पाँचथर । प्रदेश नं.१, का नारी स्रष्टाहरुको संकलित कविता सङ्ग्रह ‘अजम्मरी अक्षरहरु’ को फिदिममा चर्चा गरिएको छ । होटल आदर्श सरगमको सभाहलमा शनिबार सङ्ग्रहको चर्चा गरिएको हो ।

चर्चा कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै साहित्यकार प्रेम ओझाले अजम्मरी अक्षरहरु शक्तिशाली कविताहरुको सङ्ग्रह भएको बताए । एक नं.प्रदेशका केहि महत्वपूर्ण नारी स्रष्टाहरु छुटेको भन्दै ओझाले सङ्ग्रहको अर्को भागमा छुटेका स्रष्टाहरुलाई पनि समेट्न सुझाब दिए । 

सरस्वती दुमी राई र मधुराज केरुङले सम्पादन गरेको सङ्ग्रहमाथि साहित्यकार राधा स्मृति र श्यान नयनले पाठकीय प्रतिक्रिया राखेका थिए । सङ्ग्रहका संकलक, सम्पादक सरस्वती दुमी राईले सङ्ग्रहमा भएका गल्तिहरुलाई अर्को भाग प्रकाशन गरेर सच्याउने बताए । 

कार्यक्रमको आयोजना याक्थुङ लेखक संघले गरेको हो । संघका अध्यक्ष प्रकाश थाम्सुहाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।