चन्द्रमाया धिमाल मुम्बईमा महमद अली रोडको एउटा सात तले बिल्डिङको छैटौं तलामा नारकीय जीवन बिताउँदै गरेको ६ वर्ष पुग्न लागेको हुन्छ । उनी त्यहाँ अठार वर्षकी हुँदा आफ्नै काका ढकबहादुर धिमालले नै झुक्याएर बेचिएकी हुन्छिन् । चन्द्रमायाको घरमा आमा, दाजु, भाउजू र दुई जना भतिजाहरु थिए । उनको घर पथरी बजारदेखि दक्षिण रिगुवा गाउँमा हुन्छ । दाजुको पेशा खेती नै हुन्छ । चन्द्रमायाको पनि काम गाई भैंसीहरुलाई चराउने, घाँस काट्ने र लुगा धुने हुन्छ । गाउँबाट पश्चिमतर्फको खोलामा गएर लुगा धुनु पर्दथ्यो । लुगा धुन जाँदा खोलामा सधैं काका आउँथे । खानेकुरा पनि दिन्थे । यसरी धेरै दिनदेखि काकाले खाजा खुवाएर चन्द्रमायालाई खुशी पारेका थिए । उनले ‘मुम्बईमा मारवाडीको घरमा बसेर काम गर्दा खाना खाएर महिनाको दश हजार तलब दिन्छ, हिँड म पु¥याइदिन्छु’ भनेर फकाएका थिए । उनी मुम्बईमा १० वर्ष मजदुरी गरेर फर्केका थिए ।
चन्द्रमायाले धेरै सोचिन् । आमालाई सुटुक्क भनिन् । दाजुले जान दिँदैनन् भनेर भनिनन् । गुवालीमा परालले छोपेर लुगा लुकाइन् । भोलिपल्ट बिहानै ४ बजे नै उठेर लुगा बोकेर पथरीतिर काकासँग लागिन् । त्यहाँबाट उनीहरु जोगबनी जाने चोरबाटो हुँदै टेम्पो स्टेण्ड पुगेर टेम्पोबाट नै बथनाहा पुगे । बथनाहाबाट रेल चढेर कटिहार, पटना हुँदै पर्सिपल्ट बेलुका ८ बजे मुम्बईको सेकेण्ड स्टेशनमा पुगे । मुम्बई शहरमा १६ वटा स्टेशनहरु छन् । रेल्वे स्टेशनबाट टेम्पो चढेर महमद अली रोडको सात तले बिल्डिङ मीराबाईको कोठीमा लगिइन् ।
रात परिसकेकोले खाना खाएर सुते र बिहान उठ्दा भने काका थिएनन् । उनी उठेर ट्वाइलेट गइन् । ट्वाइलेट राति नै देखेकी थिइन् । एउटी मोटी काली डरलाग्दी झरझुट्ट सुनका गहना लगाएकी अधवैंशे महिला कुर्सीमा बसेर सिगरेट पिउँदै थिइन् । चन्द्रमायाले पछि थाहा पाइन्, ती त्यसै कोठीकी मालिक्नी रहिछन् । आठ बज्न लागेको हुन्छ । एउटी अलि बूढी महिला आएर बोलाइन् । चन्द्रमायाको बोलाउने नाम त्यस कोठीमा बैजन्तीमाला भनेर राखेको थियो । उनलाई भान्साको हलमा लगियो । त्यहाँ नास्ता गर्न अरु आठ जना महिला भेला भएका थिए । उनलाई देखेर सबैले मुखामुख गरे । एउटीले सोधिन्, ‘तुम्हारा मकान किधर है ?’ उनले बुझिनन् । अर्की नेपाली जस्ती थिइन् । तिनले नजिकै आएर सोधिन्, ‘बैनीको घर कहाँ हो ? गायत्रीले भनिन्, ‘पूर्वी नेपालको मोरङ जिल्लाको रिगुवा गाउँमा छ’ भनिन् । नास्ता गरेर सबै सातौं तलामा जान्छन् ।
