कवि प्रकाश दिप्साली राई, जसले गरे लकडाउनमा रचना गरिएका सिर्जनालाई दस्तावेजीकरण । कवि हुन्छु भनेर फ्याट्टै हुन पाउने भए, बन्छु बनेर बनिहाल्ने भए अखबारमा समाचारभन्दा धेरै ‘यहाँ कवि बनाइन्छ’ वा ‘कवि पढाइन्छ’ भन्ने सूचना छापिन्थे होला । दुःख, परिश्रम, साधनाको तीव्र खहरेहरूले बगाएका शब्दका दर्शन ढुङ्गाहरूमा कुँदिएको एउटा नाम हो प्रकाश दिप्साली । ऊ आफै पनि एउटा ‘कविता’ हो र, कसैका लागि ‘देउता’ । होइन भने सोध्नोस् भरौलतिर गएर, सोध्नोस् पात्लेपानीतिर गएर, जेफालेतिर अनि हसनपुरतिर गएर । अनि सोध्नोस् यतैकतैतिर जहाँ दिनहुँ ‘कवि पढाइरहेछ’ उत्प्रेरणासहितको प्रकाशले ।
भरौलको एउटा बस्तीबाट झण्डै १ सय २५ कविको रचनालाई दस्तावेजीकरण ग¥यो प्रकाश दिप्सालीले । लाग्छ, समय कतै बगिरहेको छैन जस्तो । समय स्थिर छ जस्तो, तर पनि यो समयलाई मात्रै चिन्यो दिप्सालीले । सिर्जनाका लागि गतिशील बनायो उसले यो समयलाई । समग्र साहित्यलाई मसिनो गरी हेर्ने भरौलको यो सानो आँखीझ्यालबाट बन्दाबन्दीको सयममा देखिएको गतिविधिलाई पर्गेल्ने एउटा सानो प्रयास गरेको छु ।
कोभिड आतङ्कले विश्व त्रसित थियो । अहिले पनि छँदैछ । प्रगतिशीलहरूले भने जस्तै शोकलाई शक्तिमा बदल्नु पर्छ भन्ने मान्यता राख्छन् । कवि दिप्सालीले यो उदास समय सदुपयोग गर्ने योजना बनायो । देशका जिम्मेवार र बौद्धिकवर्ग हतास भएका थिए । विरक्तिएका थिए । उदास भाव सामाजिक सञ्जालमा पोष्ट गर्थे । यो बेला कोरोनाको त्रासभन्दा बाहिर पनि रमाउन सकिन्छ भनेर दिप्साली चिन्तनशील थिए । यो प्रविधि र सामाजिक सञ्जाललाई सिर्जनाको उर्वरभूमिका रूपमा गोडमेल गर्दै थिए र ‘प्लट’ को नाम दिएका थिए–लकडाउन सिर्जना शृङ्खला ।
कोरोना कहरको त्यो समयमा चौतर्फी निराशा व्याप्त थियो । जीवन र मरणको दोसाँधमा मान्छेहरू सङ्घर्ष गर्दै थिए । यो खबर आफैमा एक किसिमको हतोत्साहित बनाउने थियो । दिप्साली भन्छन्, ‘मलाई यही सिर्जनाको कुराले त्यो निराशामा पुग्न दिएन । अर्को कुरो, यो अभियानले गर्दा धेरैभन्दा धेरै नयाँ पुस्ता र उनीहरूका सिर्जनासँग घुलमिल हुन पाए । यसले मलाई त फाइदा भयो नै साथै नवसर्जकहरूले पनि त्यो सम्झेको हुनु पर्छ ।’
फेसबुकमा पोष्ट भएका कवितालाई दिप्सालीले पुस्तकको रूप दिए । पुस्तकमा १ सय १२ जना कवि तथा गजलकारका रचना समावेश गरिए । कोरोना कहरको बेला हतास भएर, पीडाबोध गरेर र महामारीको कारण जीवनबाट हार खाएर खाली बस्नुको साटो कम्तिमा केही सिर्जनशील काम गरौं भन्ने सिर्जनाको उपज हो– लकडाउन सिर्जना शृङ्खला ।
