हङ्कङमा रहेर पत्रकारिता, सामाजिक तथा राजनीतिक संस्थाहरूमार्फत् नेपाली समुदायलाई जागरुक र सचेत गराउँदै आएका किसन राईको नेपालमा घुमघाम गरिरहेकै बेला असामयिक र अप्रत्यासित मृत्यु भएपछि हङ्कङको नेपाली समाज मात्र होइन, नेपाल र विश्वभर रहेका उनलाई चिन्नेहरू स्तब्ध छन् ।
करिब दुई दशकदेखि हङ्कङका नेपालीलाई झक्झकाउने एकमात्र छापा ‘एभरेष्ट’ को सम्पादन÷प्रकाशन गरिरहेका किसन पत्रकार महासङ्घ हङ्कङ र आदिवासी जनजाति महासङ्घ हङ्कङको नेतृत्व गरिरहेका थिए । नेपालबाहिर रहेका नेपालीहरूको साझा संस्था एनआरएनए हङ्कङका उपाध्यक्षसमेत रहेका उनी आदिवासी जनजातिहरूको अन्तर्राष्ट्रिय महासङ्घ बनाउने अवधारणासहित नेपाल आएका थिए । आफ्ना निकटका साथीहरूसँग पश्चिम नेपालको भ्रमण गरेर आफ्नो पुख्र्यौली थलो ओखलढुङ्गा पुगेका उनी त्यहाँबाट खोटाङ हुँदै धरान फर्किने क्रममा कात्तिक ७ गते साँझ घटना भयो ।
हङ्कङमा त किसन राईको स्वभाव र उनीमाथि पटक–पटक आउने धम्कीहरू बारे जानकार व्यक्तिहरू किसनको निधनलाई सामान्य मान्ने पक्षमा छैनन् । धेरैले उनको मृत्यु कि हत्या ? भनेर प्रश्न उठाइरहेका छन् । यस्ता प्रश्न उठ्ने विभिन्न कारणहरू पनि छन् । किसन आफूमा लागेको कुरा निर्धक्क बोल्ने, लेख्ने, कसैको दबावमा नझुक्ने, नडराउने पत्रकार थिए । हङ्कङमा गुण्डागर्दी गर्ने, पैसा असुल गर्नेहरू विरुद्ध खुलेर लेख्ने, बोल्ने र आवश्यक परे उनीहरूसँग भिड्ने स्वभाव थियो उनको । बदमासी गर्ने धेरैलाई ठेगान लगाएका कारण पनि उनलाई प्रशंसा गर्ने धेरै थिए ।
तर, किसनका कारण मनखुसी गर्न नपाएकाहरू भने उनलाई मन पराउँदैनथे । त्यसकारण उनले हङ्कङमा दुश्मनी पनि कमाएका थिए । समाचारकै विषयलाई लिएर एकपटक किसनको सम्पादन÷प्रकाशनमा निस्कने पत्रिका एभरेष्टको कार्यालय तोड्फोडसमेत भएको थियो । उनलाई धम्की आएका घटना पनि धेरै छन् । तर, उनी त्यस्ता धम्कीसँग कहिल्यै डराएनन् ।
निर्धक्क लेखिरहे, बोलिरहे । विगतका यस्ता घटनाक्रम र उनको बिना गल्ती कसैसँग नझुक्ने स्वभावका कारण पनि धेरैले किसनको मृत्यु शङ्कास्पद मानेका छन् । त्यति मात्र होइन, प्रहरीले दिएको घटना विवरण, सामाजिक सञ्जालमा सार्वजनिक भएका घटनास्थलको फोटो र भिडियो आदि हेरेर पनि घटना शङ्कास्पद रहेको मान्नेहरू धेरै छन् ।
प्रहरी विवरणअनुसार गाडी रोकेर दिसा पिसाब गर्न भनी साँझ ५ः३० बजेतिर बाहिर गएका राई लामो समय नफर्किएपछि खोजी भयो । खोज्दा नभेटिएपछि प्रहरीलाई ७ बजेतिर मात्र खबर पुगेको देखिन्छ । प्रहरी आएर खोजतलास गर्दा अबेर राति मात्र उनको शव खुट्टा भाँचिएको र पानीमा डुबेको अवस्थामा फेला प¥यो । यो विवरण सार्वजनिक भएपछि ‘प्रहरीलाई किन २ घण्टापछि मात्र खबर पुग्यो ?, भीरबाट खस्दा टाउकोमा केही नहुने अनि हात, खुट्टा मात्र भाँचिने हुन्छ ?, हत्या पो भएको हो कि ? भनेर किन अनुसन्धान नगर्ने ?’
