धरान । मदन पुरस्कार गुठीले २०७७ सालको जगदम्बा–श्री सम्मान नृत्यशास्त्री भैरवबहादुर थापालाई र २०७७ सालको मदन पुरस्कार लेखक भगिराज इङ्नामलाई प्रदान गर्ने भएको छ । सम्मान तथा पुरस्कार दुवैको राशि चार लाख नगदसहित सम्मान–पत्र रहेको छ ।
गुठीले गत साउन १५ मा सार्वजनिक गरेको श्रेष्ठ सूचीमा रहेका नौ पुस्तकमध्ये इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्बत् १७१९–२०२०’ लाई मदन पुरस्कार प्रदान गरिने भएको हो । गुठीका अनुसार २०७७ को मदन पुरस्कारका लागि २ सय २२ पुस्तक प्राप्त भएका थिए ।
त्यसमध्ये गिरि श्रीस मगरको ‘एकलव्यको देब्रे हात’, कृष्ण अविरलको ‘करिया’, कुमार नगरकोटीको ‘कल्प–ग्रन्थ’, भैरवबहादुर थापाको ‘नृत्याक्षर विज्ञान’, प्रभा बरालको ‘फिलिङ्गो’, लेखनाथ क्षेत्रीको ‘फुलाङ्गे’, केशव दाहालको ‘मोक्षभूमि’, जेसन कुँवरको ‘रमिते’ र भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्बत् १७१९–२०२०’ श्रेष्ठ सूचीमा परेका थिए ।
२०१३ सालदेखि मदन पुरस्कार र २०४५ सालदेखि जगदम्बा–श्री सम्मान प्रदान गरिँदै आएको छ ।