आजभन्दा अढाई दशकअघि एकजना जापानी गैरसरकारी संस्थाका महिला स्वयम्सेवकले धरानको दक्षिणमा पर्ने चारकोसे जङ्गल हेरेर भनेकी थिइन्, ‘ठूलो क्षेत्रफल ओगटेर यसरी नै कङ्क्रिटको चिहान बनाउँदै जाने हो भने अबको ५० वर्षपछि यो चारकोसे जङ्गल कङ्क्रिटको जङ्गल बन्नेछ । त्यो एक प्रकारले मरुभूमि जस्तै हुनेछ । एकातिर जीवित बस्ने कङ्क्रिटको सहर बन्नेछ भने अर्कोतिर मृतक पुरिएको स्थानमा अर्को कङ्क्रिटको सहर बन्नेछ ।’ उनको भनाइको तात्पर्य थियो, वातावरण नै बिग्रने गरी कङ्क्रिटको चिहानै चिहानले चारकोसे जङ्गल भरिनेछ र ती चिहानहरू कङ्क्रिटका बन्ने भएकाले जङ्गल मासिनेछ । जङ्गलले दिने पर्यावरणीय र वातावरणीय फाइदा र सौन्दर्य हराउँदै जानेछ ।

अढाई दशकअघि धरानका बासिन्दाले मृत्यु भएका आफन्तको शव गाड्दा करिब पाँच धुरदेखि १० धुरसम्म ओगटेर पर्खाल लगाउने चलन थियो । पर्खाल लगाएर जङ्गलको जग्गा ओगट्ने चलनलाई पछि निष्क्रिय बनाइयो तर, गाडेको शवमाथि कङ्क्रिटको सानो घरै बनाउने चलन भने कायमै रह्यो । आफन्तको शव जमिनमा पुर्ने संस्कार संस्कृति भएका समुदायका लागि उपमहानगरपालिकाले आजभोलि नै व्यवस्थापन गर्न नसके चारकोसे जङ्गल कङ्क्रिटको जङ्गल बनेको देख्दा अनौठो नमाने हुन्छ । केही वर्षअघिसम्म शव गाड्नका लागि उपयुक्त स्थान खोज्न ५० देखि सय मिटरभित्र छिर्ने गरिएको थियो भने अहिले निकै दक्षिण अर्थात् एक किलोमिटर जति छिर्नुपर्ने अवस्था छ । जङ्गलमा शव गाँड्दा कुनै आपत्ति भएन तर, शव गाडेपछि आफन्तले समवेदना स्वरूप ढ्ङ्गा, गिट्टी, बालुवा प्रयोग गरेर कङ्क्रिटको कपुरस्थान (कब्रस्थान) बनाउने चलनले निरन्तरता पाएको छ । कङ्क्रिटको चिहान बनाउने चलन नेपालको होइन । आयातित संस्कृति हो । आधा शताब्दी अघिसम्म पनि पूर्वी पहाडका मानिसको मृत्यु हुँदा एउटा निश्चित स्थानमा खाडल खनेर ढुङ्गामाटोले मात्र पुर्ने चलन थियो तर, पछिल्लो समयमा मृतात्मा पनि सहरको भव्य महलमा बसे जस्तै मरेपछि पनि बसुन् भन्ने सोचको विकासले होला केही हुनेखानेहरूले चिहानमाथि कङ्क्रिटको सानो घरै बनाउन थाले । जङ्गलमा कङ्क्रिटको चिहान बनाउँदा पछि त्यहाँ न रुख उम्रिन सक्छ, न त पर्यावरण नै जोगिन्छ । बरु उल्टै जैविक विविधता नष्ट हुन्छ ।

शवलाई जङ्गलमा विधिपूर्वक पुरे पनि कङ्क्रिटको चिहान बनाउने चलनलाई निरुत्साहित गर्नु अहिलेको आवश्यकता हो । कङ्क्रिटको चिहान धरान नजिकको चारकोसे जङ्गलमा मात्र नभएर पूर्व–पश्चिम मुख्य राजमार्ग भएर जाने चारकोसे जङ्गलमा पनि यस्तो दृश्य देख्न सकिन्छ । कङ्क्रिटको चिहान बनाउँदा मृतक खुसी भएको कतै पनि वैज्ञानिक प्रमाण छैन । बरु अतिरिक्त खर्च भने गराउँछ । कङ्क्रिटको चिहान बनाउने पैसालाई सदुपयोग गर्न सकिन्छ । कङ्क्रिटको चिहान बनाउँदा लाग्ने खर्च जति हुन्छ, त्यो रकम मृतककै नाममा वा स्मृतिमा कुनै अनाथ, असहाय बालबालिका, वृद्धवृद्धालाई दिएर सहयोग गर्न सकिन्छ र आफन्त पुरेको चिहानमाथि ती स्वर्गीय व्यक्तिका जन्म र मृत्युको मिति, स्थान र परिवारका नाम लेखेको दुई अढाई फिटको स्ल्यावमात्र राखेर जङ्गललाई कङ्क्रिटमय हुनबाट जोगाउन सकिन्छ । स्थानीय सरकारले पनि शव पुर्नका लागि निश्चित क्षेत्र तोक्नु पर्छ । ठूलो क्षेत्रफल ओगटेर कङ्क्रिटको चिहान बनाउन नदिने नीति बनाउन जरूरी छ । सकिन्छ भने हाल बनेका कङ्क्रिटका चिहान पनि भत्काएर कङ्क्रिट सफा गर्ने र चिहानमाथि मृतकको स्मृतिमा सानो स्ल्याव राख्न सकिन्छ तर, त्यसका लागि स्थानीय समुदायको सहमति आवश्यक छ । नत्र चिहान भत्काइदियो भनेर अर्को विवाद उत्पन्न हुनसक्छ । व्यवस्थित कब्रस्थान हेर्नका लागि धरान नगरपालिकाका जनप्रतिनिधि टाढा जानु पर्दैन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग जोडिएको जङ्गलमा रहेको तत्कालीन ब्रिटिस घोपा क्याम्पले अहिले पनि संरक्षित गरेर राखेको कब्रस्थान हेरे पुग्छ । त्यति सानो ठाउँमा करिब ५० भन्दा बढी चिहान छन् । सबैका चिहानमाथि स्ल्याव राखेर मृतकको छोटकरी परिचय कुँदिएको छ । चारैतिर सफा छ । ब्रिटिसले सुरु गरेको त्यहीँ चिहानस्थल हेरेर धरानले सिक्नुपर्ने थियो । जनप्रतिनिधिहरूले योजना बनाउनु पर्ने थियो तर, कसैले चासो नै दिएनन् । चासो नदिँदा यतिबेला चारकोसे जङ्गल कङ्क्रिटको चिहानले दिनदिनै कुरूप मात्र बनेको छैन, वातावरणीय असर पनि देखिँदै छ ।