धरान उपमहानगरपालिकाले भोलि सार्वजनिक बिदा दिने भएको छ ।
उपमहानगरपालिकाले आज एक सूचना जारी गर्दै कार्तिके पूर्णिमा ( वराहक्षेत्र मेला ) को अवसरमा भोलि एक दिनका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।
सूचनामा नगर कार्यपालिकाको कार्यालयका साथै मातहतका वडा कार्यालयहरू, अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य कार्यालयहरू र धरानमा रहेका शैक्षिक संस्थाहरूसमेत बन्द रहने उपमहानगरपालिकाले जनाएको छ ।
वराहक्षेत्रमा हरिबोधनि एकादशी देखि सुरु भएको मेला पूर्णिमासम्म लाग्ने छ । उक्त दिन कोकाह र कोशीको संगमस्थलमा भक्तजनहरू नुहाउने र बराहमा जल चढाउने चलन रहेको छ ।
कार्तिक शुक्ल पूर्णिमाको दिन हरेक वर्ष चर्तुमास समापन गरिने चलन छ । चर्तुमास सँगसँगै कार्तिक स्नान पनि समापन हुने गर्दछ ।