जस्ता प्रश्नहरू उठिरहेका छन् । यस्ता प्रश्नहरू उठ्नु स्वभाविक पनि हो । कुनै व्यक्ति गाडी दुर्घटना भएर ज्यान जाँदा त विभिन्न शङ्का उपशङ्का हुन्छ, छानबिनको कुरा उठ्छ भने यहाँ त न गाडी दुर्घटना भएको हो, न त किसन कुनै बिरामी नै थिए । दिसापिसाब गर्न गएको मान्छेको शव फेला पर्दा शुभचिन्तक र आफन्तबाट यस्तो शङ्का हुन्छ नै । त्यसकारण पोष्टमार्टम रिपोर्टपछि घटनाको उचित छानबिन हुनु आवश्यक छ । जसले घटनाको वास्तविकता बुझ्न सबैलाई सहयोग पुर्याउँछ ।
किसनले देखाएको बाटो
देशकै पत्रकारहरू पत्रकारितामा टिक्न नसकेर विदेशतिर पलायन भइरहेका खबर बेलाबखत सुनिन्छ । परदेशमा गएर पूर्णकालीन नेपाली पत्रकारिता गर्ने आँट जो पायो, त्यसले गर्न सक्दैन । किसनले भने त्यही दुस्साहस गरेका थिए । थोरै सङ्ख्यामा नेपालीहरू रहेको हङ्कङजस्तो ठाउँमा पत्रकारिता टिकाउन त्यति सजिलो छैन तर, उनले त्यही अप्ठ्यारो काम दुई दशकसम्म टिकाएका थिए ।
नेपालबाट हङ्कङ जानेहरूसँग सामान्यतः राम्रोसँग पैसा कमाउने लक्ष्य हुन्छ ।
त्यसैले त रातदिन नभनी निर्माण क्षेत्रमा काम गर्नेहरू धेरै छन् । तर, किसन अरूभन्दा फरक यसअर्थमा थिए कि उनी कहिल्यै पैसाको पछि लागेनन् । बरु पत्रकारितामार्फत् नेपाली समुदायमाझ नेपालीहरूका राम्रा, नराम्रा सबै कुरा ऐना जस्तै छर्लङ पार्ने अभियान थियो उनको ।
ब्रिटिस गोर्खा सैनिकमा आबद्ध नेपालीहरू हङ्कङ बसोबास गर्न थालेको लामो समय भइसक्यो । ब्रिटिस गोर्खाका सन्तानहरू स्थायी बासिन्दाका रूपमा हङ्कङ प्रवेश गरेपछि नेपालीहरूका आफ्नै किसिमका आवश्यकताहरू थपिँदै गए । त्यसमध्ये एक थियो आफ्नै भाषाको पत्रकारिता ।
त्यसबेला बजारमा स्थानीय चिनियाँ र अङ्ग्रेजी भाषाका पत्रिका हुन्थे । नेपालमा प्रकाशन हुने प्रायः पत्रपत्रिका हङ्कङ पुग्थे । तर, तिनले हङ्कङमा विकास भइरहेको नेपाली समाजको आवश्यकता पूरा गर्न सक्दैनथे । त्यसका लागि पनि एउटा नेपाली पत्रिकाको आवश्यकता महसुस गरे नेपाली समुदायले । त्यही आवश्यकताले सात जनाको समूहले एभरेष्ट दैनिक सुरु ग¥यो । ठूलै जोस जाँगरका साथ एभरेष्ट दैनिक सुरु भए पनि त्यसलाई टिकाउन सक्ने व्यावसायिक अवस्था थिएन ।
तीन महिनामै पत्रिका धरासायी भयो । यसलाई व्यावसायिकताभन्दा बढी नेपाली समाजको आवश्यकता भएकाले मिसनका रूपमा भए पनि सञ्चालन गर्नुपर्ने भयो । अनि साप्ताहिक रूपमा रूपान्तरण गरेर प्रकाशन सुरु भयो । पत्रिका निकालेर व्यावसायिक बन्न नसकिने देखेर अरू साथीहरू विस्तारै पाखा लाग्दै गए तर, किसनले हिम्मत हारेनन् । एक्लै रिपोर्टिङ, सम्पादन, बजार व्यवस्थापन, प्रोडक्सन सबै काम गरेर ‘वान मेन’ पत्रकार बनेर पत्रिका चलाएका थिए ।
