दशैँ सकिएर तिहार आएपछि तिहारको फेरि झन् छुट्टै रमाइलो । देउसी खेल्न पाइने भएपछि केटाकेटीलाई अरु के चाहियो । टीकाको भन्दा पनि सेलरोटी र देउसीकै ध्याउन्नमा हुन्थ्यौँ हामी । देउसी खेलेर पैसा कमाउने ठूलो दाउ हुन्थ्यो,हाम्रो तिहारमा । तिहार आउन कहिले छ कहिले, अगि नै हाम्रो देउसी टोली खडा हुन्थ्यो । ककसलाई लाने । ककसलाई नलाने । कापीमा नामलिस्ट उताथ्र्यौं ।
नामलिस्टमा पर्ने मात्र हामीसँग देउसी खेल्न जान पाउँथ्यो । हामी मिल्नेमिल्ने साथीको मात्र नामलिस्ट हुन्थ्यो त्यो । हामीसँग नमिल्नेलाई कट्टी । तिनलाई हामी देउसीमा लाँदैनथ्यौँ । भट्याउने को ? पैसा बोक्ने को ? चामलको झोला कसले बोक्ने ? क–कसको घरमा खेल्ने देउसी ? देउसिरे भन्ने कति जनाले ? सबै कुराको अगि नै निक्र्योल गरेको हुन्थ्यो । सोही अनुसार हामी देउसी खेल्न हिँड्थ्यौँ तिहारमा ।
देउसी खेलिसकेर पैसा भाग लाउँदा भट्याउनेले अरुले भन्दा अलि बढी पैसा पाउँथ्यो । सबैको सहमति हुन्थ्यो त्यसमा । एक जनाले भट्याउँथ्यो अरुले देउसिरे भन्थ्यौँ । भट्याउन कोही नमान्ने । आफै अगि सर्नु पर्ने । कुनै घरमा त एक घण्टासम्म पनि भट्याइरहनु पर्ने । जे पायो त्यही भनेर भट्याउन पनि नमिल्ने । को छ भट्याउने, भट्याउनेको स्वर कस्तो छ ? र कसरी भट्याउँछ भनेर घरपतिका कान भट्याउनेको मुखैनेर हुन्थे ।
के भनेर भट्याउँदैछ भनेर कान थापेर सुन्थे । म दिमाग लाएर भट्याउँथेँ । यसो विचार गर्थें । दक्षिणा निकाल्न ढिलो गर्ने जस्तो लाग्यो भने एउटै शब्द तीन पटकसम्म दोहोर्याउँथेँ । छिटो होला जस्तो लाग्यो भने एउटा शब्द एक पटक मात्र भट्याउँथेँ । कसैले मेलै पाउँदैनथ्यो । पाए पनि मसँग अरु उपाय थिएन ।
औँसीका दिन साँझदेखि भाइटीकाको रातसम्म हामी नन्स्टप खेल्थ्यौँ देउसी । टीका लाउन एकछिन छुट्टी गथ्र्यौं । निन्द्रा र भोकले हुइपा भएको पनि पत्तै नहुने । कस्तो रौस हो । आमा घरमा सबैसँग बसेर ताता रोटी खान छोडेर कात्तिकको शीतमा चिसाले बिरामी भइन्छ । पर्दैन, देउसी, सेउसी खेल्न भनेर गाली गर्नुहुन्थ्यो । केको टेर्नु । फुत्त निस्केर हिँडेपछि हिँड्यो, हिँड्यो । हाम्रा हातमा एउटा–एउटा लठ्ठी हुन्थ्यो । भट्याउने भट्याउँथ्यो र अरुले सँगसँगै देउसिरे भन्थ्यौँ ।
पछि बडिबाको छोरा दाइले देउसिरे होइन । ‘देउसिरीराम’ भन्नु पर्छ भनेर ‘देउसिरीराम’ भन्न लाउनुभयो । भट्याउन पनि यसरी भट्याउनु पर्छ भनेर सिकाउनु भयो । बिर्सन्छु होला भनेर मैले सबै कापीमा टिपेँ । एउटा लामो कथाजस्तो थियो त्यो । लामो कापीको दुई पत्ता पूरै भरियो । ४ पेज भयो, भनौं न । एउटै घरमा २ घण्टा भट्याउनु परे पनि पुग्ने भयो । पछि बुझ्दा त्यो राम र सीताको कथा रहेछ । तिहार आउनै लागेको थियो । २ दिन जति रटन्ताम दिएर त्यसलाई मैले मुखाग्र पारेँ । त्यसपछि त म भट्याउनको लागि हिरो भएँ । गाउँमा सबैले यसले त राम्रोसँग भट्याउँछ भन्न थाले । म त्यही कथा घुमाई घुमाई स्वर राम्रो नभए पनि मीठो शैलीमा भट्याउँथेँ । मैले भट्याएको सुन्न सबै लालायित हुन्थे ।
