धनकुटा । धनकुटाको गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयले साहित्यकार झमक घिमिरेलगायत स्रष्टालाई सम्मानित गरेको छ ।

दशौं वार्षिकोत्सव तथा साधारणसभाको अवसर पारेर शनिबार स्रष्टाहरूलाई सम्मानित गरिएको हो । मधुश्री विशिष्ट साहित्य पुरस्कारबाट धनकुटाका साहित्यकार घिमिरेलाई सम्मानित गरियो । घिमिरेलाई नगद १५ हजार १ सय ११ रुपैयाँ नगदसहित सम्मान–पत्र प्रदान गरिएको थियो ।

त्यस्तै भाष्कर लामिछाने लोकसंस्कृति पुरस्कार सुनिता भट्टराईलाई प्रदान गरिएको छ । उनलाई नगद ११ हजार १ सय ११ र  डिल्लीमाया बराल प्राज्ञिक एकल महिला पुरस्कारबाट सरला चापागाईंलाई नगद १० हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिएको छ । त्यसैगरी गङ्गाराम भद्रशिला स्मृति पुरस्कार योगमाया शक्तिपीठ विराटनगरलाई प्रदान गरियो । नगद पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।

११ हजार, १ सय ११ रुपैयाँ राशिको कृष्णकुमारी वेणीमाधव समाजसेवा पुरस्कार पूर्वाञ्चल अनाथ आश्रम विराटनगरलाई र १० हजार १ सय ११ रुपैयाँ राशिको गर्गश्री सम्मानले षडानन्द स्मृति प्रतिष्ठान इटहरीलाई संस्थागत रूपमा सम्मानित गरिएको छ । सम्मानितहरूलाई प्रमुख अतिथि कवि कुन्ता शर्मा, प्राज्ञ दधीराज सुवेदी, विवश पोख्रेललगायतले नगद तथा दोसल्ला ओढाई सम्मान–पत्रले सम्मानित गरे ।

कवि शर्माले विश्रान्ती मन्दिर स्थापना गर्ने स्व.रामनारायणप्रसाद श्रेष्ठ र कृष्णप्रसाद वस्तीको व्यक्तित्व र योगदानको चर्चा गरिन् । उनले विश्रान्ती मन्दिरमा आएर साधना गर्नको लागि अनुकूल वातावरण भएकोले आफू केही समयपछि आएर केही समय विश्रान्तीमै बस्ने पनि घोषणा गरिन् ।

puja

प्राज्ञ दधीराज सुवेदीले परम्परादेखि चलिआएको धर्म, संस्कार, संस्कृति र सदाचारको शिक्षा सिकाउने थलोको रूपमा विश्रान्तीलाई लिएको बताए । कार्यक्रममा सहभागी स्रष्टाहरू कुन्ता शर्मा, प्रा.डा.गोपाल भण्डारी, झमक घिमिरे, आनन्दसन्तोषी राई, विवश पोख्रेल, नारायण सापकोटा, जनार्दन घिमिरे, देवी पन्थी, लक्ष्मी श्रेष्ठ, चिनु काफ्ले, विनोद घिमिरे, केजी सुब्बा, रमेशचन्द्र अधिकारी, मुकुन्द प्रयास, गीता अधिकारीलगायत दुई दर्जन कवि, कवयित्रीहरूले आ–आफ्नो काव्य वाचन गरेका थिए । गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालय धनकुटाका अध्यक्ष घनश्याम बरालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।