पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरेस्थित शब्द थिएटरले ११ दिन लगातार टिकटमा ३० सो नाटक मञ्चन गरेर नगर क्षेत्र र आसपासमा नाटकको प्रभावकारिता विस्तार गरेको छ ।

मनबहादुर मुखियाको नाटक ‘अनि देउराली रुन्छ’ को प्रभावकारी प्रस्तुतीले नाटकको गहिरो प्रभाव झल्काएपछि पथरीशनिश्चरेका साथै उर्लाबारी, कानेपोखरीसम्मका विद्यालयहरुबाट १ हजार ५ सय बढी विद्यार्थीले टिकट काटेर नाटक हेरेका छन् ।

अन्य स्थानीय समेत गरी २ हजार मानिसले टिकटमा नाटक हेरेर नाटकको गहन स्वाद चाख्न पाएका छन् । सो नाटक एकै जनाले ८ पटकसम्म हेरेका थिए ।

नाटक समापनका अवसरमा नाटक गर्न न्यायिक समितिमार्फत आर्थिकसमेत सहयोग प्रदान गर्दै कलाप्रति प्रोत्साहित गर्दै आएकी  पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलालाई सम्मानपत्रले सम्मानित गरिएको छ ।

प्रदेशमै न्याय सम्पादनमा उत्कृष्ठ कार्य गरेको समेत उल्लेख गर्दै नाटक निर्देशक जीवन बरालले उनलाई सम्मानित गरे । कार्यक्रमको प्रमुख अतिथिसमेत रहनु भएकी वास्तोलाले नगरमा हुने अन्याय अत्याचार तथा समाजका हरेक क्रियाकलापलाई कलाको माध्यमबाट चरितार्थ पार्दै नयाँ पुस्तालाई सन्देश दिन भएको नाट्य गतिविधिलाई आफुले सधैं साथ सहयोग पुर्याउने बताइन् ।

कार्यक्रममा बोल्दै नाटकका निर्देशक बरालले शब्द कला समूह सहितको सहकार्यमा भएको यो अभियानले पुस्तकमा भएको नाटक अभिनयमा रुपान्तरण गर्दै जीवन्त प्रस्तुति दिन सकिने कुराको सन्देश दिन प्रयास गरेको बताए ।

११ दिनसम्म ३० वटा सो सञ्चालन गर्दै पूर्वमा टिकट काटेर ऐतिहासिक नाटकसहितका नाटक हेर्न दर्शकको रुची बढाउन सकिएको भन्दै खुसी व्यक्त गरे । उनले अव नगरमा एउटा नाटकघरको आवश्यकता टड्कारो रुपमा खड्किएको समेत बताए ।

कार्यक्रममा सहयोगी तथा नाटक हेर्न सहभागि विद्यार्थीका विद्यालयहरुलाई प्रशंसापत्रसमेत प्रदान गरिएको छ ।