परिवारलाई सबैभन्दा सुरक्षित र विश्वासिलो संस्थाका रूपमा लिइन्छ तर, पछिल्ला घटनाक्रमले परिवारका सदस्यबाटै असुरक्षा बढिरहेको देखाउँछ । परिवारभित्र छोराले बाबुआमाको हत्या, श्रीमान्ले श्रीमतीको हत्या, देवरले भाउजूको हत्याजस्ता घटना बर्सेनि बढ्दो छ । यी घटनाक्रमले हाम्रो समाज कसरी अस्तव्यस्त बन्दै गएको छ भन्ने पनि देखाउँछ । प्रहरीको तथ्याङ्कअनुसार प्रदेश १ मा आर्थिक वर्ष २०७७/०७८ मा १ सय ४३ कर्तव्य ज्यानका घटना भएकामध्ये ५५ वटा घटनामा परिवारबाटै भएका हत्या थिए । यी ५५ घटनामा ५६ जना मारिएका थिए । त्यसरी मारिएकामध्ये पनि अधिकांशजसो गृहिणी महिला छन् । मारिएका ५६ जनामध्ये ४६ जना गृहिणी महिला छन् । यो तथ्याङ्कले समाजमा बढ्दो विचलन झल्काउँछ । परिवारभित्रै आफन्तले आफन्तको ज्यान लिने अवस्था किन आइरहेको छ ? सम्बन्धित निकाय गम्भीर बन्नु आवश्यक छ ।

आफन्तबाटै आफन्तको हत्या हुने कारणहरू विभिन्न देखिन्छन् । बेरोजगारीपछि उत्पन्न पारिवारिक झमेलाले पनि कतिपयको हत्या भएको छ । बेरोजगार भएपछि आर्थिक समस्या उत्पन्न हुने नै भयो । त्यसले परिवारमा किचलो निम्त्याउने र त्यही किचलो बढ्दै जाँदा हत्यासम्म पुग्ने गरेको देखिन्छ । त्यस्तै परिवारभित्रै हत्या हुने अर्को कारण मदिरा तथा लागूऔषधको बढ्दो प्रयोग पनि हो । मदिरा वा लागूऔषधको नशामा डुबेका व्यक्तिहरू परिवारमा भएपछि तनाव उत्पन्न हुने नै भयो । त्यस्तो तनाव बढ्दै जाँदा परिवारका सदस्य नै हत्यामा उत्रिने गरेका घटना सार्वजनिक भएका छन् । त्यस्तै नेपालीहरू बाध्यात्मक रूपमा वैदेशिक रोजगारीमा जाने गरेका छन् । तर, वैदेशिक रोजगारीले पनि परिवारमा विचलन ल्याएको छ । श्रीमान् र श्रीमती लामो समय छुट्टिएर बस्नु पर्दाका समस्याहरू धेरै छन् । वैदेशिक रोजगारीले देशमा रेमिट्यान्स त भिœयाइरहेको छ । तर, त्योभन्दा धेरै चाहिँ समाजमा विचलन पनि ल्याइरहेको छ । वैदेशिक रोजगारीले श्रीमान्–श्रीमतीबीच नै असमझदारी बढाउँदै छ । त्यसको परिणाम हत्यासम्म पुग्ने गरेको छ । परिवारभित्र पैतृक सम्पत्तिका कारण पनि आफन्तबाटै आफन्तको ज्यान लिने घटना भएका छन् । तर, यस्ता घटनालाई कसरी न्यूनीकरण गर्ने ? भन्ने बारेमा गम्भीरताका साथ काम भएको देखिँंदैन ।

परिवारभित्र बढिरहेका जघन्य अपराधका घटनाहरूको अध्ययन गरेका समाजशास्त्रीहरू सामाजिक र आर्थिक कारणले यस्ता घटना बढेको बताउँछन् । उनीहरूको विश्लेषणमा पछिल्लो समय बढ्दो कलहसँगै सिर्जित अपराधका कारण पारिवारिक सम्बन्ध जटिल मोडमा पुगेको छ । व्यक्तिवादी सोच हावी हुनु र प्रविधिको अनियन्त्रित प्रयोग पनि यस्ता घटनाका कारण रहेको औंल्याउने गरिन्छ । अबको समस्या यो अवस्थाबाट बाहिर आउन त्यति सहज छैन । समाजको भित्री तहसम्म पुगेर गम्भीर अध्ययन र समस्याको निराकरण गर्नु आवश्यक छ । प्रहरीले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए पनि त्यो मात्र यस्ता घटना न्यूनीकरणको प्रभावकारी उपाय भने होइन । त्यसका लागि त समाजका हरेक व्यक्ति सचेत हुन आवश्यक छ । समाजका विभिन्न सङ्घ–संस्था र स्थानीय तहहरू नै योजनाबद्ध रूपमा अघि बढ्नु पर्छ । त्यसका लागि राज्यले उचित नीति निर्माण गर्नुपर्छ । त्यही नीतिका आधारमा समाजका सबै तह लागिपर्ने हो भने मात्र यस्ता घटना न्यूनीकरण हुन सक्लान् । नत्र केही वर्ष यतादेखिको बढ्दो घटनाको तथ्याङ्क हेर्दा तुरुन्तै न्यूनीकरण हुने सम्भावना देखिँंदैन । परिवारभित्रै संवेदनाहीन भावना बढ्नुका अनेक कारण हुन सक्छन्, तिनीहरूको राम्रोसँग अनुसन्धान गरी नीति बनाउनु आवश्यक देखिन्छ ।