मुलुक यतिबेला प्रमुख राजनीतिक दलका महाधिवेशनमय भएको छ । भर्खरै मात्र चितवनमा नेकपा (एमाले) को १० औं महाधिवेशन सकिएको छ । आज (बुधबार) देखि राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन सुरु भएको छ । फेरि मिति नसरेमा नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन मङ्सिर २७ गतेदेखि हुनेछ भने नेकपा (माओवादी केन्द्र)ले आगामी पुस ११ गतेदेखि गर्ने निर्णय गरेको छ । कुनै पनि राजनीतिक दलको महाधिवेशन हुनु भनेको त्यो दलभित्रको आन्तरिक निर्वाचन हो । अर्थात् आन्तरिक निर्वाचन पद्दतिबाट वडास्तरदेखि पालिका, क्षेत्रीय र जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म दलभित्रकै नेता कार्यकर्ताबीच पदाधिकारीको रूपमा प्रतिस्पर्धा हुने लोकतान्त्रिक चलन हो । केन्द्रीय महाधिवेशनले पार्टी सञ्चालनका लागि नेतृत्व चयन गर्ने, निर्वाचित गर्ने, पार्टीको विधान, नीति सिद्धान्तलाई परिमार्जन गर्ने, मूल नारालाई स्थापित गर्ने र कार्यदिशाको मापदण्ड तयार गर्छ । महाधिवेशन एक प्रकारले राजनीतिक दलका लागि कुम्भमेलाजस्तै हो ।
जनस्तरबाट छानिएका नेता कार्यकर्ताहरू नेतृत्व तहमा फेरि छानिन भेला भएका हुन्छन् महाधिवेशनमा । नेपाली राजनीतिमा दलका महाधिवेशन प्रायः गुट उपगुट वा जमातबीचको प्रतिस्पर्धाजस्तो देखिएको छ । सबै दलमा कतै संस्थापन र कतै संस्थापन इतर भनेर कित्ताकाट भएर महाधिवेशन हुँदै आएका छन् । यसको ताजा उदाहरण भर्खरै सकिएको नेकपा (एमाले)को महाधिवेशनमा पनि देखिएको छ । केपी शर्मा ओली पक्ष र उनलाई चुनौती दिने भीम रावल पक्षबीच कित्ताकाट शैली प्रदर्शन भयो । नेकपा (एमाले)को मार्गदर्शक सिद्धान्त जबज अर्थात् जनताको बहुदलीय जनवाद हो । यो सिद्धान्तको प्रतिपादन तत्कालीन महासचिव स्वर्गीय मदन भण्डारीले गरेका हुन् । यसै सिद्धान्तको आधारशिलामा टेकेर एमाले नेता कार्यकर्ताहरू भाषण गर्ने, मत माग्ने र सरकार चलाउने हैसियतमा पुगेका छन् । राप्रपामा पनि कमल थापा पक्ष र राजेन्द्र लिङ्देनबीच गुट छ । यद्यपि दुवैको मूल नीति भने नेपालमा राजतन्त्रसहितको हिन्दुराष्ट्र स्थापना गर्नु हो । नेपाली काङ्ग्रेसमा शेरबहादुर देउवा पक्ष र कोइराला–पौडेल पक्ष भनेर कित्ताकाट भइसकेको छ । उसको मूल नीति भनेको राष्ट्रियता, लोकतन्त्र र समाजवाद स्थापना गर्नु हो । यसलाई बीपी कोइरालाले प्रतिपादन गरेका हुन् । नेकपा माओवादी केन्द्रको निति भनेको सर्वहारावर्गको समाजवादी साम्यवाद स्थापना गर्नु हो ।
सर्वसाधारणले सुन्दा र ती विचार, नीति सिद्धान्त पढ्दा खुबै आकर्षक लाग्छन् । रामराज्य नै आउला कि भन्ने सपना र कल्पना गर्न पुग्छन् । सबै दलका नीति र सिद्धान्त आकर्षक छन् । लाग्छन्, तिनै नीति र सिद्धान्तलाई मार्गदर्शक सिद्धान्तको रूपमा अपनाएर नेता कार्यकर्ताहरु भने गुट उपगुट, समूह समूहको झुण्डमा विभाजित भएर व्यक्तिवादी बन्ने खतरा भने सधैँ मडारिइरहेको देखिएकै छ । दलको मार्गदर्शक सिद्धान्तलाई भन्दा व्यक्तिलाई बढी प्राथमिकता दिएर देवत्वकरण बनाउने चलनले पछिल्लो समयमा दलभित्र प्राथमिकता पाउन थालेको छ । नेपालमा यो चलन व्यापारी व्यवसायी र मिडिया हुँदै अमेरिका फस्ट भन्ने नारा दिएर राष्ट्रपति भएका डोनाल्ड ट्रम्प र भारतमा हिन्दुत्वको नारा दिएर प्रधानमन्त्री बनेका नरेन्द्र दामोदरदास मोदीले सुरु गरेका हुन् । दुर्भाग्य, राजनीतिमा यस्ता अतिवादको उदय हुनु र नेपालमा पनि यसैको सिको गर्नुले अहिले भइरहेका नेपाली राजनीतिक दलका महाधिवेशनले कस्तो सन्देश दिँदैछन् भन्ने मुख्य सवाल हो । एउटै दलमा हुने विवाद, नेताहरूबीचको कटाक्ष, आरोप प्रत्यारोप, झडपलाई पनि अहिले त भन्न थालिएको छ, ‘यही हो लोकतन्त्रको सुन्दर पक्ष ।’ महाधिवेशनको बेला काटाकाट गर्ने, एकापसमा तथानाम गाली गलौजमा उत्रने, भरसक पाखा लगाउने अनि त्यसलाई ‘लोकतन्त्रको सुन्दर पक्ष’ भनेर परिभाषित गर्नु भनेको लोकतन्त्रको भाष्यलाई आफू अनुकूल व्याख्या गर्न खोज्नु सिवाय अरू केही पनि होइन । दलमा अहिले ‘डनगिरी’ बढी देखिन्छ । जसको शक्ति, त्यसको भक्ति पनि नदेखिएको होइन । यसलाई लोकतन्त्र भन्न सुहाउँदैन । त्यसैले राजनीतिक दलका महाधिवेशनले जनचाहनाअनुरूपको वास्तविक लोकतन्त्र स्थापित गर्न स्वच्छ छविका इमान्दार, नैतिकवान र गुट उपगुटमा विश्वास नगर्ने नेतृत्व चयन (निर्वाचित) गर्नुपर्छ ।