त्यहाँ लुगा बुन्ने तानहरु थिए । सिलाइ मेसिनहरु थिए । सबै आ–आफ्नो काममा लागे । चन्द्रमायालाई काम गर्न केही पनि आउँदैनथ्यो । उनलाई सिलाएका लुगा पट्याउन भनियो । उनले त्यसै गर्न थालिन् । त्यहाँ रेखदेख गर्ने एउटा धमरधुस कालो मोटो अग्लो डरलाग्दो मानिस थियो । त्यो मानिस मीराबाईको भाइ हुन्छ । त्यो त्यहाँको इञ्चार्ज हुन्छ । त्यसको नाम जोहर हुन्छ । काम बिराउँदा पाइपले महिलाहरुलाई कुट्दछ । दिउँसोको खाना ११ बजे र २ बजे नास्तामा चिया पाउरोटी हुन्छ । बेलुका ५ बजे नै खाना तयार हुन्छ । खाना खाएर सबैले ६ बजेभित्रमा आ–आफ्ना कोठीमा गैसक्नु पर्दथ्यो । कोठामा ग्राहक बसिरहेका हुन्छन् । चन्द्रमाया पनि कोठामा जान्छिन् । त्यहाँ हप्सीजस्तो डरलाग्दो कालो मोटो छ्याके मान्छे बसेको हुन्छ । उनी छक्क पर्दछिन् । उनलाई केही कुरा पनि थाहा थिएन । हिन्दी बुझ्दैनथिइन् । मीराबाईले इसाराबाट भनिन्, ‘सुत’ भनेर चन्द्रकला मान्दिनन् । जोहर भित्र आएर पाइपले डडाल्नामा कुट्यो । उनी रून थालिन् । त्यतिबेला उनलाई थाहा भयो, ‘म कोठीमा बेचिएकी रहेछु ।’ बाहिर अर्को ग्राहक पनि आयो । तर, मीराबाईले त्यसलाई हिन्दीबाट भनिन्, ‘यो नयाँ छ । तिमी भोलि चाँडै आऊ ।’ राति सुतेको बेला अबेरसम्म पनि निन्द्रा लागेन । काकालाई मनमनै सरापिन् । आफै एक्लै रोइन् । यसरी दिन बित्दै गए । कुनै कुनै दिन त ५ जनासम्म खेप्नु पर्दथ्यो । कुनै महिला गर्भिणी भएमा मीराबाईले स्वास्थ्य चौकीमा लगेर ‘एवोर्सन’ गराउँदथी । त्यतिबेला मात्र मुम्बई बजार देख्न पाइन्थ्यो । मीराबाईले आप्mनै अगाडि नास्ता गर्ने बेलामा बिहान ‘पिल्स’ ट्याब्लेट खान दिन्थी । उसकै अगाडि खाइदिनु पर्दथ्यो । कसैले पनि आफ्ना बाबुआमा, परिवार कसैलाई भेट्न वा फोन गर्न, थकाइ लाग्यो भन्न पाउँदैनथे । यसरी यी महिलाहरुले नारकीय जीवन बिताइरहेका थिए । मुम्बईको त्यस एरियाको प्रहरी इञ्चार्जले मासिक २० हजार पाउँथ्यो । कोठीमा कुटाइ खाँदा पनि प्रहरीमा उजुर गर्न पाइँदैनथ्यो ।
एक दिनको कुरा हो । मुम्बईको सी.बी.आई.को टोलीले त्यस कोठीमा छापा मा¥यो । कोही पनि भाग्न पाएनन् । एक सी.बी.आई.का अधिकृत चन्द्रमायाको कोठाभित्र पस्दछन् । ग्राहक आएको भन्ने ठानेर चन्द्रमाया तयारी अवस्थामा बस्दछिन् । सी.बी.आई.ले भारतीय महिला हैनजस्तो लागेर सोध्यो ‘तुम कहाँ से आई हो ?’ चन्द्रमाया अब अलि अलि हिन्दी बोल्न थालेकी हुन्छिन् । उनले भनिन्, ‘हम को नेपाल से अपने काका ने छलकर यहाँ ल्याकर के १० हजार में बिक्री किया है ।’ अधिकृतलाई माया लाग्यो । सबै महिलाहरुलाई अफिसमा ल्याए । मीराबाई र जोहरलाई पनि प्रहरीले समातेर ल्याए । त्यहाँबाट जस जसको घर जहाँ जहाँ हुन्छ, प्रहरीमार्फत् पठाइदिए । चन्द्रमायालाई जोगवनी प्रहरी चौकीमा पठाइदिए । जोगवनी प्रहरीले रानी विराटनगर इलाका प्रहरी कार्यालयका डि.एस.पी.लाई जिम्मा लगाए । डि.एस.पी.सँग चन्द्रमायाले रूँदै भनिन्, ‘म घर जान्नँ, मलाई कतै सुरक्षित स्थानमा राखिदिनुहोस् म भाँडा माझेर भए पनि पेट पाल्छु ।’ डी.एस.पी.ले आफै गाडीमा राखेर माइती नेपाल विराटनगर शाखामा लगे । उनी त्यहीँ सुरक्षित भएर बसिन् ।
रानी विराटनगरका देवबहादुर देवान राई मिल्स एरियामा जुटमिलमा सुपर भाइजर पदमा काम गर्दथे । उनकी आमा बूढी दमको रोगी थिइन् । अरु परिवार कोही पनि थिएनन् । देवबहादुर प्रत्येक शनिबार खानेकुरा लिएर माइती नेपाल जान्थे । उनी त्यहाँ पुगेपछि माइती नेपालका महिलाहरु सबै खुशी हुन्थे । सधैँ झैं यो शनिबार पनि उनी माइती नेपाल खानेकुरा लिएर गए । त्यहाँ नयाँ अनुहारकी महिलाई देखे । उनी थकित जस्ती देखिन्थिन् । ती महिलालाई देवबहादुरले सोधे, ‘तिमी भरखरै आएकी ?’ ‘कहाँबाट आएकी ?’ चन्द्रमायाले भनिन् । ‘मेरो इतिहास लामो छ’ हजुर म अनुकूल समयमा सबै भन्नेछु ।’ तिम्रो नाम के हो ? मेरो नाम चन्द्रमाया धिमाल हो । त्यसपछि देवबहादुर त्यहाँबाट हिँडे । बेलुका घरमा तिनै महिलाको बोली कानमा गुञ्जिरहेको थियो । उनी हप्ताको बीचमा एकदिन छुट्टी लिएर दिउँसो माइती नेपाल गए ।
माइती नेपालका प्रमुख पार्वती देवीसँग भेटेर भने, ‘म एकछिन ती नयाँ महिलासँग कुरा गर्न चाहन्छु ।’ पार्वती देवीले अनुमति दिइन् । देवबहादुर चन्द्रमायाको छेउमा गएर भेट गरे । उनले भने, ‘म तिमीसँग एकछिन कुरा गर्न चाहन्छु ।’ चन्द्रमाया उठेर देवबहादुरको पछि लागिन् । उनीहरु एउटा खाली कोठामा गए । यी दुईजनाको बीचमा एक घण्टा जति कुरा भयो । चन्द्रमायाले आफ्ना सबै इतिहास सुनाइन् । चन्द्रमायाको इतिहास सुनेर देवबहादुरका आँखामा आँशु आयो । उनी आँखा पुछ्दै घरतिर लागे । आउँदो शनिबार देवबहादुर केही खानेकुरा र केही लुगा लिएर माइती नेपाल गए । खानेकुरा सबैलाई बाँडे । लुगा चन्द्रमायालाई दिए । उनले अघिल्लो भेटमा च्यातिएको चोलो लगाएकी थिइन् ।
