नेपालमा दुईपटक प्रधानमन्त्री भएका मातृकाप्रसाद कोइराला राम्रा लेखकसमेत थिए । उनका धेरै लेखहरू नेपाली, अङ्ग्रेजीदेखि हिन्दीलगायतका भाषामा छापिएका छन् । उनी कथाकार पनि थिए । ‘गोल’, ‘गरिब’ जस्ता उनका कथा १९९७ सालमै ‘शारदा’ पत्रिकामा छापिएका थिए । उनका ‘पीपाको हवल्दार’ , ‘मिठू’ र ‘कोसीको डरलाग्दो रात’ जस्ता कथाहरू समेत चर्चित छन् ।

मातृकाप्रसाद कोइराला जसरी नेपालमा २००७ सालको क्रान्तिका कमान्डरको रूपमा तारिफ गरिन्छन् । ठीक त्यसैगरी २०११ वैशाख १३ गते (सन् १९५४ अप्रिल २५) उनै प्रधानमन्त्री हुँदा  भएको कोसी सम्झौताका कारण उत्तिकै आलोचित पनि छन् । मातृकाप्रसाद कोइराला क्याबिनेटका योजना–विकासमन्त्री महावीर शमशेर र उनका समकक्षी भारतीय मन्त्री गुलजारीलाल नन्दाले कोसी सम्झौतामा हस्ताक्षर गरेका थिए ।

‘कोसीको कथा’ मा मातृकाप्रसाद कोइरालाको दुवै व्यक्तित्व झल्कन्छ । एकातर्फ राम्रो खँदिला सामग्री पस्कने शिल्पी लेखकको पहिचान भेटिन्छ भने अर्कोतर्फ राष्ट्रिय रूपमा अत्यन्तै विवादास्पद कोसी सम्झौताको वचावटमा आएको लाचार पूर्वशासकको अनुहार पुस्तकमा झल्कन्छ ।

पहिलोपटक २०४६ सालमा विराटनगरमा रहेको प्रतिभा पुरस्कार प्रतिष्ठानबाट छापिएको यो निबन्धग्रन्थ गत साल नेपालको स्थापित प्रकाशनगृह पब्लिकेसन्स् नेपालयले पुनःमुद्रण गरेको हो ।

विभिन्न ११ निबन्धहरूमा सबैभन्दा लामो निबन्ध शीर्षक निबन्ध नै छ । ३४ पृष्ठ खर्चिएको सबैभन्दा पछिल्लो लहरमा रहेको निबन्धमा कोइरालाले कोसीका वैदिक तथा पौराणिक प्रसङ्गहरू ल्याएका छन् । काठमाडौंको साँगा भञ्ज्याङ कटेदेखि मेची नदीसम्मको सबै पानीढलो कोसीको भएको भन्दै कोसीलाई स्कन्ध पुराणको हिमतव् खण्डदेखि मार्कण्डेय पुराणसम्मको प्रसङ्ग जोडी कोसी प्राचीन नदी भएको आफ्नो तर्क पेश गरेका छन् ।

चारकोसे झाडीले बालुवा र ग्रेगर नचालिदिएको भए उहिले कोसीले मोरङ क्षेत्रसम्म मरुभूमि बनाउने उनको तर्क छ । कोसीको बहाव निरन्तर बदलिरहने भन्दै उनले १९८७–८८ सम्म वीरपुर कोसीपारि भएको र आफूले त्यही नदी तरेको लेख्दै कोसीलाई नियन्त्रण गर्ने कुरा बेलायत शासित भारतकै समयमा सुरु भएको उनले लेखेका छन् ।

सन् १९५४ मा मात्रै नेपाल–भारत कोसी सम्झौता भए पनि कोसीको व्यवस्थापनको लागि भारतीय पक्षबाट सन् १८९६ ताका नै पहिलोपटक छलफल चलेको, सन् १९२५ तिर कोसीको पानी नियन्त्रण बारेमा सर्वे गरिएको र सन् १९४२ मा भारतले केन्द्रीय जल आयोग बनाएर कोसी नियन्त्रण बारेमा थप कदम चालेको उदाहरण दिएका छन् ।

विक्रम् संवत् २००३ मा (सन् १९४६) भारतमा अन्तरिम सरकार बन्दा तत्कालीन मन्त्री तथा पछि राष्ट्रपति भएका राजेन्द्रप्रसाद चतरासम्म आएर अनुगमन गरेको भन्दै कोइरालाले कोसी सम्झौता राणाकालदेखि राणा–काङ्ग्रेस संयुक्त सरकार हुँदैदेखि अगाडि बढेको लेखेका छन् ।

