धरान । झिगु समाजका पदाधिकारीले नेपाल संवत्लाई सरकारी कामकाजको संवत्को रूपमा ल्याउन आग्रह गरेका छन् ।
समाजले २०५४ सालदेखि नै नेपाल संवत् मौलिक संवत् रहेको तर्क गर्दै आएको छ । उसले नेपाल संवत् नेपालीहरूको रहेको दाबी गरेको छ ।
‘यो सम्पूर्ण जातजाति, भाषाभाषीको संवत् हो’ अध्यक्ष सुरेन्द्रमान स्थापितले बुधबारको पत्रकार सम्मेलनमा भने, ‘सरकारले यसलाई कामकाजी संवत्को रूपमा ल्याउनुपर्छ ।’ समाजले कात्तिक १९ गते धरानमा नेपाल संवत्को प्रचारका लागि शान्ति र्याली निकाल्न लागेको छ ।
सोही विषयबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा नेपाल संवत्लाई सबै नेपालीको संवत् बनाउनका लागि समाज लागिरहेको अध्यक्ष स्थापितले बताए ।
नेपाल संवत्को सुरुवात राष्ट्रिय विभूति शङ्खधर शाख्वाले गरेका थिए । धरान–३ स्थित चिनियाँचोकमा उनको अर्धकदको प्रतिमासमेत बनाइएको छ । सोही स्थानबाट शान्ति र्याली निकाल्न लागिएको हो । ¥याली धरान नगर परिक्रमा गरी पुनः चिनियाँचोकमा आएर सम्पन्न हुने बताइएको छ ।
‘धेरैले यसलाई नेवारहरूको मात्रै हो भन्ने बुझेका छन्, तर हाम्रो बुझाइ यो नेपालीको संवत् हो भन्ने हो’–झिगु समाजका सल्लाहकार हरेराम कर्मचार्यले भने । कार्यक्रमसँगै स्थानीय सरकारलाई ज्ञापन–पत्र बुझाउने कार्यक्रम पनि छ । मोटरसाइकल ¥यालीसहित ज्ञापन–पत्र बुझाउने तयारी गरिएको कार्यक्रम सञ्चालक देवराज श्रेष्ठले बताए ।