असल व्यक्ति, असल समाज, असल संस्कार निर्माण गर्नका लागि नैतिक शिक्षाले भूमिका खेलेको हुन्छ । प्रागऐतिहासिक काल र प्राचीनकालमा यही शिक्षाले कानूनकै काम गथ्र्यो । तत्कालीन समयमा नैतिक शिक्षाले कानूनलाई मार्गदर्शन गथ्र्यो तर, आजको स्थिति फरक छ । आजको समाजमा नैतिकता हराए झैं भएको छ । न राजनीतिकर्मीमा नैतिकता छ, न त समाजका अन्य व्यक्तिमा । हुँदा हुँदा अहिले न्यायालयका प्रमुख प्रधानन्यायाधीशको नैतिकतामाथि पनि प्रश्न खडा हुँदै आएको छ । स्वतन्त्र न्यायालयका प्रमुखको नैतिकता स्खलित हुनु आफैमा गम्भीर प्रश्न हो । समाजको मार्गदर्शक बन्नुपर्नेमा अहिले उनी आफै आलोचित भइरहेका छन् । नेपाल बार एसोसिएसन देशभर नै आन्दोलित छ । बारको ९० वटा इकाईहरू आन्दोलित भइरहँदा पनि प्रधानन्यायाधीश टसका मस भएका छैनन् । उनी अहिले नै राजीनामा दिने पक्षमा देखिएका छैनन् । किनकि बारले गरेको धर्नाको क्रममा मुख्य प्रवेशद्वारलाई छलेर उनी दोस्रो प्रवेशद्वारबाट प्रवेश गर्नुले त्यो सङ्केत गरेको छ । जबकि सर्वोच्च अदालतकै १९ जना न्यायाधीशहरू उनीविरुद्धमा छन् । उनले तोकेका इजलासहरू पनि वहिष्कार गरेका छन् । जबकि बहस गर्नैपर्ने मुद्दा बन्दीप्रत्यक्षीकरणको मुद्दा पनि वहिष्कार गरेर आन्दोलित बनिरहँदा पनि उनले कानमा तेल हालेर बसेको आभास भएको छ । यदि प्रधानन्यायाधीशमा नैतिकता हुन्थ्यो भने आजका दिनसम्म राजीनामा दिएर मार्ग प्रशस्त गर्ने थिए, स्थितिलाई नजरअन्दाज गर्ने थिएनन् ।
अहिले हरेक क्षेत्रमा नैतिकताको खडेरी किन पर्न थालेको हो, त्यसको जवाफ खोज्ने बेला आएको छ । हामी पूर्वीय सभ्यता र चिन्तनबाट गुज्रिएका मानिस हौं । हामी त्यी पूर्वीय सभ्यताबाट दीक्षित भएका हौं । जहाँ नैतिक शिक्षाबाट प्रेरित भएर आजको स्थितिमा आएका हौं । त्यस्तो नैतिक शिक्षा जसले व्यक्तिको चरित्र मात्रै हैन, समाजको चरित्रलाई नै परिवर्तन गर्ने ल्याकत राख्थ्यो तर, आजको दुनियाँमा त्यो नैतिक शिक्षाको शक्ति स्खलित हुँदै गएको छ । मानिसहरू स्वार्थमा चुर्लुम्म डुबेका छन् । ‘आफू भलो त जगत् भलो’ भन्ने आहानबाट निर्देशित छन् । यस्तो किन भइरहेको छ ? हाम्रो समाज कुन दिशातर्फ उन्मुख भइरहेको छ ? के हामीलाई प्रविधि, विकास र होडबाजीले यस्तो अवस्थामा पु¥याएको हो या अन्य कुनै कारणबाट हामी स्वार्थमुखी बन्दै गइरहेका हौं । कुनै यस्तो क्षेत्र छैन, जहाँ स्वार्थप्रेरित नहोस्, अर्थात् नैतिकता स्खलित नभएको होस् । हाम्रो दर्शन, हाम्रो चिन्तन, सोच पक्कै पनि यो स्तरको होइन तर, आज जुन अवस्थाबाट हामी गुज्रिँदै आइरहेका छौं । यसले पक्कै पनि कालान्तरमा अर्को दुर्घटना निम्त्याउने खतरा छ ।
आज हामी प्रधानन्यायाधीशमा देखिएको नैतिकताको कुरा गरिरहेका छौं । यो नैतिकता एउटा व्यक्तिमा मात्रै सीमित छैन, यो त आमप्रवृत्ति बनेको अवस्था छ । यो प्रवृत्ति झाङ्गिँदै जाने हो भने हामी कहाँ पुग्छौं । स्वतन्त्र न्यायालय बचाउनका लागि पनि हामीले असल, नैतिकवान बन्न जरुरी छ । न्यायालयमात्रै हैन, एउटा असल समाज, व्यक्ति निर्माण गर्नका लागि पनि नैतिकता जरुरी छ । आज प्रधानन्यायाधीशका विरुद्धमा भइरहेको आन्दोलनबाट आमजनतामाथि कस्तो असर परिरहेको छ, त्यसको लेखाजोखा पक्कै पनि हुन आवश्यक छ । न्यायालय स्वतन्त्र हुन्छ भन्ने आमबुझाइ टुट्ने अवस्था सृजना भइरहेको छ । यस्तो हुनु पक्कै पनि लाभदायक होइन । न्यायाधीशले गर्ने फैसला कति स्वतन्त्र होला भन्ने प्रश्न उठ्नु अब स्वभाविकै हुनेछ । किनकि न्यायालयमा भ्रष्टाचार, विसङ्गति व्याप्त छ । यो झाङ्गिँदै गएमा नैतिकतामा थप खडेरी आउने निश्चित छ । यसबाट बचाउनका लागि पनि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ र न्यायालयलाई स्वतन्त्र बनाउनका लागि बाटो खुल्ला गर्नुपर्छ र न्यायालयमा पनि वरिष्ठताका आधारमा मात्रै हैन, योग्यता, दक्षता र क्षमताका आधारमा योग्यव्यक्ति नियुक्त गरिनुपर्छ ।