सन्धिलाई राष्ट्रघाती भनेर नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टीका नेताहरूले अफवाह फैलाएको भन्दै कोइरालाले कोसी परियोजनाको जग्गा र पानी नेपालकै स्वामित्वमा हुने, उत्पादित बिजुलीको ५० प्रतिशत नेपालले निःशुल्क पाउने र अन्य कर पनि पाउने सम्झौताका केही धाराहरू उल्लेख गर्दै नेपाललाई घाटा नभएको बताएका छन् । तर, कोसी ब्यारेजको नियन्त्रण भारतको हुने, कत्ति ढोका खोल्ने वा बन्द गर्ने उसको तजबिजमा भर पर्ने जस्ता कुरामा नेपाली मुनि परेका प्रावधानहरू उनले उल्लेख गरेका छैनन् । मुआब्जा लिनेहरू नक्कली जग्गाधनीहरू भए पनि सक्कलीले धेरै समयसम्म नपाएको स्वीकार भने गरेका छन् । तर, आफ्नो सरकार ढलिहालेकाले काम गर्न नपाएको भन्दै उनले अरू सरकारले त्यसमा ध्यान नदिएको भनेका छन् ।

कोसीदेखि कोइरालाले मोरङका विविध विषयमा विभिन्न तीन निबन्ध लेखेका छन् । ‘मोरङको इतिहास’, ‘मौरुन्डाई को थिए’ र ‘मोरङका केही जातिविशेषहरू’ शीर्षकमा उनले मोरङका विविध आयाम लेखेका छन् । १९७६ सालमा केदार शमशेरले ‘गोग्राहा बजार’ लाई विराटनगर भनेकोदेखि विराटनगरलाई पहिले ‘नेपालगञ्ज’ भनिने इतिहाससमेत उनले लेखेका छन् । आफ्नै पिता कृष्णप्रसाद कोइरालाको पहलमा फारबिसगञ्जमा भएको रेल नेपालसम्म जोड्न जोगबनी एक्सटेन्सन बनाउँदा ‘नेपालगञ्ज एक्सटेन्सन’ नाम दिएको भन्दै उनले आफ्नो तर्क बलियो बनाएका छन् । दुहबीको पुरानो नाम कृष्णनगर भएकोदेखि भद्रपुरको पुरानो नाम धूपगाछी भएको उनले इतिहासका नाम केलाएका छन् ।

मोरङको नाममा उनले विभिन्न ऐतिहासिक र पौराणिक दस्तावेजहरू ल्याएर मोरङका विभिन्न नाम भौगोलिक फेरबदलको कुरा गरेका छन् । जस्तैः २०१७ सालमा सुनसरी जिल्ला हुनुअगाडि मोरङ विराटनगर भनेर रतुवामाईदेखि कोसी नदी बीचको तराईको भाग भएको बताएका छन् भने मोरङ झापा रतुवामाईदेखि मेचीसम्मको भएको बताएका छन् । कुनै बेला गण्डकीदेखि टिष्टासम्मको क्षेत्रलाई मोरङ वा मौरङको नाममा चिनिने उल्लेख गर्दै उनले सन् १७९९ तिर बेलायती शासन भारतमा हुँदा मुजफ्फरपुरदेखि जलपाइगुडीसम्मको क्षेत्रको नेपाली साँधलाई मोरङ नाम दिइएको प्रसङ्ग उद्धृत गरेका छन् ।

कुनै बेलाका हालको सुनसरी क्षेत्रमा बसोबास गर्ने तर, अहिले लोप भएका ‘भर’ जातिको नाममा बनेको भरौलदेखि त्यस्तै लोप भएको ‘खङ्गार’ जातिको नाममा बनेको खनारको कुरासमेत उनले कोट्याएका छन् ।

‘मकवानपुरका सेन वंश’ मा उनले मकवानपुरका सेन र पाल्पाका सेन एकै भएको लेखेका छन् भने ‘सगरमाथा’ शीर्षकमा उनले सगरमाथा र तेञ्जिङ बारेपनि लेखेका छन् । सन् १९५२ मा पहिलोपटक नेपालतर्फबाट सगरमाथा आरोहणमा स्विस नागरिक रेमन्ड ल्याम्बर्ट २८हजार २ सय फिट (८५९५.३६ मिटर) उचाइमा पुगेर आएपछि आफै प्रधानमन्त्री भएको समयमा राजा त्रिभुवनबाट ‘नेपाल प्रताप बद्र्धन’  प्रदान गरेको र त्यसको अर्को साल सगरमाथा चुचुरो चुमेर आएका तेञ्जिङलाई आफै प्रधानमन्त्री हुँदा ‘सुप्रसिद्ध मान्यवर नेपाल तारा’ प्रदान गरिएको लेखेका छन् ।

