धरान । सोलुखुम्बुका गणेश खतिवडा धरानमा आयोजित राष्ट्रिय कविता महोत्सवमा प्रथम भएका छन् । कवि विमल गुरुङ स्मृति पुस्तकालयद्वारा आइतबार आयोजित कविता महोत्सवमा उनले ‘मृतिका सुगन्ध’ शीर्षकको कविता वाचन गर्दै प्रथम भए ।

कवि स्वर्गीय गुरुङको ५० औं जन्मजयन्ती र ३० औं राष्ट्रिय कविता महोत्सवमा प्रथम भएका  खतिवडाले नगद २१ हजार रुपैयाँ र प्रमाण–पत्र हात पारे । धरान–१८ बुद्धचोकस्थित पुस्तकालय भवनमा आयोजित कविता महोत्सवमा झापाका प्रकाश निरौला द्वितीय भए ।

उनले ‘गाउँका कविता’ शीर्षक कविता सुनाएका थिए भने खोटाङका मुकुन्दकृष्ण थापा तृतीय भए । थापाले ‘राहदानीको विलौना’ सुनाएका थिए । उनीहरूले क्रमशः नगद १५ हजार रुपैयाँ, ११ हजार रुपैयाँ र प्रमाण–पत्र हात पारे । उदयपुरकी सुमित्रा पोखरेल र मोरङका नगेन्द्र सुवेदीले सान्त्वना पुरस्कार नगद ५ हजार रुपैयाँ पाए ।

आयोजक समितिले मुलुकभरिका कवि साहित्यकारहरूबाट ३ सय बढी कविता प्राप्त भएको र ती कविताको ‘सर्टलिस्ट’ बनाएर उत्कृष्ट १० छनौट गरी कविहरू नै उपस्थित भएर वाचन गरेको आधारमा प्रा.डा. गोपाल भण्डारी, डा.रमेश इजम र डा.महानन्द तिम्सिनाले निर्णय गरेका थिए ।

समारोहमा  समाजमा विभिन्न पक्षबाट योगदान दिने २१ जनालाई दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरिएको थियो । सम्मानित र विजेताहरूलाई धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले प्रमाण–पत्र वितरण गरेका थिए ।

२ लाख रुपैयाँको विमल कृति पुरस्कार घोषणा
विमल स्मृति पुस्तकालयका संरक्षकसमेत रहेका पूर्णबहादुर गुरुङले नेपाली साहित्यको उन्नयनका लािग १ करोड ४ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको बताए ।

कविता महोत्सवको अवसर पारेर गुरुङ र उनकी छोरी शान्ति गुरुङले प्रत्येक वर्ष उत्कृष्ट एक पुस्तकलाई २ लाख नगदराशिको ‘विमल कृति पुरस्कार’ प्रदान गरिने घोषणा गरेका थिए ।

संरक्षक गुरुङले आगामी मङ्सिर १९ गतेकै दिन पारेर नगद २ लाख रुपैयाँको ‘विमल कृति पुरस्कार’ प्रदान गरिने घोषणा गरे । स्वदेश र विदेशमा बस्ने नेपालीभाषी लेखक, साहित्यकारहरूले लेखेका उत्कृष्ट पुस्तकलाई आगामी ०७९ सालको मङ्सिर १९ गतेदेखि पुरस्कार प्रदान गरिने पुस्तकालयका संरक्षक अध्यक्ष पूर्णबहादुर गुरुङले बताए ।

ब्रिटिश गोर्खा लाहुरे पूर्णबहादुर गुरुङ, उनकी स्वर्गीय श्रीमती सरस्वती गुरुङ र छोरी शान्तिले १९ वर्षको आयुमा ०४८ साल वैशाख २४ दिवङ्गत भएका कवि विमलको स्मृतिमा बुद्धचोकमा पुस्तकालय स्थापना गरेका हुन् ।