बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साना–ठूला गरेर २४ घण्टामा ६० देखि ८० वटा अप्रेशन हुने गरेका छन् । ती अप्रेशन कुनै आधा घण्टामा सकिन्छन् त कुनै घण्टौं लाग्न सक्छ । अप्रेशन थिएटरमा प्रविष्ट गराइएको बिरामीको अप्रेशन गर्दागर्दै ‘मेरो खाना खाने समय भयो’ भनेर कुनै पनि चिकित्सकले अप्रेशन गर्न छाडेर आफ्नो क्वार्टर वा घरतिर जान नपरोस् भनेर त्यहीँ नजिकैको अर्को कोठामा पानी र खाना खुवाउने व्यवस्था अस्पतालले गर्दै आएको थियो । तर, प्रतिष्ठानमा चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थीहरूले बीपी प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त सङ्घर्ष समितिमार्फत् चार पदाधिकारीसहित प्रतिष्ठानको बेथितिविरुद्ध आन्दोलित भएपछि केही महिनाअघि पानी र खानाको सुविधा नै कटौती ग¥यो, प्रतिष्ठान व्यवस्थापन पक्षले ।
अप्रेशन थिएटरमा प्रवेश गरेर बिरामीको अप्रेशन गर्ने चिकित्सक, नर्स, कर्मचारीहरूले पाउँदै आएको पानी र खानाको सुविधा कटौती हुनुलाई चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले आपत्तिको रूपमा लिएको छ । यतिबेला बीपी प्रतिष्ठान यति लथालिङ्ग भएको छ कि को चिकित्सक ओपिडीमा बसेको छ, को चिकित्सक अप्रेशन थिएटरमा पसेको छ, को कर्मचारीले के गर्दै छ, विद्यार्थीहरूको पठन–पाठन नियमित क्यालेण्डरअनुसार भएको छ कि छैन, यी यावत् कुराको निगरानी, सरोकारवाला पदाधिकारीहरूले राख्न सकेका छैनन् । किनकी उनीहरूको पद नै धरापमा परेको छ । कुन बेला सिनेट बैठक बसेर कतिखेर बर्खास्त गर्ने हो भनेर त्रासमा रहेका छन् । पदाधिकारीहरूले गति छाडे पनि उपचार र अप्रेशनका लागि आएका बिरामीलाई दिएको समयमा सेवा दिने काम भने चिकित्सकहरूले गरिरहेका छन् । प्रतिष्ठानका पदाधिकारी र व्यवस्थापन पक्षले अप्रेशन कक्षमा कार्यरत चिकित्सक, नर्स र कर्मचारीले पाउँदै आएको पानी र खानाको सुविधा कटौती गरेपछि हिजोआज चिकित्सक, नर्स, कर्मचारीले आफै व्यवस्था गर्दै आएका छन् ।
प्रतिष्ठानमा कार्यरत चिकित्सक, नर्स र कर्मचारीका लागि खाना खान भनेर दिउँसो १ बजेदेखि २ सम्म ‘ब्रेक’ को व्यवस्था छ । त्यसबेला उनीहरू आ–आफ्नो आवास वा होटलमा गएर खाना खाने गरेका छन् । तर, अप्रेशन थिएटरमा बिरामीको अप्रेशन गरिरहेका चिकित्सक, नर्स र कर्मचारीहरूको हकमा यो नियम लागू हुन नसक्ने भएपछि पानी र खानाका लागि यसअघि प्रतिष्ठानले टेण्डर गरेर प्रतिव्यक्ति ८० रुपैयाँको खाना खुवाउने व्यवस्था गरेको थियो । प्रतिष्ठानले अप्रेशन थिएटरमा बिरामीको अप्रेशनमा संलग्नहरूका लागि खाना र पानी खुवाउन व्यापारीसँग गरेको सम्झौता करिब दुई महिनाअघि सकिए पनि नयाँ ठेक्का वा पुरानो नवीकरण गर्न प्रतिष्ठानले ध्यान दिन आनाकानी गरेको देखिएको छ । यो प्रकरणमा एउटा अर्को प्रश्न पनि उठाउन जरुरी भएको छ । प्रतिष्ठानमा करिब ८ सय बेड छन् । ती बेड सबै भरिन्छन् अर्थात् दैनिक आठसय बिरामीलाई दिने खाना पकाउने व्यवस्था प्रतिष्ठानको आफ्नै किचन कक्ष छ । सोही किचनमै बिरामीको अप्रेशन गर्ने थिएटरमा कार्यरत चिकित्सक, नर्स र कर्मचारीका लागि तयार नगरेर व्यापारीबाट कमिसन लिने उद्देश्यले ठेक्का दिइएको हो भन्ने त सबैलाई थाहा भएकै हो । प्रतिष्ठानका पदाधिकारीहरूले बिरामीलाई दिने खानामा कमिसन खाने गरेको चर्चा चल्दै आएको र अप्रेशन थिएटरमा कार्यरत चिकित्सक, नर्स र कर्मचारीको पानी र खाना पनि बन्द गर्नुले पद नै धरापमा परेको बेला ठेक्का टेण्डर गरे पनि अब ठेकेदारबाट कमिसन पाउन नसकिने सङ्केत पाएपछि बेवास्ता गरेको अनुमान गर्न गाह्रो छैन । अस्पताल प्रशासनलाई थाहा छ, अप्रेशन थिएटरमा बिरामीको शरीर चिरफार गरिरहको बेला ‘लन्च ब्रेक’ हुँदैन भनेर । उनीहरूका लागि त्यहीँ नजिकैको अर्को कोठामा खाना र पानीको व्यवस्था गर्नु प्रतिष्ठानको किचन विभागको जिम्मेवारी र दायित्व हो । तर, अस्पताल प्रशासन र पदाधिकारीहरूले प्रतिष्ठानलाई थप लथालिङ्ग बनाउन यस्तो नीति अपनाएको सहजै बुझिन्छ । यसर्थ बिरामी उपचारका लागि अप्रेशन थिएटरमा खट्ने स्टाफहरूका लागि तत्काल खाना र पानीको व्यवस्था गर्नुको विकल्प छैन ।