सामान्य जनजीवनमा फर्किन कोरोना महामारीले अझै दिएको छैन । कोरोनाको एकपछि अर्को भेरियन्ट आइरहेका छन् । पछिल्लो समयमा अफ्रिकन मुलुकबाट ओमिक्रोन भेरियण्ट फैलिएको छ । यो बीचमा खोपको जरुरत सबैलाई परेको छ । विकसित मुलुकमा बालबालिकालाई पनि खोप लगाइदिने क्रम जारी छ । तर, नेपालमा १२ वर्षभन्दा मुनिका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप दिन सरकारले चासो देखाएजस्तो मात्र गरेको छ भने प्राथमिकतामा राख्न सकेको छैन । वयस्क, प्रौढ र वृद्धवृद्धा सबैलाई अहिलेसम्म खोप दिलाउन सकेको छैन । गठबन्धन सरकारले खोप व्यवस्थापन गर्न सकेको छैन । राजनीतिक दलहरू र तिनका नेतृत्व पङ्क्तिमा रहेका नेता कार्यकर्ताहरू कोरोना विरुद्धको खोपप्रति खासै चासो नदिई आफ्नै पद र प्रतिष्ठा जोगाउने ध्येयले महाधिवेशनमा व्यस्त भएका छन् । खोप लगाउन नपाउनेहरू गाउँ–सहरमा हजारौं छन् । तर, सरकारले हालसम्म मौज्दात रहेको ८३ लाख ६ हजार खोप वितरण गर्नै सकेको छैन । भएको खोपसमेत भण्डारण गर्न नसकेको समाचार यसअघि आएकै हो । यसबाट सरकार र स्वास्थ्य मन्त्रालय कति निकम्मा छ भनेर सहजै बुझ्न सकिन्छ ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा खरिद गरेको, अनुदान पाएको अनि खरिद प्रक्रियामा रहेको र मागिएको कोरोनाविरुद्धको खोपलाई शेरबहादुर देउवाको गठबन्धन सरकारले व्यवस्थित गर्न सकिरहेको छैन । खोप दिनुपर्ने आफ्ना नागरिकलाई धमाधम खोप दिनुपर्नेमा भाषणबाजी मात्र गरेर समय बर्बाद गरिरहेको छ देउवा सरकारले । भएकै खोप व्यवस्थापन गर्न नसकेको बेला आफैले पनि थप खोप ल्याउने कुनै प्रयास गरेको देखिँदैन । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले कोरोना महामारीको बारेपटक–पटक सचेत गराउँदै आएको छ । कोरोनासँग लड्न अन्तिम विकल्पको रूपमा खोपमात्र भएको बताउँदै डब्ल्युएचओले कुनै पनि बेला अर्को लहर आउने र जन–धनको ठूलो क्षति हुने भनेर बारम्बार सचेत गराए पनि देउवा सरकार कानमा तेल हालेर बसेको छ । गत असार २९ गते देउवाले आफू प्रधानमन्त्री हुनासाथ आगामी चैतससम्ममा सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने दाबी गरे तर, त्यो दाबी यतिबेला हावा भएको छ । त्यसबेला देउवा सरकारले फाइजरको ४० लाख र बालबालिकाका लागि मोडर्नाको ४० लाख डोज खोप ल्याउन लगाउने भनेर घोषणा गरेको थियो । तर, ती खोप अझैसम्म आपूर्ति हुन नसक्दा १२ वर्षमुनिका बालबालिकाले खोप लगाउन पाएका छैनन् । जटिल अवस्थाका बालबालिकाले मात्र सीमित रूपमा खोप लगाउन पाएका छन् । मङ्सिर १८ गतेसम्ममा मुलुकमा कोरोनाविरुद्धको २ करोड ७१ लाख ६८ हजार डोज (मात्रा) खोप भित्रिएको छ । तीमध्ये १ करोड ९० लाख डोज खोपमात्र उपयोग भएको छ । बाँकी करिब ८३ लाख डोज खोप मौज्दातका रूपमा रहे पनि भण्डारण गरेर राखिएका छन् । पहिलो डोज लगाएकाहरूलाई डब्ल्युएचओको निर्देशिकाअनुसार निर्धारित समयमा दोस्रो डोज लगाइदिनुपर्नेमा सरकार अलमलिइरहको छ ।

नेपाललाई आवश्यक खोप करिब सवा ६ करोड डोज हो । आगामी चैतसम्ममा थप तीन करोड ५६ लाख डोज खोप आउने सुनिश्चित भएको बताइए पनि विश्वभर कोरोनाको अर्को लहर चलेकाले खोप भण्डारण गर्न अरू मुलुकहरू उछिनपाछिन गर्ने अवस्था छ । आपूर्ति हुने सुनिश्चित भनिएको खोप कूटनीतिक र राजनीतिक रूपमा असफल नेपालजस्तो मुलुकले ल्याउन सक्ने देखिन्न । कोरोनाविरुद्धको खोप अभियान नेपालमा सुरु भएको करिब ९ महिना बितिसक्दा ८७ लाख जनाले मात्र दुवै मात्रा खोप लगाउन पाएका छन् । मौज्दात खोप भएकाले खोप उपलब्ध हुँदाहँुदै पनि नागरिकले लगाउने अवसर नपाउनु र त्यसकै कारण सङ्क्रमण फैलिनु र ज्यान जानुमा देउवा सरकारको निकम्मापनबाहेक अरू केही पनि होइन । चैतभित्र सबैलाई खोपको पूर्ण मात्रा लगाउने हो भने खोप लगाउने गतिलाई थप तीव्रता दिनुको अर्को विकल्प पनि छैन ।