार सम्मेलनमा आवेग प्रेरित हत्या भनी अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले जानकारी दिएका थिए । सोमबार गरिएको पत्रकार सम्मेलनमा थप चारजनालाई सार्वजनिक गर्दै प्रहरीले मनसाय प्रेरित हत्या भनी व्याख्या गरेको छ ।
मृतक तेजबहादुर र उनको परिवारको सामूहिक हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर र अर्का एक परिवार मिलेर योजनाबद्ध हत्या गरेको खुलेको हो । उक्त हत्या काण्डका मुख्य योजनाकार मृतक तेजबहादुरका दाजु पर्ने ४७ वर्षीय खड्गबहादुर कार्की रहेको खुलेको छ । उनीसहित घटनामा संलग्न रहेका उनका छोरा वर्ष २८ का हस्तबहादुर कार्की, लोकबहादुरका बुबा रणबहादुर कार्की र लोकबहादुर कार्कीका १७ वर्षीय भाइ नरेश कार्की रहेको खुलेको छ । लोकबहादुरलाई भदौ २७ गते प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको थियो । अभियुक्त लोकबहादुर कार्कीको घरमा घटनाको अघिल्लो रात ८ बजेको समयमा मुख्य योजनाकार खड्गबहादुर कार्कीसहित हस्तबहादुर कार्की, लोकबहादुर कार्की र नरेश कार्कीसमेत बसी योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
योजनाअनुसार घटनाको दिन २१ गते बिहान मृतक तेजकुमार कार्की खेताला बोलाउन लोकबहादुरको घरमा आउने र सोही समयमा मौका छोपी तेजकुमार र कमला कार्कीको हत्या गर्ने, अरूले थाहा पाए भने उनीहरूको पनि हत्या गर्ने साथै अनुकूल मिलेमा तेजकुमारको घरमा भएको धनमालसमेत लाने योजना रहेको प्रहरी अनुसन्धानबाट खुलेको सङ्घीय प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहालले बताए । मृतक तेजकुमारकोमा सबै खेताला जाने पहिले नै निश्चित भए पनि मुख्य योजनाकार अभियुक्त खड्गबहादुर कार्की बिहान ५ बजे नै मृतक कार्कीको घरमा गई लोकबहादुर अल्छी छ, घरमै गएर खेताला निश्चित गर्नू भनेर मृतक कार्कीलाई लोकबहादुर कार्कीको घर जान अभिप्रेरित गरी घरतर्फ फर्केको र तेजकुमार लोकबहादुर कार्कीको घरतिर जाँदै गरेको देखे पछि खड्गबहादुर र हस्तबहादुर मृतकको घरपछाडि चिर्पट बोकेर तयारी अवस्थामा बसेको अनुसन्धानमा खुलेको हो ।
त्यस्तै मृतक कार्की लोकबहादुरलाई उठाएर घरबाट फर्कने क्रममा योजनाअनुसार लोकबहादुरले भाइ नरेशलाई इसारा गरी आफूले दाउराको चिर्पट र अलैंची काट्ने चक्कु बोकी पछि पछि गई घरपछाडिको गोगनको रुखनजिक तेजकुमारको टाउकोमा प्रहार गरी लडाएको र खड्गबहादुर र हस्तबहादुर दाउराको चिर्पट लिएर आई तेजकुमारमाथि प्रहार गरेको तथा हस्तबहादुरले चक्कुले पेटमा प्रहार गरी डिलबाट लडाई बाटोमा झारी हत्या गरी घोप्टो पारेको अनुन्धानबाट खुलेको छ । घटनाको बेला मृतकले गरेको हारगुहारको आवाज सुनेपछि तेजबहादुरको श्रीमती र बुहारी आउँदा लोकबहादुरले कमला कार्कीलाई प्रहार गरेको, कमलाको घाँटीमा हस्तबहादुरले छुरा प्रहार गरेको र बुहारी रञ्जनालाई नरेशले ठेली खोल्सामा झारेको र खड्गबहादुर, लोकबहादुर र हस्तबहादुरले मिलेर हत्या गरेको बताइएको छ । मृतक रञ्जनाको लाश रणबहादुर र नरेशसमेतले कमलाको लाश भएको स्थानसम्म पु¥याउन सहयोग गरेको अनु।न्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
