धरान । उद्धव राईको उखान टुक्काको पुस्तक ‘उखान टुक्क’ शनिबार धरानमा लोकार्पण गरिएको छ ।
प्रा.डा. गोपालप्रसाद भण्डारी र संकलक उद्धव राईले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे । पुस्तकमा शब्दकोशीय अनुक्रमअनुसार उखान टुक्काहरू समावेश गरिएका छन् । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. भण्डारीले उखान टुक्का हाम्रा पुर्खाहरूबाट प्राप्त गरेको ठूलो उपलब्धि रहेको बताए । उनले भने, ‘विश्व विद्यालयीय भाषामा भन्दा लोकसाहित्य हो ।’ उनले लोकले धेरै अगाडिदेखि गाएर, भनेर बोलीचालीको भाषामा मानिसहरूलाई प्रभाव पार्ने लोकसाहित्य रहेको हो । उनले उखान टुक्का पनि लोकसाहित्यकै एक अङ्ग रहेको बताए ।
पुस्तकको समीक्षा गर्दै कवि तथा समालोचक राजेश विद्रोहीले नयाँ पुस्ताले उखान टुक्काबारे नबुझ्ने सन्दर्भमा यस्ता पुस्तक उपयोगी र फलदायी हुने बताए । उनले उखान टुक्कासँगै त्यसको सामान्य प्रयोग पनि भएको भए सुनमा सुगन्ध हुने बताए । ‘अर्को संस्करण प्रकाशन गर्दा सामान्य वाक्य पनि राखिदिने हो भने नयाँ पुस्तालाई बुझ्न र प्रयोग गर्न सहज हुने थियो’ उनले भने ।
उनले संकलकले तम्तयार हुनु जस्ता शब्दलाई पनि उखान टुक्का भनी परिभाषित गर्न खोजिएको भए पनि त्यो उखान टुक्का नभएर शब्द भएको बताए । सङ्कलनकर्ता राईले बाउबाजेले भनेको उखान सुनेको आधारमा आफूलाई सङ्कलन गर्न मन लागेकाले पनि अहिलेको पुस्तकको रूपमा आएको बताए ।
कार्यक्रमका सभाध्यक्ष अनुप योञ्जनले संकलनकर्ताले आफूहरूलाई विमोचन गर्ने मौका दिएकोमा धन्यवाद दिए । उनले धरान रिडर्स ग्रुपको उद्देश्य पठन संस्कृतिलाई बढाउने रहेकाले सोहीअनुसार नै अगाडि बढेको बताए । कार्यक्रमको सञ्चालन कवि तथा ग्रुपका सदस्य सुदीप पाख्रिनले गरेका थिए । धरान रिडर्स ग्रुपको आयोजनामा धरान–१८ को माउन्ट हर्मन परिसरमा कार्यक्रम भएको थियो ।