आमा भन्नुहुन्थ्यो, ‘विहे हुँदा म ७ वर्षकी थिएँ । भाइबैनी सानै थिए । बाउआमा दुवै मरे । दुःखले भाइबैनी हुर्कायौँ । अलि ठूलो भएपछि जन्तरे मामा  घर छोडेर हिँड्यो । कता गयो कता । मरे बाँचेको खुट भएन । पछि आछाममा छ भन्ने खबर सुन्यौँ । खबर मात्र सुन्यौँ । चिठी चपेटो केही आएन । हो होइन । केही टुङ्गो थिएन । एक्कैचोटी १७ वर्षपछि घर आयो । ज्यूँदै रहेछ । आसामदेखि नि उत्तै छु । गाडी कुदाउँछु भन्थ्यो । त्याँदेखि फेरि फर्केर आको छैन । कहिले काहीँ चिट्ठी त पठाउँदै थियो । कति वर्ष भयो । अहिले त त्यो पनि छैन । सानैमा बाउआमा मरे भने पनि छोराछोरीले साह्रै दुःख पाइँदो रहेछ । टुहुरा भनेर सबैले हेप्दा रहेछन् । बाउ हुलाकी थिए । डाक बोक्थे । बाउआमा हुञ्जेल हामीलाई राम्रो थियो ।’ मैले यसो आमाको अनुहारतिर हेरेँ । आमाका आँखाभरि आँसु थिए । यो त धेरै वर्ष पहिलेको कुरा हो । आजभन्दा लगभग ४० वर्षभन्दा पनि पहिलेको कुरा हो ।

म सामान्य लेखपढ गर्न जान्ने भएपछि । अझ भनौँ चिठी लेख्न, पढ्न सक्ने भएपछि । बुबा ‘मैले यी अक्षर फुटाउन सकिनँ, यो पढ्पढ् केटा’ भनेर घरमा आएका चिठी पढ्न लाउनुहुन्थ्यो । पढ्न लाउँदालाउँदै मलाई बुबाले चिठी लेख्न पनि लाउन थाल्नु भयो । हुँदाहुँदा म मनग्गे चिठी लेख्ने, पढ्ने, पठाउने गर्न थालेँ । बुबा यसरीयसरी लेख् भन्नुहुन्थ्यो । बेहोरा सिकाउनुहुन्थ्यो । म उहाँले भने अनुसारको चिठी लेखेर तयार पार्थें । बुबाले त्यसपछि लु पढेर सुना भन्नु हुन्थ्यो । अनि म पढेर सुनाउँथें । नमिलेको ठाउँमा सच्याउन लाउनुहुन्थ्यो ।

सच्याएर तयार भएपछि लु अब टिकट टाँसेर हुलाकको बाक्सामा खसाउनू भनेर पठाउनुहुन्थ्यो । म टिकट टाँसेर पत्र मञ्जुषा लेखेर भित्तामा झुण्ड्याएको बाक्सामा माथिको चेपबाट भित्र छिराइदिन्थेँ । त्यसपछि त्यो चिठी जान्थ्यो । मलाई अझै सम्झना छ । पछिपछि त्यसरी चिठी पठाउँदा म खामको तलपट्टि साना अक्षरमा लैजा चरी हावा सरी यो पत्रको जवाफ आउने गरी भनेर लेख्थेँ । त्यतिबेला खामको बाहिर तलपट्टि त्यसरी लेख्ने चलनै जस्तो थियो । कतिको जवाफ आउँथ्यो पनि । कतिको आउँदैनथ्यो ।

म सानो छँदाकै कुरा । हामीलाई कहिले नेपालभित्रैबाट त कहिले नेपालबाहिर खासगरी इण्डियाबाट आफ्ना आफन्तको चिठी आइरहन्थ्यो । सञ्चो–बिसञ्चो । दुःखबिमार हुँदा हामी पनि पठाउँथ्यौँ । उताबाट पनि आउँथ्यो । यसरी कहिलेकाहीँ मान्छे आउजाउ गर्न नसके पनि खबर आउजाउ हुने गथ्र्याे । पहिलेपहिले मैले लेखेको चिठी जति लामो लेख्छु भन्दा पनि लामो नहुने । सामान्य कापीको पानामा एक डेढ पेजमा सबै कुरा सकिन्थे । पछिपछि त मलाई छ पेजदेखि ८ पेजसम्म पनि लेखेको सम्झना छ । यो त धेरै पछिको कुरा हो ।

एक दिनको कुरा हो । हुलाकमा हाम्रो एउटा चिठी आएको रहेछ । म त्यस्तै ४–५ कति कक्षामा पढ्थेँ । उमेरले म त्यस्तै ८–९ वर्षको थिएँ, होला । मलाई त्यस्तो चिठीको बारेमा केही थाहा थिएन । मैले कहिल्यै नदेखेको कुरा देखेँ, त्यो चिठीको खाममा । मलाई त्यो चिठी दिँदा पनि हुलाकीले निक्कैबेर मेरो अनुहारमा हेरेर मात्र दिए । चिठी हामीलाई नै आएको थियो । हाम्रै थियो, त्यो चिठी । त्यो चिठी देखेर म आश्चर्यचकित मात्र भइँन, डराएँ पनि । लिउँ कि नलिउँ त्यो चिठी, दोधार भयो मन । चिठी हातमा लिएर पोष्ट अपिसभित्रै निक्कैबेरसम्म उभिएँ पनि म । त्यहाँ सबैले मलाई नै हेरिरहेका थिए । त्यो चिठीको खाममा बाहिरबाट धागोले बाँधेको थियो । मैले त्यस्तो धागोले बाँधेको चिठी त्योभन्दा अगि कहिल्यै देखेको थिइनँ । त्योभन्दा पहिले हामीलाई त्यस्तो धागोले बाँधेको चिठी कहिल्यै कतैबाट आएको पनि थाहा थिएन । त्यतिबेला मान्छे आउजाउ गर्नुबाहेक खबर आदान–प्रदान गर्ने अर्को माध्यम चिठीबाहेक अरु कुनै थिएन ।

घरमा आएर चिठी खोलेर हेर्दा थाहा भयो । त्यतिबेला हाम्रो आफन्त कोही आसाममा बित्नुभएछ । त्यही खबर लिएर आएको चिठी रहेछ त्यो । बुबाले भन्दा थाहा भयो । मृत्युको खबर पठाउँदा चिठीको खाममा बाहिरबाट धागोले बाँधेर पठाउने गरिदँोरहेछ । आजभोलि पनि म बेलाबेला त्यो घट्ना सम्झने गर्छु । यो पनि मेरो जीवनको एउटा अविस्मरणीय क्षण नै बन्यो ।