धरान उपमहानगरपालिकाको वार्षिक आन्तरिक आय किन कम भएको होला ? नगरपालिका भनेर घोषणा भएको नै २०१७ सालमा अर्थात् ६१ वर्ष भइसक्यो नगरको रूपमा स्थापित भएको । मुलुककै सबैभन्दा पुरानो नगरमध्येमा पर्छ धरान । अहिले उपमहानगर भएको छ । तैपनि यसको आन्तरिक आय ०५४ सालमा वार्षिकरूपमा मुस्किलले अढाई करोड रुपैयाँ मात्र थियो । अढाई दशकको दौरानमा पनि धरान उपमहानगरपालिकाले आफ्नो आन्तरिक आय वृद्धि गरेको भनेको वार्षिक २५ करोड रुपैयाँमात्र हो । भएका भौतिक पूर्वाधारहरू, आन्तरिक स्रोत साधनहरूलाई सदुपयोग गर्न चुक्दा जति वृद्धि हुनुपर्ने थियो आन्तरिक आयमा, त्यति हुन नसकेको देखिन्छ । आन्तरिक आयस्रोत वृद्धि गर्न धरान नगरपालिकाले तत्कालीन नगरविकास कोष (हालको सहरी विकास) बाट ऋण लिएर वडा नं. ३ स्थित पुरानो बजारको चिनियाँ चोकमा एउटा सपिङ कम्प्लेक्स निर्माण गर्यो ०५१ सालमा । त्यसको लागत थियो ६० लाख रुपैयाँ । त्यो रकम नगरविकास कोषबाट धरानले ऋण लिएको थियो । सायद ऋण चुक्ता गरिसकिएको छ । त्यसबेलाको ६० लाख भनेको अहिलेको ६ करोड रुपैयाँ बराबर हो । नगरपालिकाको स्वामित्वमा रहेको करिब १ कठ्ठा क्षेत्रफलको जमिनमा निर्माण गरिएको सपिङ कम्प्लेक्समा ३५ साना कोठालाई भाडामा लगाएर आम्दानी गर्ने र चिनियाँ चोक आसपास स–साना टहरा र सडकको छेउछाउमा जथाभावी छरिएर रहेका पसललाई पनि व्यवस्थित गर्ने उद्देश्य थियो । कुनै राम्रो व्यापारिक कम्पनी वा व्यवसायीले २७ वर्षअघि ६० लाख रुपैयाँ लगानी गरेको भए यतिबेला पक्कै पनि ६ अर्बको पुँजी भइसक्थ्यो ।
धरानको चिनियाँ चोकमा बनाइएको सपिङ कम्प्लेक्सले ६ अर्ब रुपैयाँको पुँजी निर्माण गरेको छ त ? छैन । उपमहानगरपालिकाले व्यावसायिक रूपमै सञ्चालन गर्न सकेको देखिएको छैन । कोठाहरू भाडामा दिए पनि कतिपयको असुल गर्न सकेको छैन । भएका सबै कोठा पनि भाडामा लगाउन सकेको छैन । यसर्थ जुन उद्देश्यले चिनियाँ चोकमा सपिङ कम्प्लेक्स निर्माण गरिएको थियो, त्यो उद्देश्य २७ वर्ष बितिसक्दा पनि उपमहानगरपालिकाले पूरा गर्न नसक्नु भनेको उपमहानगरपालिकाको व्यवस्थापन नीतिमा कतै न कतै खोट छ भन्ने बुझ्न गाह्रो हुँदैन । तत्कालीन मेयर ध्यानबहादुर राई र उपमेयर मनोजकुमार मेन्याङ्बोको अवधारणाअनुसार सम्भवतः राजधानीबाहिर पहिलो पटक सपिङ कम्प्लेक्स भवन निर्माण भएको हो । सपिङ कम्प्लेक्स भनेको एउटै भवनमा नुनदेखि