धरानका सहकारी संस्थाहरूमा समस्या देखिन थालेको लामो समय भइसक्दा पनि नियमनकारी निकाय सक्रिय बन्न नसक्दा बचतकर्ताहरू ठगिने क्रम रोकिन सकेको छैन । बचतकर्ताको रकम अपचलन गर्नेमा सल्लेरी बचत तथा ऋण सहकारी, श्रेया बचत तथा ऋण सहकारी, सयपत्री बचत तथा ऋण सहकारी, भविष्य बचत तथा ऋण सहकारी जस्ता सहकारी छन् । सल्लेरीका सञ्चालक कृष्ण विकले सर्वसाधारण बचतकर्ताको करोडौं रकम अपचलन गरेर फरार भए । लामो समयपछि उनलाई प्रहरीले पक्राउ ग¥यो तर, बचतकर्ताहरूको रकम अहिलेसम्म पनि फिर्ता भएको छैन । श्रेया सहकारीका सञ्चालक लोक खापुङले पनि करोडौं अपचलन गरेका छन् । पीडितहरू उजुरी लिएर धरान उपमहानगपालिका पुगे पनि सञ्चालकलाई उपमहानगरपालिकाले कारबाही गर्न सकेन । त्यसपछि कतिपय पीडितहरूले बाध्य भएर महँगो दाममा सञ्चालक खापुङसँग जग्गा लिइरहेका छन् भने जग्गा नलिनेहरूले पैसा पाउन सकेका छैनन् । उपमहानगरपालिका रमिते मात्र बनेको छ । त्यस्तै सयपत्री सहकारीले पनि बचतकर्ताको करोडौं फिर्ता गर्न सकेको छैन । बचतकर्ताहरू अहिले पनि खाई नखाई जम्मा गरेको रकम डुबेर चिन्तामा छन् । पछिल्लो समय भविष्य बचतले धेरै बचतकर्ताको भविष्य सङ्कटमा पारेको छ । भविष्यका सञ्चालक इन्द्र लिम्बू कार्यालय बन्द गरेर सम्पर्कविहीन छन् । उपमहानगरपालिकाले औपचारिकता मात्र पूरा गरेर पत्राचार गर्दै बसिरहेको छ । यसरी लगातार सहकारी संस्थाहरूले बचतकर्तालाई डुबाउँदासमेत नियमनकारी निकाय सक्रिय बन्न नसक्नु उदेकलाग्दो छ ।
वर्तमान संविधानले स्थानीय तहलाई नै सहकारीको नियमनको अधिकार दिएको छ । त्यसअनुसार धरान उपमहानगरपालिकाले सहकारी समिति गठन गरेर बेलाबेला अनुगमन पनि गर्ने गरेको छ । तर, उपमहानगरको सहकारी समितिले प्रभावकारी काम गर्न सकेको छैन । उपमहानगरपालिकाले गठन गरेको सहकारी समितिका अध्यक्ष धरान–१५ का वडाअध्यक्ष नरेश इवारम हुन् । उनी आफै जिल्ला सहकारी सङ्घका वरिष्ठ उपाध्यक्षदेखि बचतकर्ताको रकम अपचलन गर्ने सयपत्री सहकारीका पूर्व उपाध्यक्ष, पूर्व कर्जा संयोजक र हालका शेयर सदस्य हुन् । सहकारी समितिका अध्यक्ष नै आफै नियमन गर्ने र आफै अपचलन गर्ने दोहोरो भूमिकामा भएका कारण पनि धरानका अपचलन गर्ने सहकारीका सञ्चालकले उन्मुक्ति पाइरहेका छन् । बचतकर्तालाई ठगेर व्यक्तिगत फाइदा लिने यस्ता सहकारीलाई संरक्षण गर्नु भनेको उनीहरूको मतियार बन्नु हो । त्यसअर्थमा समितिका अध्यक्षको पनि यसमा कमजोरी देखिन्छ । बचतकर्ताको रकम अपचलन गर्ने सहकारीहरूलाई कारबाही गर्न रोक्ने पनि उनी नै देखिएका छन् । अरूलाई कानूनी दायरामा ल्याउनु पर्ने दायित्व भएका समितिका अध्यक्षकै ‘कन्फ्लिक्ट अफ इन्ट्रेष्ट’ देखिँदा धरानमा समस्या भइरहेको छ । त्यसकारण उनले अपचलनकर्तालाई कारबाहीको दायरामा ल्याउन सक्नुपर्छ, नत्र उनी आफू समितिबाट हट्नु उचित हुन्छ ।
सहकारीबाट ठगिएका सर्वसाधारणले पटक–पटक उजुरी दिँदासमेत उपमहानगरपालिकाको सहकारी समितिले तुरुन्त ‘एक्सन’ लिन नसक्नु लापरबाही हो । आफूले पाएको जिम्मेवारी पूरा गर्न नसक्नु हो । त्यस कार्यमा अध्यक्षमात्र होइन, समितिका सदस्यहरू र कर्मचारीहरूसमेत भागीदार हुन् । हालसम्म समितिले उजुरी परेपछि छानबिन गर्ने तर, छानबिन प्रतिवेदनअनुसार कारबाही अगाडि बढाउन नसकेको देखिन्छ । भविष्य सहकारीको अपचलन प्रकरणमा पछिल्लो समय उपमहानगरपालिकाले कारबाहीका लागि इलाका प्रहरी कार्यालयमा सिफारिस गरेको छ । त्यसलाई सकारात्मक मान्नुपर्छ । धरानमा अन्य पनि धेरै सहकारीहरू सङ्कटग्रस्त अवस्थामा छन् । ती सहकारीहरूलाई कारबाहीको दायरामा ल्याएर बचतकर्ताको रकम सुरक्षित गर्नु सहकारी समितिको पनि दायित्व हो । आगामी दिनमा सहकारीहरूले बचतकर्ताको रकम अपचलन गर्न नपाउनु, उनीहरूलाई कानूनी कारबाही गर्न सकियोस्, त्यसका लागि उपमहानगरपालिकाको सहकारी शाखाले आफ्नो कार्य क्षेत्रभरका सबै सहकारीहरूको विस्तृत विवरण राख्न आवश्यक छ । हाल वेबसाइटमा विवरण भर्नेहरूको मात्र रेकर्ड देखिन्छ । त्यसबाहेकका सहकारीहरूको अवस्था के छ ? सबैले बुझ्ने व्यवस्था हुनु आवश्यक हुन्छ । सहकारीको नाममा ठगीधन्दा मौलाउने वातावरण निर्मूल पार्नका लागि अपचलन गर्नेलाई उन्मुक्ति दिने काम बन्द हुनु जरुरी छ ।