आज तिहारको चाैथाे दिन आज गाई, गोरु, गोवर्धन पूजा एवम् नेवारी समुदायहरूले म्हःपूजा गरिदै। आजको दिन गाईगोरु, हलिफाली अनि अन्य कृषिजन्य औजारहरु पूजा गर्ने चलन छ । कृषिप्रधान नेपाली दैलोहरुमा हिँउदको शुरुवातसंगै वर्खायामभरि थन्काएर राखेका हलो, कुटो, कोदालो लगायतका औजारहरु बाहिर निकालेर आजका दिन पूजा गर्ने चलन छ । यसकारण पनि आजका दिनलाई हलितिहार भनिएको हो ।
कृषिकर्ममा सहयात्रा गर्ने जीवहरु गाई, गोरु लगायतको पनि आज पूजा गरिन्छ, उहिले उहिले त आजको दिन गाईको गोडा मुनीबाट छिर्ने चलन पनि थियो भन्ने लोकउक्तिमा पाइन्छ । गोवरधन पूजा भोली परेका हुनाले गाइगोरु पूजा भोली पनि गरिन्छ ।
आजको दिन म्हपूजा भनेर धुमधामकासाथ मनाउने चलन रहेको छ, नेवारी भाषामा एक अक्षरले बनेका शब्दहरुको बाहूल्यता पाइन्छ, म्ह को शाब्दीक अर्थ चाँही देह या शरीर भन्ने बुझाउँदछ र यसअर्थमा म्ह पूजाको अर्थ आफ्नो देहप्रतिको आदरयूक्त याचना हो । आजको दिन आत्मतत्तवलाई वोध गराउने अनि सजिवताको आभाष गराउने दिन पनि हो ।
नेवारी भाषामा म्हं शब्दको प्रयोग र ईतिहास केलाउँदै जाने हो भने यसको प्रयोग उपसर्ग र प्रत्ययकारुपमा ब्यापक रुपमा वोलिचालीका वाक्याशंहरुमा प्रयोग भएको पाइन्छ । जस्तै छित म्ह फुला रु अर्थात तपाईलाई सञ्चै छ रु
म्ह फु अर्थात सञ्चै छ
म्ह मफु अर्थात् सञ्चो छैन
म्ह अर्थात देहवाचक अनि चेतनाप्रदायक शब्द, चेतना नभएका अनि जड वस्तुहरुमा म्ह को प्रयोग हुँदैन । यसै चेतना अनि स्व-तत्वलाई उजागर गर्दै नेवार समुदायमा आज म्हपूजा मनाउने चलन रहेको छ । नेवारी समूदायमा आफ्नै शरीर भित्रको चेतनाप्रदायक यस आत्मतत्व अनि परमात्मालाई पूजा गर्दै आजको दिन आफ्नै अभूतपूर्व शरीरको पूजा गरिन्छ । शरीरमा शान्ति नभइकन शान्ति नहुने विश्वास अनुरुप आजको दिन अष्ट चिरञ्जीवीको प्रतिक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ र सोहि मण्डपमाथि बिभिन्न खाद्यवस्तु राखेर आफैंले आफैंलाई खुवाईन्छ ।