यसरी दिन बित्दै गए । चन्द्रमाया माइती नेपाल विराटनगर शाखामा आएको एक वर्ष पुग्यो । देवबहादुरलाई माइती नेपालका सबैले मन पराउँथे । उनको सहयोगमा धार्मिक सोच थियो ।
एकदिन जुटमिल चलेको बेलामा उनी मजदुरहरुको कामको निरीक्षण गर्दै थिए । अचानक सर्टको बाउला फित्तामा लाग्यो । फित्ताले उनको दाहिने हात बटा¥यो । दाहिने हात चुँडियो ।
तुरून्त कोसी अञ्चल अस्पतालमा लगेर आई.सी.यू.मा राखियो । उनी बेहोस थिए । एकदिन पछि होस आयो । बेडमा सारियो । माइती नेपालकी पार्वती देवी र साथमा चन्द्रमाया पनि हस्पिटल आइन् । सबैले देवको अवस्था हेरे । देवबहादुरले पार्वती देवीसँग भने, ‘आमा रोगी र अस्वस्थ हुनुहुन्छ । केही दिन चन्द्रमायालाई मेरी आमाको साथमा बस्न दिनुहोस् ।’ पार्वती देवीले ‘हुन्छ’ भनेर छोडेर गइन् । त्यसैबेला आमा पनि रूँदै आइन् । चन्द्रमाया देवकी आमासँग घर आइन् । ‘आमा, म लुगा लिएर आउँछु’ भनिन् । केहीबेरमा लुगा लिएर पुगिन् । बिहान–बेलुकाको खाना चन्द्रमायाले टेम्पोबाट हस्पिटल ल्याइदिन्थिन् । यसरी चन्द्रमायाले एक हप्तासम्म देवबहादुरको सेवा गरिन् । देवबहादुरको औषधि उपचार खर्च सबै जुटमिलले व्यहोरेको थियो । साता दिनपछि देवबहादुर घर आए । चन्द्रमाया घरमा नै थिइन् ।
भोलिपल्ट चन्द्रमाया माइती नेपालतिर हिँड्न खोजिन् । तर, बूढी आमाले रोकिन् र भनिन्, ‘तिमी मेरी बुहारी भएर यहीँ बस ।’ चन्द्रमाया अकमक्क परिन् । ‘म जस्तीलाई तपाईंहरु बुहारी स्वीकार गर्नुहुन्छ ?’ आमाले भनिन्, ‘तिमीले गल्ती आफै गरेकी होइनौ । तिमीलाई बाध्यता पारियो । त्यसकारण तिमी दोषी छैनौ ।’ आमाले माइती नेपाल गएर पार्वती देवीसँग सबैकुरा राखिन् । सुन्ने बित्तिकै सबै हर्षित भए । विवाहको मिति तोकियो । विवाह माइती नेपाल विराटनगर शाखामै सम्पन्न भयो । सबै खर्च माइती नेपालले व्यहो¥यो । माइती नेपालले दोसल्ला ओढाएर देवबहादुर देवानको सम्मान ग¥यो ।
आज विवाह भएको ११ महिना पुग्न लागेको थियो । यस बीचमा चन्द्रमायाले छोरो जन्माइन् । छोरो जन्मिएको भोलिपल्ट देवबहादुरले प्रसूति गृहमा गएर चन्द्रमायालाई ल्याए । चन्द्रमाया सुतेको कोठामा देवबहादुर गए । छोरोको दुवै हात छ कि छैन ? भनेर हात हेरे । दुवै हात भएको देखे । खुशी भए । अब चन्द्रमायाको माइती नै ‘माइती नेपाल’ भयो । विराटनगर रानी प्रहरीले ढकबहादुरलाई ‘महिला बेचबिखन’ मुद्दा चलाएर १० वर्ष जेल हाल्यो । उनी अहिले झुम्का कारागारमा छन् ।