हाल ‘एभरेष्ट’ मासिक र अनलाइन पोर्टल सञ्चालित छन् । धरानमा ज्ञानोदय बोर्डिङ स्कुल, पुस्तक पसल सञ्चालन गरेका किसन हङ्कङमा फुलटाइम पत्रकार बनेको देखेर धेरैले प्रश्न पनि गर्छन् रे ‘कसरी बन्नुभयो पत्रकार, किन बन्नुभयो पत्रकार ?’ विद्यार्थीकालमा धरानको महेन्द्र बहुमुखी क्याम्पसमा भित्ते पत्रिका सम्पादन गरेको अनुभव सँगालेका राई सहजै उत्तर दिन्थे, ‘नेपालमै बसेर पनि पैसा कमाउन सक्ने अवस्थामा थिएँ तर, हङ्कङ आएपछि नेपालीप्रति हेर्ने स्थानीयको दृष्टिकोण देख्दा मन दुख्यो । नेपाली पैसा कमाउन मात्र, लेबर काम गर्न मात्र आएका होइनौं भन्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ भन्ने सोचले पत्रकारिता गर्न थालेँ ।’
पत्रकारितामार्फत् नेपाली समुदायमा उनले पु¥याएको योगदानलाई साउथ चाइना मर्निङपोष्ट, टेलिभिजन र विभिन्न सञ्चारमाध्यमले पनि पटक–पटक कभर गरेका थिए । त्यसअर्थमा पनि उनी नेपाली समुदायका आइडल थिए । अब उनी नरहेपछि नेपाली समुदायको आवाजको रूपमा रहेको ‘एभरेष्ट’ कसले सम्हाल्ला ? उनले जसरी आवाज कसले उठाउला ? चिन्ताको विषय हो ।
उनी आदिवासी जनजातिका अधिकारका सवाल जोडदार रूपमा उठाउँथे । उनकै नेतृत्वमा हङ्कङमा आदिवासी जनजाति समुदायबाट नै महावाणिज्य दुत पठाउनु पर्ने अभियान चलेको थियो । लामो समयपछि उनको अभियानले सफलता पाएको छ । हङ्कङमा रहेका नेपालीहरूको हितका लागि मात्र होइन, उनी आफ्नो ठाउँको विकासका लागि पनि हङ्कङबाट दर्बिलो साथ दिन्थे । धरान हङ्कङ मञ्चका संस्थापकमध्ये एक थिए किसन ।
सन् १९९९ सालमा काउलुन पार्कमा १२ जना मान्छे भेला भएर कुरा गर्दागर्दै धरान–हङ्कङ मञ्चको रूपरेखा तयार भएको उनले कुराकानीका क्रममा बताएका थिए । पुराना दिनहरू सम्झिँदै उनले सुनाएका थिए, ‘भौगोलिक रूपमा टाढा भए पनि भावनात्मक रूपमा टाढा भइँदैन रहेछ । त्यहाँको विकास देख्दा आफ्नो ठाउँ पनि यस्तै भइदिए हुन्थ्यो जस्तो लाग्दो रहेछ । त्यही हिसाबले धरानमा केही विकासका लागि संस्थाको आवश्यकता महसुस भयो र खुल्यो मञ्च ।’ उनले धरानमा घण्टाघर निर्माण गर्न पनि तन, मन र धनले साथ दिएका थिए । किसन र उनकै सहकर्मीहरूको योजना थियो, धरानमा हङ्कङको जस्तै डिजाइनको घण्टाघर बनाउने ।
पछिल्लो समय उनी विभिन्न देशमा छरिएर रहेका नेपालका आदिवासी जनजातिहरूको साझा संस्था बनाउने अभियानमा थिए । त्यही अवधारणा लिएर नेपाल आएका उनी फेरि हङ्कङ फर्किन पाएनन् । उनका केही अभियान पूरा भए त केही बाँकी नै थिए तर, अस्वभाविक तरिकाबाट सधँैका लागि उनी टाढा गए । उनको भौतिक शरीर नरहे पनि उनले पत्रकारिता र सङ्घ–संस्थामार्फत् जुन बाटो देखाएका छन्, त्यो नेपाली समुदायको नयाँपुस्ताले भुल्नु हुँदैन ।
उनले पैसाभन्दा ठूलो कुरा हाम्रो पहिचान हो, मानवता हो र सत्यता हो भन्ने सन्देश छाडेर गएका छन् । उनका ती पाइलाहरू अमिट बनेर नेपाली समुदायको मनमा बस्नेछन् अनि नयाँ पुस्ताले उनका तिनै पाइलाहरू पछ्याउँदै देश र परदेशमा रहेका नेपाली समुदायको हितमा काम गर्नेछन् भन्ने आशा गर्न सकिन्छ । किसनको यही जीवन दर्शनलाई आत्मसात गर्नु नै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।