धरान / नयाँपुस्ता माझ चर्चित नृत्य साल्साको आधारभूत कार्याशाला धरानमा सम्पन्न भएको छ ।

रोयल डान्स एकेडेमी धरानको सहकार्यमा आश्था कलाकेन्द्र काठमाडौंका साल्सा इन्ट्रक्टर सुरज श्रेष्ठ र साधना राईले धरानका ३० जनालाई चार दिने आधारभूत साल्सा कार्याशालामा साल्सा सम्बन्धी कला सिकाए । धरान–१८ स्थित झुनाज फिट्नेश एन्ड वेलनेसको हलमा चार दिन भएको कार्यशालामा धराने साल्साप्रेमीहरु उत्साहित भएर सहभागी भएको प्रशिक्षक श्रेष्ठले बताए । उनले कार्यशालालाई निरन्तरता दिने बताए । उनी भन्छन्, ‘पहिला काठमाडौं केन्द्रीत थियो साल्सा पनि अहिले विस्तारै सबैतिर विस्तार भईरहेको छ ।’

अफ्रिकाबाट सुरु भएको एक प्रकारको सांस्कृतिक नृत्य मानिने साल्सा अमेरिकाबाट भने साल्सा नामले परिचित बनेको हो । पछिल्लो समय नेपाली युवापुस्ता माझ पनि चर्चित बनेको यो नृत्यको धरानमा आधारभूत कार्याशाला पहिलो पटक भएको कार्यशालाकी संयोजक रिमा थापा मगरले बताईन् । उनले सहभागीहरुको माग अनुसार आगामी दिनमा पनि साल्सा कार्यशालालाई निरन्तरता दिईने उनले बताईन् । रोयल डान्स एकेडेमीका निर्देशक सुरेश याक्खाले धरानमा पनि साल्सा मन पराउनेहरु बढ्दै गएको बताए । उनले नयाँपुस्ता मात्र नभई पुराना पुस्ताले पनि यो शैलीको नृत्य मन पराउने गरेको बताए ।  

IMG_0825

IMG_0958