कानूनको क्षेत्रमा एउटा प्रमाणित आहान छ–‘कानूनको अज्ञानतामा अपराध क्षम्य हुँदैन ।’ यसको सार थाहा नपाउनु भनेको मूर्खताको द्योतक हो । अपराध गरिसकेपछि कानूनबाट ऊ अछुतो हुन सक्दैन । ढिलोचाँडो कानून परिपालना गराउने निकायको चौघेरामा आइहाल्छ । तर, समाजमा केही यस्ता अपराधी पनि छन्, जसले कानूनको आँखा छल्नका लागि विभिन्न ‘डिजाइन’ हरू बनाउँछन् । तर, सफल भएका उदाहरणहरू छैनन् । विभिन्न देशमा अपराध कर्म गरेर प्रहरीको आँखा छल्न सफल भएका कुख्यात अपराधी चाल्र्स शोभराजलाई त पक्राउ गरेको घटना हाम्रै देशमा छ भने सानातिना अपराधीले जतिसुकै जुक्ति, युक्ति लगाए पनि अपराधकर्मबाट बच्न सक्दैनन् । उनीहरू कुनै न कुनै दिन कानूनको ‘पञ्जा’ मा आएरै छाड्छन् । त्यसैको पछिल्लो उदाहरणका रूपमा इनरुवा निवासी अजित मियाँलाई लिन सकिन्छ । मियाँले डाँका मुद्दाबाट बच्नका लागि आफ्नो मृत्युदर्ताको प्रमाण–पत्र बनाउनसम्म भ्याए । त्यसमा उनको परिवार सहयोगी बन्यो । आफैले आफ्नो मृत्युदर्ता प्रमाण–पत्र बनाउँदासम्म स्थानीय पञ्जिकाधिकारको कार्यालयका प्रतिनिधिले आवश्यक प्रक्रिया पूरा ग¥यो गरेन, त्यो अनुसन्धानको विषय बन्दै जाला । तर, आफ्नो विगतको कर्मलाई छल्न जुन प्रकारको गल्ती गरे, त्यो हेर्दा माथिको प्रमाणित आहानबारे ज्ञात नभएको देखियो ।
भनिन्छ, ‘कानूनको हात लामो हुन्छ ।’ त्यही लामो हातले जतिसुकै अपराधकर्म गरेर बच्न खोजे पनि कुनै न कुनै दिन कानूनको पञ्जामा आइछाड्छन् । डाँका मुद्दामा ६ वर्ष जेल सजाय पाएका मियाँ ‘मृत्युपश्चात् अपराधको पनि मृत्यु हुन्छ’ भन्ने मनोरोगबाट ग्रसित भएको पाइयो । त्यही मनोरोगका कारण उनले मृत्यु दर्ता प्रमाण–पत्र बनाएको प्रतीत हुन्छ । कानून कार्यपालक निकाय प्रहरी र त्यसका अधिकारी पनि पटक–पटक झुक्यानमा परेकै हो तर, त्यही अपराधमा जोडिएका अर्का व्यक्तिले अजित त्यही हो भनेर प्रमाणित गरेपश्चात् भने उनी कानूनको हातबाट बच्न सकेनन् । अन्ततः सोमबार पक्राउ परिछाडे । सबैभन्दा महŒवपूर्ण कुरा चाहिँ के भने अपराधीलाई यस्तो खालको सोच कहाँबाट आयो र कसले यसको संरक्षण गरिरहेको छ, त्यो चाहिँ गम्भीर र गुढ कुरा हो । २०७४ सालमा मियाँले जसरी आफ्नै मृत्यु दर्ता प्रमाण–पत्र बनाउने आँट गरे, मृत्यु दर्ता बनाउनका लागि आवश्यक प्रक्रियाहरू हुन्थे होलान्, त्यो सम्बन्धित अधिकारीले पूरा गरे गरेनन्, त्यो चाहिँ अनुसन्धानको अर्को पाटो बनाउनुपर्छ भन्ने हाम्रो ठम्याइ हो । त्यसमा प्रहरी अधिकारीहरूले अनुसन्धान गर्नुपर्छ । नत्र यस्ता प्रवृत्ति आम प्रवृत्ति बनेर जाने अवस्था सिर्जना हुन्छ । हाम्रो देशमा जे पनि हुन्छ अर्थात् पैसा भएमा सबै कुरा गर्न सकिन्छ भन्ने जुन नजिर स्थापित बन्दै गएको छ, त्यो नजिरलाई तोड्नका लागि पनि यस घटनासँग सम्बन्धित विषयलाई गम्भीर ढङ्गले प्रहरीले छानबिन गरोस् । मृत्युपश्चात् अपराध सकिन्छ भन्ने जुन मनोरोग पालेको देखियो, त्यसले अन्य पनि अपराध गर्ने खतरा देखियो । किनकि मृत्यु भइसकेका व्यक्तिले अपराध गर्न सक्दैन भन्ने व्यवहारिक बुझाइ छ । उनले अन्य पनि अपराध गर्न सक्ने अवस्था कायमै थियो । यसलाई निस्तेज पार्ने कार्य नेपाल प्रहरीले गरेको छ, यसका लागि नेपाल प्रहरी बधाईको पात्र हो ।
नेपालमा अर्को लोकोक्ति छ, ‘नेपालको कानून दैवले जानून् ।’ यदि हरेक अपराध पैसा र विनिमयको साधनसँग साटिने हो भने यो आहान प्रमाणित हुँदै जानेछ । त्यो वातावरण सिर्जना गर्ने नगर्ने भन्ने दायित्व नेपाल प्रहरीको हो । यहाँ अपराधीलाई प्रमाण–पत्र बनाइदिन जसजसले भूमिका खेलेका छन्, उनीहरूमाथि गम्भीर अनुसन्धान गरिनुपर्छ । सरकारी अधिकारीहरूले उनलाई बचाउनका लागि मृत्यु दर्ता प्रमाण–पत्र बनाइदिएर जुन भूमिका निर्वाह गरेका छन्, त्यसप्रति गम्भीर अनुसन्धान हुनुपर्छ । यदि यो अपराधलाई संरक्षण गर्न मतियारको भूमिका खेलेको प्रमाणित हुन्छ भने उनीहरूमाथि पनि कारबाही हुनुपर्छ । किनकि नेपालको संविधान २०७२ पश्चात् बनेको मुलुकी अपराध संहिता २०७४ ले प्रष्टसँग मतियारलाई पनि कारबाही गर्ने कुरा उल्लेख गरेको छ । हेर्दा सामान्य लाग्ने तर, गम्भीर यस्ता विषयप्रति हामी आजैबाट चिन्तित नहुने हो भने भोलि हामी ढिला भइसकेका हुनेछौं । यस्ता प्रवृत्तिको आदि भागमै अन्त्य गरिनुपर्छ । नत्र यसले ठूलो खतरा निम्त्याउँछ । त्यसको भागीदार समाज र यो समाजका नागरिक पनि हुनेछन् । अझ कानून कार्यपालक निकायको त झनै धेरै भूमिका हुनेछ । त्यसतर्फ नेपाल प्रहरीले सोचोस् ।