बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थीबाट विलम्ब शुल्कको नाममा अत्यधिक शुल्क असुल्ने सूत्र भयानक शैलीमा विकास गरेको देखिएको छ । तीन क्याटागोरीमध्ये जुनसुकै क्याटागोरीमा परेर डाक्टरी शिक्षा लिइरहेका विद्यार्थीले पारिवारिक र आर्थिक समस्या परेको बेला तोकेको समयमा शिक्षण शुल्क तिर्न नसक्ने विद्यार्थीबाट प्रतिष्ठानले ५ लाख रुपैयाँदेखि करिब २४ लाख रुपैयाँसम्म तिराउने गरेको सार्वजनिक भएको छ । बीपी प्रतिष्ठान स्वायत्त भए पनि सरकारकै प्रत्यक्ष नियन्त्रणमा रहेको मुलुककै ठूलो स्वास्थ्य शैक्षिक संस्थामा विलम्ब शुल्कको नाममा आतङ्क मच्चिनु राम्रो सङ्केत होइन । यसलाई चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिलले पनि प्रत्यक्ष निगरानी, अनुगमन र मापदण्ड तोकिदिएको अवस्था छ । यो कुनै निजी स्वास्थ्य शैक्षिक संस्था होइन । एमबीबीएस १५ औं ब्याचका डा. विशालराज साहले फुल ट्युसन क्याटागोरीबाट ०७७ कात्तिक १७ गतेसम्ममा तोकेको शिक्षण शुल्क ७७ लाख ३३ हजार ९ सय ६० रुपैयाँ तिरिसके पनि समयमा शिक्षण शुल्क तिर्न नसकेबापत प्रतिष्ठानले २३ लाख ९० हजार ६ सय रुपैयाँ थप मागिरहेको छ । यो भनेको उनले तिरेको शिक्षण शुल्कको करिब ३१ प्रतिशत बढी रकम हो । यस्तै एक अर्का भारतीय विद्यार्थी राजेशकुमार रञ्जनले पनि विलम्ब शुल्क १६ लाख ९७ हजार रुपैयाँ तिर्न नसक्दा सर्टिफिकेट नै पाएका छैनन् । उनले एमबीबीएसको पाँच वर्षे कोर्ष गतवर्ष पूरा गर्दा ८५ लाख ९ हजार ४ सय ६१ रुपैयाँ तिरिसकेका छन् । तर, तोकिएको समयमा शिक्षण शुल्क तिर्न ढिलाइ गरेबापत उनलाई पनि प्रतिष्ठानले १६ लाख ९७ हजार रुपैयाँ तिरेमात्र एमबीबीएस पास गरेको प्रमाण–पत्र दिने भनेको छ । साह र रञ्जनजस्ता कयौं विद्यार्थीहरू प्रतिष्ठानमा अध्ययन गरिरहेका छन् । सबैको परिवार आर्थिक रूपले सक्षम हुँदैनन् ।
साह र रञ्जनले त मिडियामा आएर आफ्नो गुनासो पोख्ने साहस गरे । तर, प्रमाण–पत्र नै नपाइएला कि वा फेल बनाइदेला कि भनेर त्रसित हँुदै भए पनि विलम्ब शुल्कको नाममा लाखौं रुपैयाँ तिरेर भए पनि प्रमाण–पत्र लिने विद्यार्थीको सङ्ख्या प्रतिष्ठानमा धेरै छ । पहिलो किस्ता तिर्न नसक्दा सय रुपैयाँ र त्यसपछि पनि तिर्न नसक्दा फुल ट्युसनको शिक्षण शुल्कको प्रतिदिन ५ सयका दरले दिन गन्ती गरेर लिनु पर्नेमा मिटर ब्याज भनौं वा चक्रवर्ती ब्याजजस्तो दोब्बर भएपछि त्यसलाई दैनिक हजार बनाउने र फेरि ढिला गरे दैनिक १५ सयसम्म