दिप्सालीले सिर्जना शृङ्खलासँगै महत्वपूर्ण रूपमा जोड्न सकेको पाटो चाहिँ स्थापित कवि र राष्ट्रियस्तरका कवि, सर्जकलाई भन्दा पनि कुनाकाप्चामा बसेर निरन्तर लेखिरहेकालाई प्रोत्साहित गर्न सक्नु हो । ती राम्रा लेख्नेहरू पनि विविध कारण पाठकसम्म आउन पाएका थिएनन् । उनीहरूलाई आम पाठकसामु दिप्सालीले ल्याउने काम गरे ।
दिप्साली भन्छन्, ‘सुरुमा त फेसबुकमा पोष्ट मात्रै गरियो पछि पुस्तक नै बनेपछि लिखित दस्तावेज जस्तै बन्यो कि भन्ने लाग्छ । यसको लेखाजोखा त आम कवि, लेखक, सर्जक र पत्रकारहरूले गर्लान् ।’
यो शृङ्खलामा अर्को आकर्षण र महत्वको विषय कवि, सर्जकहरूको ‘पोट्रेट’ हो । पोखराका चित्रकार कृष्ण मर्सानीले पोट्रेट गरे । स्थापित स्रष्टाले पनि आफ्नो पहिलो पोट्रेट पाए । पोट्रेट सार्वजनिक भइसकेपछि धेरै स्रष्टा दिप्सालीको अभियानतर्फ आकर्षित भए ।
दिप्साली भन्छन्, ‘लकडाउन सिर्जना शृङ्खला, म र चित्रकार मर्सानीज्यूलाई फोन गरी धन्यवाद ज्ञापन गर्नुभएको छ । कतिपय सर्जकहरू यही अभियानबाट आफ्नो लेखनको थालनी गरेर नेपाली साहित्यमा दख्खल राख्न थालिसक्नुभएको छ । मर्सानीज्यूको पोट्रेट देखेर कतिपयले आर्ट (चित्रकारिता) को सुरुवात गरिसक्नुभएको छ । एउटा अभियान र अभियानकर्मीले गर्न सक्ने उज्याला पक्षहरू यी नै होलान् जस्तो लाग्छ । भाव र ट्रेण्डहरू समसामयिक छन् । गम्भीर हिसाबले हेर्ने हो भने त आ–आफ्नै दृष्टिकोण हुनसक्छ । यसको तराजु पठकहरूले उठाउलान् ।’
कवि दिप्सालीले नवसर्जकका सिर्जनामात्र समावेश गरेका छैनन् । नवसर्जकका पथप्रदर्शक स्थापित सर्जक पनि सिर्जना शृङ्खलामा जोडिएका छन् ।
दिप्साली भन्छन्, ‘सर्जकहरूलाई दिशानिर्देश गर्ने पनि हुनुपर्छ भन्ने सोचले त्यस्ता स्तरीय सिर्जना र सर्जकहरू समावेश गरिएको छ । अझ कविता (लेखन) के हो ? नयाँ पुस्तालाई अझै गाइड होस् भनेर जो लेखनप्रति आजीवन समर्पित छन्, त्यस्ता अग्रज, मूर्धन्य स्रष्टाहरूको लेखनप्रतिको धारणा र विचारलाई पनि प्रस्तुत गर्न ‘मूलढोका’ स्तम्भ प्रस्तुत गरिएको छ । यसबाट लेखनमा भविष्य खोज्ने नयाँ पुस्ता लाभान्वित हुन्छन् ।’
यो वराहक्षेत्र र उर्वरभूमि भरौल आफैमा कविताजस्तो छ । अघिल्लो पुस्ताका कवि, साधकहरू मान बज्राचार्य, प्रल्हाद पहरेदार हुँदै छविलाल चौधरी, डिल्लीराम राजधामी, नवराज बान्तावाहरूले कलमी पसिना बगाएको भूमि हो ।
