पथरी । मोरङको कानेपोखरी साहित्य समाजको आयोजनामा सम्पन्न अन्तर माविस्तरीय कविता वाचन प्रतियोगितामा करुणा कोइराला प्रथम भएकी छिन् । 

शनिबार आदिवासी जनजाति भवनमा सम्पन्न प्रतियोगितामा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै करुणा प्रथम बनेकी हुन् । करुणा ३ नम्बर वडाको शिक्षा सदन माध्यामिक विद्यालयमा अध्ययनरत छिन् । त्यसैगरी वडा नं. ५ को रमाइलो बहुमुखी क्याम्पसमा अध्ययनरत जुना पाण्डे दोश्रो र वडा नं. ६ को माउन्ट हर्मोन चिल्ड्रेन ऐकेडेमीको सुम्निमा न्यौपाने तेस्रो बनेकी थिइन् । 

त्यसैगरी सान्त्वना कानेपोखरी–२ को शिक्षा विकास माध्यामिक विद्यालयकी छात्रा सिर्जना कार्की भएकी थिइन् । प्रथम, दोस्रो, तेस्रो र सान्तवाना हुनेलाई कार्यक्रमको प्रमुख तारा बहादुर काफ्ले प्रदान गरेका थिए । कार्यक्रममा गजलकार सञ्जना घिमिरे, स्थानीय कवि भवप्रसाद बास्तोला, स्थानीय कवियत्री इनोसेन्ट दुर्गा परियार, प्रकाश रिजाल, साहित्यकार डिबि संसार, कवि प्रतीक ओझालगायतले आफ्नो साहित्यिक सृजना प्रस्तुत गरेका थिए ।

निर्णायक मण्डलमा साहित्यप्रेमी भोला भट्टराई, कवि एवम् शिक्षक अम्बिकाप्रसाद कोइराला र कवि बिनिता आचार्य रहेका थिए । कानेपोखरी गाउँपालिकाका ८ वटा माध्यमिक विद्यालयबाट प्रतिस्पर्धी सहभागी थिइन् ।