हामी पनि अलि छिप्पिँदै गएछौँ । अर्को–अर्को तिहारमा केही साथीले भने, ‘यही देउसी खेलेको पैसाले हामी एउटा मादल किनौँ ।’ केही साथी माने पनि केही साथी मानेनन् । यसो बुझ्दा हाम्रो देउसी खेलेको एक सालको पैसाले मादल नआउने पनि रहेछ । नआए पनि त्यसमा केही रकम थपेर किन्न सकिन्थ्यो । हामीले देउसी खेलेको पैसा त्यही ३०–४० रूपैयाँसम्म हुन्थ्यो ।
हामीलाई एउटा घरमा दक्षिणा चाराना, आठाना, बाराना, १ रूपैयाँदेखि २ रूपैयाँ बढीमा बढी भनेको कसै–कसैले ५ रूपैयाँसम्म दिन्थे । आज भन्दा ४० वर्ष अगाडिको कुरा हो । त्यतिबेला १ रूपैयाँले पनि निकै चिज आउँथ्यो । त्यतिबेलासम्म पनि पैसा महँगै थियो । देउसी खेलेको पैसाले एउटा मादल किनौँ भन्दा साथी नमानेपछि म आफ्नै पैसाले भए पनि मादन नकिनी नछोड्ने भएँ । एउटा सानोसानो मादलको निकै खोजी गरेँ मैले । हाम्रो बजारमा नपाइने ।
कसैले मादल त तेह्रथुममा जस्ता भन्यो त्यस्तै रोजिरोजी पाइन्छन् भने । उत्तिनैखेर गाउँबाट तेह्रथुम बजार जाने मान्छे कोही पाइएन । लाठेलाई नै ५–६ घण्टा लाग्ने बाटो । आफू पुगेर आउन सक्ने भएकै थिएन । यसपालिको तिहारमा चाहिँ मादल घाँटीमा भिरेर देउसी खेल्ने मनको धोको छ आफ्नो ।
दशैंमा भिनाजु आउँदा भन्नुभयो, ‘मादल त तेह्रथुममा पनि बजारको दिन आउँछन् । मैले एक–दुईचोटी देखेथेँ । तिहारछेक जानुपर्छ पाइन्छन् । म तिहारअगि एकपटक जान्छु होला । गएँ भने ल्याइदिउँला नि म तिमीलाई एउटा सानोसानो चिटिक्क परेको मादल ।’ भिनाजुले यति भनेपछि मलाई के चाहियो र । अन्दाजी ६० रूपैयाँसम्ममा आउँछ होला भनेपछि म ६० रूपैयाँका लागि घरमा रडाको मच्चाउन थालेँ ।
‘पोहोरैदेखि रहर गरेको । मर्नै आँट्यो । मादल विना सासै जाला जस्तो गर्छ । दिनु नि त ६० रूपैयाँ, ज्वाइँले लेइदिन्छन्’ भन्नुभएछ खुसुक्क आमाले बुबालाई । बुबाले ल्याएर दिनुभयो । बल्ल रोकियो मेरा आँखाको साउने झरी । झरीपछि उघ्रिएको आकासजस्तै भयो मन । यति भएपछि मादल हात लाग्ने कुराको पक्का भयो ।
नभन्दै औँलामा दिन गन्दागन्दै तिहारअगि नै आइपुग्यो मकहाँ मादल । ल्याइदिनु भएछ भिनाजुले कम्ती खुसी लागेन । धन्य मेरा भिनाजु हृदयदेखि मुरीमुरी धन्यवाद छ हजुरलाई मनसँग भनेँ । सानो, केटाकेटीको लागि ठिक्कको चिटिक्क परेको मादल थियो त्यो । बाहिर रातो पत्ती रङले पोतेको थियो ।
मैले कत्ति पटक घाँटीमा झुण्ड्याउँदै झिक्दै, हातले सुम्सुम्याउँदै, बजाउँदै गरेँ । त्यसको दायाँपट्टिको खरीको छेउमा एउटा सानो सियोको टुप्पो छिर्ने जत्रो प्वाल थियो । भिनाजुले पनि किन्ने बेलामा देख्नु भएनछ । ल्याउने बित्तिकै मैले देखेँ । खिन्न भएको मेरो मनलाई यतिले केही गर्दैन भनेर सबैले थुम्थुम्याए । सानो भए पनि मादल चाहिँ खुब बज्थ्यो ।
अरु बेलै पनि कहिले काहीँ हजुरआमा खै त तेरो ट्याम्के मादल ? बजाउँदैनस् त, बजा न । म सुन्छु भन्नुहुन्थ्यो । म बजाउँथेँ । हजुरआमा सुन्नु हुन्थ्यो । पछि देउसी खेल्न जाँदा त्यही दुलोबाट कुन उपद्रयाहाले औँलो छिराएर डङ्ङै च्यातिदिएछ । त्यसपछि त मादल कामै नलाग्ने भयो ।
बनाउन पनि झ्याउ लागेर आयो । पालीको एउटा सिङुरामा सिउरेर राखेको थिएँ । त्यहीँ राखेको राखेकै थोत्रो भयो । आजभोलि पनि तिहारमा कसैले मादल बजाएर देउसी खेलेको देख्यो कि मलाई त्यही मादलको सम्झना आइहाल्छ । सानो रहरले किनेको मादल थिएन त्यो । यो पनि मेरो जीवनको एउटा अविस्मरणीय क्षण नै बन्यो ।