तेञ्जिङ प्रेम उनले ‘मेरो आसाम यात्रा’ शीर्षक निबन्धको समापन गर्दा पनि गरेका छन् । उनले लेखेका छन्, ‘तेञ्जिङले कुनै दिन भनेथे, ‘मेरो रगत र हाड नेपाली माटो र पानीले बनेको हो । म कसरी आफूलाई नेपाली नभनुँ ? मलाई लाग्छ, यो भावना एक्लो तेञ्जिङ नोर्गेको होइन, अपितु सारा प्रवासिएका दाजुभाइको हो ।’

यो निबन्धमा कोइरालाले आफू चारपाङ्ग्रे सवारीमा आसाम गएको र त्यहाँका नेपालीभाषी राज्य विधायक विष्णुलाल उपाध्याय, आसामका सभामुख हरेश्वर गोस्वामीदेखि नेपाली समुदायसँग भेट गरेको प्रसङ्ग कोट्याएका छन् । आसामी भाषामा पोख्त कोइरालाले आसामी र नेपाली दुवै भाषामा भाषण दिएपछि स्थानीय नेपालीभाषीले ‘आज हजुरका दुवै भाषाको भाषणले हामी नेपालीहरू पनि अरूहरूका बीच नाक ठाडो पारी हिँड्ने भयौं’ भनेको प्रसङ्ग ल्याएका छन् । आसाममा नेपालीभाषीले भोगेका हिंसादेखि गरिबीको चित्रसमेत उनले उक्त निबन्धमा देखाएका छन् । २०–२५ लाख नेपाली भएको आसाममा आफू पुगेको समयमा टेलिफोन जडानको हैसियत भएका नेपाली भने दुईजना मात्रै भएको उनले लेखेका छन् ।

कोइरालाले पुराण र विज्ञान दुवैलाई प्रश्न तेस्र्याएका छन् । ‘पुराण र यसको अन्तर्य’ शीर्षक निबन्धमा उनी चार वेद र १८ पुराणका भाषा फरक–फरक भएकोले लेखकसमेत फरक–फरक भएको लेखेका छन् । पुराणलाई कृष्ण द्वैपायन वेद व्यासद्वारा लेखिएको भन्ने आधार प्रमाणको आधारमा युक्तिसङ्गत नभएको लेख्छन् कोइराला ।

यस्तै ‘सृष्टि, स्रष्टा र संयोग’ निबन्धमा उनी विज्ञानलाई प्रश्न गर्दै लेख्छन्, ‘भरिलो मानिएको सिद्धान्त हो न्यूटनको गुरुत्वाकर्षण शक्ति । यो सिद्धान्तलाई मान्ने हो भने नक्षत्र र ग्रहहरू एक डल्ला भई सक्नुपर्ने थियो तर, त्यसको विपरीत आजको वैज्ञानिक अनुसन्धान यो पनि भन्दछ कि गुरुत्वाकर्षणका विपरीत क्षितिजमा एक ताराजगत् अर्को ताराजगत्बाट तीव्र गतिले टाढा हुँदै जाँदैछन् र हाम्रो सृष्टि पथबाट अगोचर हुन पनि सक्छन् ।’ ‘नाग जाति कि सर्प ?’ भन्ने निबन्धमा उनले विभिन्न पौराणिक र वैदिक विमर्श गरेर नाग सर्प नभएर जात भएको तर्क गरेका छन् ।

समष्टिमा ‘कोसीको कथा’ मातृकाप्रसाद कोइरालाको अन्वेषणात्मक, बौद्धिक र खँदिलो लेखनको एक दर्पण हो । केही प्राविधिक त्रुटिहरू भने पुस्तकमा पाइन्छन् । जस्तोः सन् १९५३ मे २९ (२०१० जेठ १६) मा तेञ्जिङ र एडमन्ड हिलारीले सगरमाथा चढेका हुन् । पुस्तकको पृष्ठ ७८ मा ‘सन् १९०३’ लेखिएको छ । कोसी सम्झौता गर्ने भारतीय मन्त्री गुलजारीलाल नन्दा हुन् । तर, परिशिष्टमा भने उनको नाम ‘गुल्राराई लाई नन्दा’ लेखिएको छ ।  यस्तै केही प्राविधिक कमजोरी र कोसी सम्झौताका राष्ट्रघाती प्रावधानहरूको स्वीकार्यता बिर्सने हो भने यो पुस्तक पठनीय मात्रै छैन, सङ्ग्रहणीयसमेत छ । खासगरी प्रदेश १ को पूर्वी तराई, कोसी नदी र मोरङका बारेमा जानकारहरूले यो पुस्तक छुटाउनु हुन्न ।