सुनसम्म पाउन सकिने पसल भन्ने बुझ्न सकिन्छ । पछिल्लो समयमा धरानका विभिन्न व्यापारिक कम्पनी र व्यक्तिहरूले सपिङ कम्प्लेक्स निर्माण गरेर करोडौंको व्यापार–व्यवसाय सञ्चालन गरिरहेका छन् । तर, सरकारी जग्गा, नगरविकास कोषको ऋणमा बनेको पूर्वकै पहिलो सपिङ कम्प्लेक्स यतिखेर अँध्यारो भवन भएको छ । भवनका भित्तामा कुनै चमक छैन । शौचालयहरू दुर्गन्धित छन् । कोठाहरू फोहोरमैलाले भरिएका देखिन्छन् । कतिपय कोठाहरू भाडामा नलागेर सटर बन्द गरिएको अवस्थामा छन् । उपमहानगरपालिकासँग अझै पनि उक्त सपिङ कम्प्लेक्सबाट अर्बौंको पुँजी निर्माण गर्ने अवसर भने छ । पुरानो बजारमा निर्माण भएको उक्त भवनबाट बढी आय आर्जन गर्न भूईंतला र माथिल्लो तलाका स–साना कोठालाई छुट्याउने वाल (भित्ता) भत्काएर ठूलो बनाउन सकिन्छ । आकर्षक डिजाइनका साथ ठूला बनाइएका कोठाहरूलाई कुनै व्यावसायिक कम्पनी वा बैङ्कहरूलाई लिजमा दिएर पनि उपमहानगरपालिकाले आन्तरिक आय आर्जन गर्न सक्छ । तर, त्यसका लागि चासो र चिन्ता गर्ने जनप्रतिनिधि, कर्मचारीहरू हुनु जरुरी छ । चासो र चिन्ता नै नराखेपछि चिनियाँ चोकको सपिङ कम्प्लेक्सबाट जति फाइदा लिन खोजे पनि हुन्न । त्यसो त धरान उपमहानगरले लगानी खन्याए पनि आन्तरिक आयस्रोत वृद्धि गर्न नसकेको उदाहरणको रूपमा सपिङ कम्प्लेक्समात्र एक्लो होइन । धरान सभागृह, सप्तरङ्गी पार्क, भानुचोकको ट्याक्सी पार्किङस्थल पनि पर्छन् । निजी कम्पनी वा व्यवसायीलाई लिजमा दिए मनग्य आन्तरिक आय गर्न सक्ने अवस्था हुँदाहुँदै पनि त्यतातिर ध्यान नदिँदा वार्षिकरूपमा करोडौं आम्दानी हुने ती स्रोतहरू खेर गइरहेका छन् ।
उपमहानगरपालिकाले राम्रो आम्दानी गरिरहेको एउटै मात्र ठाउँ हो भानुचोकपरिसरको धरान घण्टाघर तथा भूकम्प स्मृति पार्क । घण्टाघरपरिसरलाई जस्तै व्यवस्थित रूपमा सञ्चालन गर्नसके भानुचोकको लोकतान्त्रिक चोकछेउको करोडौं मूल्य पर्ने जग्गा यतिबेला ट्याक्सी स्ट्याण्डमा मात्र सीमित नराखी आयस्रोत वृद्धि गर्ने अन्य व्यवसायमा उपयोग गर्न सकिन्छ । सप्तरङ्गी पार्क बेस्याहार भएको छ । धरान सभागृह त झन् आँखै बिझाउने भएको छ, भत्किएका सिलिङले । सभागृह भएको स्थानलाई सही सदुपयोगसमेत गरिएको छैन । अनि कसरी वृद्धि हुन्छ आन्तरिक आयस्रोत ? उपमहानगरपालिकाको व्यवस्थापकीय कमजोरीको कारणले आन्तरिक आयस्रोत वृद्धि हुन नसकेको हो भन्न कुनै गाह्रो छैन ।