यासोक । पाँचथरको कुम्मायक गाउँपालिकामा बुबाको किताब विमोचन गरिएको छ । कुम्मायक—४ रानीगाउँमा प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकाल र गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङबाट बुबाको किताब विमोचन गरिएको हो ।
कुम्मायक—४ निवासी स्वर्गीय भुमिनन्द खतिवडाको जीवनीमा आधारित “बुबाको किताब” शीर्षकको पुस्तक विमोचन गरिएको हो । खतिवडाको वार्षिक पुण्य तिथिको अवसरमा आयोजित तीन दिने श्रीमद् भागवत ज्ञान महायज्ञका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकाल र गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले पुस्तकको विमोचन गरेका हुन ।
बुबाको किताबमा स्वर्गीय भूमिनन्द खतिवडाले आफ्नो जीवनको भोगाइ, संघर्ष र अनुभवलाई समावेश गरिएको छ । उनले जीवनका भोगाइलाई नियमित लेख्ने र लेखेका विषय बस्तुहरूलाई पुस्तकमा समावेश गर्ने बुबाको इच्छा रहेको भन्दै छोरा डा. पदम प्रसाद खतिवडाले इच्छा अनुसार पुस्तक प्रकाशन गरेको बताए ।
१ सय ८४ पेज लामो पुस्तकमा मुख्य चार खण्ड छन् । पहिलो खण्ड स्मरण र इतिहास संग्रहित छन् । दोस्रो खण्डमा लेख रचना सङ्कलनहरू समावेश छन् । तेस्रो खण्डमा परिवारका सदस्यहरूले बुबा शीर्षकमा लेखेका बिचार र लेखहरू समावेश गरिएको छ ।
पुस्तक विमोचन गर्दै प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकालले गाउँ, समाज र राष्ट्रको लागि बुबाले पुर्याएको योगदानलाई समेटेर पुस्तक प्रकाशन गरेको स्मरण गर्दै पुस्तकले समाजमा उज्यालो छर्ने विश्वास व्यक्त गरे । विमोचन कार्यक्रममा गाउँ“पालिका उपाध्यक्ष सिता आचार्य, १ नं. वडा अध्यक्ष देबेन्द्रकुमार लावती लगायतको सहभागिता रहेको थियो । खतिवडाको १९९८ सालमा जन्म भई २०७७ साल कार्तिक २३ गते उपचारको क्रममा निधन भएको थियो । उनका चार छोरा छन् ।