बनाउने प्रावधान कसरी हुन्छ ? प्रतिष्ठानको आर्थिक प्रशासनले तयार पारेको विलम्ब शुल्कको हिसाब हेर्दा चक्रवर्ती ब्याजजस्तो देखिन्छ । साहले विलम्ब शुल्क तिर्नुपर्ने रकम भनेको दिन गन्ती गर्दा १ हजार ९९ दिनको ५ लाख ६६ हजार मात्र हुन आउँछ तर प्रतिष्ठानको प्रोस्पेक्टसमै नभएको प्रावधान राखेर कुल ४ हजार ७ सय ४७ दिनको विलम्ब शुल्क लिन खोजेको देखिएको छ । जबकी यो सबै दिन गणना गर्दा १३ वर्ष हुन्छ । एमबीबीएस कोर्ष भने ५ वर्षको मात्र हुन्छ । विद्यार्थीले गल्ती गरेमा वा समयमा शुल्क नतिरेमा वैज्ञानिक र व्यावहारिक नीति बनाएर जरिबाना तिराउनु स्वभाविक हो । तर, पाँच वर्षे कोर्षमा साहु महाजनले लिने ब्याजमाथि ब्याज, अर्को ब्याज र त्यसको पनि ब्याज जोडेर विलम्ब शुल्क लिनु कुनै पनि हालतमा नीतिसङ्गत देखिँदैन । चिकित्सा शिक्षा यस्तै कारणले बदनाम हुने हो ।
बीपी प्रतिष्ठानजस्तो सरकारी स्वास्थ्य शैक्षिक संस्थाले त विद्यार्थीलाई विलम्ब शुल्कको नाममा आतङ्क मच्चाइरहेको छ भने अरू निजी स्तरमा खुलेका मेडिकल कलेजहरूले झन् के गरिरहेका होलान् ? चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल र स्वास्थ्य मन्त्रालयले यो विषयलाई किन गम्भीररूपमा लिन सकेका छैनन् ? प्रश्न यहाँनेर अड्किएको छ । साँच्चै भन्ने हो भने विलम्ब शुल्क लिनु नै पनि गैरजिम्मेवारी हो । विलम्ब शुल्क नतिरेकै आधारमा प्रमाण–पत्र नदिनु पनि झन् ठूलो अपराध हो । किनकी यो संस्था महामानव विश्वेश्वरप्रसाद कोइरालाको नाममा स्थापना भएको नेपाल र भारतको मैत्री संस्था हो । बीपी कोइरालाको नाममा स्थापित एउटा स्वास्थ्य शैक्षिक संस्थाले विद्यार्थीलाई विलम्ब शुल्कको आतङ्क मच्चाउनु भनेको बीपी कोइरालाको मान, प्रतिष्ठा र इतिहासको बदनाम गर्नु सिवाय अरू केही होइन । विलम्ब शुल्क राख्ने नै भए आफ्नो प्रोस्पेक्टस (शैक्षिक विवरण दिने ब्रोसियर वा विज्ञापन–पत्र) मा स्पष्ट रूपमा लेखेको हुनुप¥यो । तर, विद्यार्थीबाट अवैज्ञानिक रूपमा विलम्ब शुल्क लिने ध्येयले प्रोस्पेक्टसमा भने केही उल्लेख छैन । प्रतिष्ठानले समयमा शुल्क नतिर्ने विद्यार्थीबाट पहिलेदेखि नै चर्कोरूपमा विलम्ब शुल्क लिँदै आएको खुलेको छ । यसअघिका त्यो विलम्ब शुल्क आधिकारिक रूपमा प्रतिष्ठानको आर्थिक आयको खातामा जम्मा भए नभएकोमा पनि शङ्का उत्पन्न भएको छ । यसलाई प्रतिष्ठानले सार्वजनिक गर्नु जरुरी छ र विलम्ब शुल्कको बारेमा विकल्प खोज्नु उसको दायित्व पनि बनेको छ ।