धरान/ नेपाली साहित्यको नयाँ विधा ‘हाइबुन’ मा आधारित रहेर तयार पारिएको कवि तथा समालोचक डा. भीम खतिवडाको ‘गो ब्याक हाइबुन’ विमोचन गरिएको छ ।

इटहरीस्थित गोरखा किचनमा सोमबार स्रष्टा समाज बेलबारीका अध्यक्ष हर्कमान तामाङ, समीक्षक दिवाकर रेग्मी र स्रष्टा खतिवडाले संयुक्त रूपमा लोकार्पण गरे । दार्जिलिङको साहित्यिक गोष्ठीमा जाँदाको यात्रालाई ‘गो ब्याक’ मा अटाएका छन् । जसमा ३६ वटा शीर्षकमा नियात्रालाई अटाइएको छ ।

समीक्षक डा. दिवाकर रेग्मीले कृति पढिरहँदा मानिसका लागि यात्राहरू एक किसिमको उत्सव र पर्व हुने रहेछ भन्ने आफूले महसुस गरेको बताए । उनले यात्रालाई टेकेर नै नियात्रा तयार गरेको बताए । उनले भने, ‘लेखक आफैले उत्सवको रूपमा सेलिब्रेट गर्नुभएको छ । हरेक उत्सव र पर्वहरूसँग नेपालीहरूको कविताहरू जेडिएका हुँदा रहेछन्, हाम्रो साहित्य जोडिएको हुँदोरहेछ । यो कृति पनि त्यस्तै कृति हो ।’

सत्रौं शताब्दीमा जापानी साहित्यकार मात्सुओवासुले थालनी गरेको यो विधा नेपालमा एक किसिमले प्रयोग नै भएको समीक्षक रेग्मीले बताए । नेपालको धरानबाट सुरु भएको यात्रा मेचीपारि पुगेपछि भावनाको विशाल नेपालमा प्रवेश गरेको कुरा उल्लेख रहेको बताए ।

उनले भने, ‘डा. खतिवडाले शब्दहरूमार्फत् यात्रालाई जीवन्त बनाउनुभएको छ । त्यहाँभित्र मृत्युको त्रास पनि पस्किनु भएको छ । मृत्यु झन् जीवन्त भएको पाउँछौं ।’ उनले मृत्युलाई बिम्बको रूपमा प्रस्तुत गरिएकाले कृति थप सशक्त बनेको बताए । अर्का वक्ता तथा प्रमुख अतिथि स्रष्टा समाज बेलबारीका अध्यक्ष हर्कमान तामाङले कृतिका लेखकबाट, पत्रकारहरूबाट, अन्य कवि साहित्यकारबाट समाजको, देशको, मानवताको अभिवृद्धिका लागि कलम चल्नुपर्ने बताए ।

उनले मानवजातिको सेवा गर्ने, मानवताको सेवा गर्ने दृष्टि, त्यो शक्ति प्राप्त होस् भन्ने कामना गरे । उनले मानिसहरू प्रविधिजस्तो बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै भने, ‘यतिखेर मानिस मानिस जस्तो छैन, सामाजिक सञ्जालहरूबाट धेरै सूचनाहरू सङ्कलन गर्ने तर, उसको मौलिकता, आफ्नो दृष्टिकोण भने केही नहुने समस्या छ । हाम्रो मौलिकता क्रमशः कमजोर हुँदै गइरहेको छ ।’

उनले कवि तथा लेखकले पछि पछिको सम्भावनाहरूलाई देखाउन सक्ने हिसाबले पनि चिन्तन गर्न आग्रह गरे । कवि तथा कृतिका लेखक डा. खतिवडाले आफ्नो प्रयास मात्रै रहेको बताए । हाइकु र नियात्राको फ्युजन नै हाइबुन रहेको उनले बताए । उनले कार्यक्रममा उपस्थित सबै लेखक, कवि तथा साहित्यकारलाई कृति पढेर आफूलाई लागेको कुरा गरिदिन आग्रह गरे ।

‘यो भीम खतिवडाको हो, किन कमेन्ट गर्ने भन्ने हो भने त्यो एकछिनलाई छाडिदिनोस्, तपाईंलाई लागेको लेख्दा हुन्छ, त्यो मेरा लागि मार्गदर्शक हुनेछ’–उनले भने । इटहरीको पवित्रा साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रमको सभापति अग्रज स्रष्टा मुक्तिनाथ घिमिरे रहेका थिए । कार्यक्रममा इटहरी, विराटनगर, बेलबारी, धरानका स्रष्टा, कवि तथा समालोचकहरू सहभागी बनेको कार्यक्रम सञ्चालक कवि तथा पत्रकार विवश रेग्मीले बताए ।