कवि दिप्साली भन्छन्, ‘मात्र त्यो पसिनाको मनितो बुझ्न सकेका छैनौं । हामीले त्यो स्तरको कविता लेख्न सकेकै छैनौं । म र मसँगका समकालीनमा सम्भावना भएर नि त्यस्तो अब्बल कविको उदय हुन सकेन र त्यस्तो वातावरण कतै सिर्जना हुन सकेन । हामीभन्दा पछिल्ला पुस्ताहरूमा सम्भावनाहरू देखिन्छ लेखनको हिसाबमा । साथै उनीहरूको निम्ति आफूले सकेको मञ्चहरू निर्माण गर्ने कोशिस गरिरहेका छौँ । यही गतिमा अघि बढ्ने हो भने भरौल अथवा वराहक्षेत्रमा अब्बल कविताहरू पढ्न पाइनेछ ।’
सामाजिक सञ्जालमा मुक्तकण्ठले प्रशंसा गरिएको लकडाउन सिर्जना शृङ्खला पुस्तकका रूपमा प्रकाशित भइसकेको छ । पहिलो संस्करण कवि तथा आख्यानकार राजन मुकारुङले धरान पुगेर लोकार्पण गरे । अहिले दोस्रो संस्करण बजारमा उपलब्ध छ । दिप्सालीका प्रायः अभियानले सफल उडान भर्ने गरेका छन् । पछिल्लो अभियान तारिफयोग्य छ । दिप्साली भन्छन्, ‘यो सक्रियता सधैँभरि नरहन सक्छ र जहिलेसम्म सक्रिय रहिन्छ, त्यतिबेलासम्ममा भरौल, वराहक्षेत्रको र सिङ्गो नेपाली साहित्याकाशको निम्ति केही काम गरिराख्ने प्रण गर्छु ।’
अन्तरवार्ताकै शैलीमा दिप्सालीलाई मैले सोधेको थिएँ, ‘तपाईं कतिबेला कवि हुनुभयो ?’ दिप्सालीको उत्तर थियो, ‘यो प्रश्नको ठ्याक्कै मिल्ने उत्तर चैं म स्वयम् खोजिरहेको छु । यति भएर नि यो धेरै गहिरो प्रश्न हो । यो दिनदेखि कवि भएँछु भनेर जानेको भए मेरो लेखनको स्तर अर्को मापनमा पुग्थ्यो होला ।
तर, भन्नै पर्दा जब आफू बाँचेको भूगोल, आफूले टेकेको धरातल र भोगेको र अङ्गीकार गरेको भाषा, संस्कृति र संस्कारले जब छुन थाल्यो, तब कविताको मेलोमेसो बुझ्न थालियो । कवि हुन त मेरो लागि धेरै बाँकी छ । यो कसैले चाहेर या रहरले होइने पनि हैन रहेछ । असीमित साधना गर्नुपर्छ ।’
त्यसो त कवि दिप्साली यो समयका उम्दा कवि हुन् । उनले ‘झण्डा र झोला’, ‘तमासा’, ‘मेरी कविता सुत्केरी खान माइत जाँदिन’ जस्ता समयलाई जुरुक्कै बोक्ने सिर्जना गरेका छन् । कविसँगै साहित्य अभियानकर्मीको छवि बनाएका दिप्सालीले भनेजस्तै थप साधना बाँकी होला, नपुगेकै होला तर अभ्यासकै क्रममा दिप्सालीले गरेको यो गतिविधिलाई मुलुकको सिङ्गो साहित्यले कसरी हेर्ने ? सायद काठमाडौंले यसलाई समीक्षाको विषय बनाउँदैन होला । मुलुकको साहित्य विकासका आरोहअवरोहमा यो गन्तीमा पनि आउँदैन होला । तर यो इतिहासको दस्ताबेजीकरण हो कि हैन ? अवश्यै हो ।
दिप्सालीले कतै लेखेको थियो – ‘काठमाडौंले मोफसल पढेको छैन ।’
लकडाउन सिर्जना शृङ्खलामार्फत् भरौलको यो आँखी झ्यालबाट काठमाडौंले उतैतर्फ फर्केर चिहाउनु पर्छ । मस्तिस्कमा गैरकेन्द्रीकरणको सोच ल्याउनुपर्छ । ए काठमाडौं तिमीले पनि मोफसल पढ्नुपर्छ ।