इनरुवा / सुनसरीको इनरुवामा थारू, दलित अल्पसङ्ख्यक महिलाहरूले सामूहिक रूपमा जितिया मनाएका छन् ।

इनरुवा–६ को कवर्ड हलमा आयोजित कार्यक्रममा महोत्सव उद्घाटन नगरका उपप्रमुख जमुना गौतम पोखरेलले गरिन् । महिलाहरूले झुमरा नृत्य प्रस्तुत गरे ।

साथै जातीय भेषभूषामा सजिएका युवती तथा महिलाहरूले नृत्य तथा नाटक प्रस्तुत गरेका थिए । कार्यक्रममा एक दर्जन समूहले आ–आफ्नो प्रस्तुति दिएका थिए ।

समूहगत रूपमा तेस्रो जितिया महोत्सव आयोजना गरेको थारू, दलित, अल्पसङ्ख्यक महिला समूहले परम्पराको जगेर्ना गर्दै नयाँ पिँढीलाई जानकारी दिलाउनु प्रमुख उद्देश्य रहेको जनाएको छ । अध्यक्ष रेनुका चौधरीले कार्यक्रमलाई समयानुकूल परिष्कृत बनाउँदै लगिएको बताइन् । उनले जातीय परम्परा र संस्कृति भुल्न नहुने बताइन् ।

उपप्रमुख जमुना गौतम पोखरेलले नगद २५ हजार बढी सहयोग गर्ने प्रतिबद्धता गरिन् । महोत्सवमा सहभागिता जनाएका विभिन्न समूहलाई प्रस्तुति मूल्याङ्कनका आधारमा पुरस्कृत गरिएको कार्यक्रम संयोजक हेमनारायण चौधरीले बताए । कार्यक्रममा ज्येष्ठ महिलाहरूलाई समेत सम्मान गरिएको थियो ।

जितिया पर्व थारू र मैथिल समुदायले ठूलो चाडका रूपमा मनाउने गर्छन् । यस पर्वमा महिलाहरूले उपबास बसी सन्तान सुख र परिवारको दीर्घायुको कामना गर्दछन् ।