धरान । दशैंतिहारको पूर्वसन्ध्यामा कलरव धरानले बिहीबार धरान, इटहरी र तरहराका कवि साहित्यिकारबीच कविता वाचन गर्ने अवसर जुराइदिएको छ ।
धरान–३ वडा समिति कार्यालयको आयोजनामा कवि साहित्यकारहरूले दोभान पार्कमा शुभकामना आदान प्रदान र कविता वाचन गरेका थिए । सुनसरीका नयाँ पुराना कविहरूबीच सम्पन्न शुभकामना आदानप्रदान कविता वाचनमा चन्द्र गुरुङ, सुदीप पाख्रिन, करुणा राई, सन्तोष थेबे, श्रेष्ठ परिक्रमा, मुन्धुम कवि प्रदीप मेन्याङ्बो, राज आशातीत, बिनय सरगम, विशाल नाल्बो, याक्थुङ्वा कान्छा, इन्दु नेपाल योञ्जन, सुमन रेग्मी, नगेन्द्र सुवेदी, विरेन सुब्बा, राजीव आचार्य, सुरज याक्थुङ्बा, तीर्थ निरौला र विवेक विवश रेग्मीलगायत सहभागी थिए । उनीहरूले समसामयिक कविता सुनाएका थिए ।
उक्त अवसरमा वाचन गरिएका कविताहरू युट्युबमा राख्न विरेन सुब्बाले छायाङ्कन गरेका थिए । कार्यक्रमका संयोजक सुदीप पाख्रिनका अनुसार ती कविताहरू ‘युनिक फोटोग्राफी धरान’ युट्युबमा केही दिनभित्र सम्पादन गरेर राखिने भएकाले सबैले सुन्न र हेर्न सक्नेछन् ।
आयोजक धरान–३ का वडाध्यक्ष आशाकुमार श्रेष्ठ र वडा सदस्य विकास बनेपालीले धरानमा साहित्यिक जमघट कमै भइरहेको बेला कलरवले धरानको साहित्यको पुरानो साखलाई जीवित बनाउने प्रयास गरेकोे बताए । उनीहरूले धरानको साहित्यिक कार्यक्रमलाई निरन्तरता दिने पनि बताए ।