मृतक नाबालकहरू दीपेन र गोमासमेत घरनजिकैको बाटोमा आएको देखेर हस्तबहादुर र लोकबहादुरले बाटो छेकी मुख थुनेर लोकबहादुरले चिर्पटले हिर्काई घाँटी बटारेर हत्या गरेको पोष्टमार्टम रिपोर्टले देखाएको छ । ४ जनाको हत्यापछि पाँचैजना अभियुक्तहरू मृतकको घरतर्फ गएको र घरमा मृतक ८४ वर्षीया पार्वती कार्की मकै नङ्ग्याइरहेको अवस्थामा हस्तबहादुरले समाती घरपछाडिको गोठनजिक लगेर लोकबहादुरले टाउको भित्तामा ठोक्काई घाँटी बटारी हत्या गरेको र सबैजना घटनामा प्रयोग गरेको चिर्पट र छुरी बोकी लोकबहादुरको घरमा गई लागेको रगत पखाली छुरी धोएर बुइँकलमा लुकाएको, चिर्पटहरू अगेनामा डढाएको, रगत लागेको कपडाहरूसमेत लुकाएको अनुसन्धानका क्रममा पत्ता लागेको प्रहरी जनायो ।
खड्गबहादुर र उनको छोरा हस्तबहादुर घर फर्कने क्रममा मृतक रञ्जनाको ओप्पो मोबाइल नरेशले लिएर आई स्विचअफ गरी घरमुनिको ओडारमा लुकाएकोमा अनुसन्धानको क्रममा फेला परेको प्रहरीको भनाइ छ । त्यसपछि पुनः खड्गबहादुर र निजको छोरा हस्तबहादुर लोकबहादुरको घरमा गई सबैजना मिली कसैले सोधेमा घटनाको बारेमा कुनै पनि कुरा नसुनेको र थाहा नपाएको भन्ने, यदि प्रहरी आई पत्ता लगाएमा लोकबहादुरले मानसिक औषधि पनि खाने गरेका कारण निजले घटनाको जिम्मा लिने भन्ने सल्लाह भएको थियो । घटनामा संलग्न चारैजनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको र अनुसन्धानको क्रममा सबै अभियुक्तहरूले घटना स्वीकार गरेको साथै घटनामा प्रयोग भएको छुरी, कपडा र हराएको मोबाइलसमेत बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दाहालले बताए ।
इबीका कारण हत्या
अभियुक्तहरूको बयानका आधारमा मनमा भएको इबीका कारण हत्या गरेको खुलेको छ । हत्याकाण्डका मुख्य योजनाकार खड्गबहादुर नियमितरूपमा जाँड–रक्सी खाने तथा घरमा श्रीमती र परिवारका सदस्यहरूलाई कुटपिट, गालीगलौज गर्ने अनि मृतक तेजकुमारले ‘तँ जँड्याहा किन यसो गर्छस्’ भन्दै गाली गर्ने तथा खड्गबहादुरले पनि तँलाई के मतलव तँलाई मार्छु’ भन्दै झगडा गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । लोकबहादुरलाई ‘तँ पागल, अल्छी, केही काम गर्न सक्दैनस्’ भन्ने नरेशलाई ‘तँ डुँडे काम नलाग्ने भइस्’ भन्ने र रणबहादुरलाई समेत ‘तँ लठेब्रो केही गर्ने सक्दैनस्’ भन्ने गरेकोले हत्या गरेको बयानमा भनिएको छ ।
मृतक तेजकुमारले अभियुक्तहरूलाई जहिले पनि हेप्ने र आफू सम्पन्न भएको फूर्ति लाउने गरेको भनी मनमा इबी पालेको र घटनाको दिन अभियुक्तहरू समेत मृतकको खेतमा खेताला जानुपर्ने कारण सोही मौका छोपी योजना बनाई हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत भदौ २१ गते ८२ वर्षीया पार्वती कार्की, उनका ५५ वर्षीय छोरा तेजकुमार कार्की, ५४ वर्षीया बुहारी मनमाया कार्की, ३२ वार्षीया नातिनी बुहारी रञ्जना कार्की, ८ वर्षीय नाति दिवेन कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो ।