आज मार्ग कृष्ण चतुर्दशी । आजको दिनलाई सत् बिउ छर्ने वा सत्विजारोपण गर्ने दिन पनि भनिन्छ । कतिपय हिन्दु धर्मावलम्बीहरू अघिल्लो दिन नै मन्दिरपरिसरमा भेला भई धुनी बालेर रातभर जाग्राम बस्दछन् । भगवानको भजन कीर्तन र विभिन्न मन्त्रोच्चारण रातभरि गर्छन्, अखण्ड दीप बाल्दछन् । बिहान भएपछि नजिकैको तलाउ वा पानीको स्रोत भएको स्थानमा जान्छन् ।

बलेकै अवस्थामा दीपलाई नदीमा बगाउँछन्, धार्मिक विधिअनुसार नुहाई धुवाई गर्छन् । धार्मिक विश्वास र परम्पराअनुसार माता वा पिता दिवङ्गत भएको वर्षदिन नपुगी आशौच बारेकाहरू भने मन्दिरभित्र प्रवेश गर्ने, पूजाआजा गर्ने गर्दैनन् । अन्य भक्तजनहरू मन्दिरभित्र प्रवेश गरी पूजाआजासमेत गर्दछन् ।

त्यसपछि आज बिहानै दिवङ्गत पितृहरूको सम्झनामा सप्तधान्य अन्तर्गत धान, मकै, जौ, गहुँ आदि लगायत सुन्तला, केरा, फूल आदि समेत मिसाई विशेषगरी शिवालय तथा मन्दिरपरिसरमा सत्विजारोपण गरिन्छ । मन्दिर जाने क्रममा बाटाभरि पनि सत्बिउ छर्दै हिँड्दछन् । विशेषगरी हिन्दु धर्मावलम्बीहरूले मनाउने यो सांस्कृतिक पर्व आफ्ना दिवङ्गत् प्यारा आफन्त वा पितृहरूको नाममा सत्बिउ छर्ने गरेको पाइन्छ । मन्दिर परिसरमा पुगी आफ्ना पितृहरूको उद्घारको कामना गर्दछन् ।

आजको दिनमा सत्विजारोपण गर्नाले उचित स्थान नपाएका पितृहरूले उचित स्थान पाउने तथा उचित किसिमले मृत्युपर्यन्त गरिने संस्कार सम्पन्न गर्ने क्रममा अन्जानमा केही भूल भएको भए पितृले मुक्ति पाउने विश्वास गरिन्छ । यस्तैगरी आज पवित्र मनले छरेका सत्बिउबाट उम्रेका बिरुवाबाट पितृले वर्षैभरि खान पाउँछन् भन्ने पनि जनविश्वास रहेको पाइन्छ ।

आफन्त वा प्रियजन बितेका तथा आशौच बारेकाहरूले अनिवार्य रूपले  उनीहरूको सम्झनामा सत्बिउ छर्ने गर्दछन् । यसो गर्नाले पितृले मुक्ति पाउने, पितृले राम्रो स्थान पाउनुका साथै आफूले पनि राम्रो फल पाउने, पुण्य प्राप्त हुने विश्वास गरिन्छ । आजका दिनमा गरिब, असहायहरूलाई चोखो मनले गरिने अन्न, फलफूल, द्रव्य, दानबाट समेत अतुलनीय पुण्य प्राप्ति हुन्छ भन्ने पनि विश्वास गरिन्छ ।

आजको दिन देवाधिदेव पशुपतिनाथको मन्दिरमा भक्तजनहरूको निकै भीड हुन्छ । त्यसैगरी श्लेष्मान्तक वनलगायत वराहक्षेत्र, अर्जुनधारा, हलेसी महादेव, सतासी धाम, धरानको पिण्डेश्वर, रामधुनी आदि जस्ता मन्दिरहरूमा भक्तजनहरूको घुइँचो हुन्छ । यसदिन आशौच बारेकाहरूले मात्र होइन, अन्यले पनि एकाबिहानै नुहाई धुवाई गरी आफ्ना दिवङ्गत प्रियजन वा पितृहरूको सम्झनामा सत्बिउ छर्ने गर्दछन् ।

यसबाट एकातिर पितृलाई सम्झने काम गरिन्छ भने अर्कातिर सच्चा र चोखो मनले गरिएको सत्विजारोपणले पितृदोषबाट मुक्त हुन सकिन्छ भन्ने पनि विश्वास पनि गरिन्छ । बालाचतुर्दशी वा सत्विजारोपणको चलन कसरी चल्यो भन्ने विषयमा विभिन्न मत देखिन्छ ।

शिवजीले मृग रूपधारी श्लेष्मान्तक वनमा विचरण गरेको बेलामा अधीर बनेकी पार्वतीले शिवजीको खोजी गर्दा नभेटिएपछि विभिन्न गेडागुडी श्लेष्मान्तक वनमा छर्दा ती उम्रेपछि शिवरूपी मृगले खान आउँदा दुवैको भेट भई कैलाश पर्वत फर्केकोले सोही दिनदेखि सत्बिउ छर्ने चलन चलेको भनाइ रहेको छ भने कतिपयले बाला र वृष नामक अत्यन्त मिल्ने साथीहरूमध्ये बाला राक्षसी स्वभावको भएकोले आर्यघाटमा ल्याएका लाशलाई खाइदिने, मलामीलाई तर्साउने गरेकाले जनताको गुहार सुनी तत्कालीन राजाले वृषलाई नै उनको साथी बालालाई मार्ने जिम्मेवारी दिएको तर, आफ्नो साथीलाई मार्न नसकी श्लेष्मान्तक वनमा बसी बालाको आसुरी प्रवृत्तिको मुक्तिको लागि महादेवको तपश्या गर्दा महादेव खुसी भई मुक्ति दिएको र सत्बिउ छर्ने सल्लाह दिएअनुसार संयोगवश मार्ग चतुर्दशीका दिनमा सत्बिउ छरेकाले सोही समयदेखि सत्बिउ छर्ने चलन रहेको किंवदन्ती रहेको पाइन्छ । ‘बाला’ भन्नाले ‘असुर प्रवृत्तिको व्यक्ति’ र ‘चतुर्दशी’ तिथि मिलेर ‘बालाचतुर्दशी’ बनेको देखिन्छ ।

जे जस्तो किंवदन्ती भए तापनि बालाचतुर्दशी एक महत्वपूर्ण सांस्कृतिक पर्व हो, जसमा पितृप्रति श्रद्घा व्यक्त गरिन्छ र यो अनुकरणीय रहेको पाइन्छ ।