कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका ५७ जति देशमा फैलिसकेको छ । नेपालमा समेत ओमिक्रोन भेटिएको पुष्टि भइसकेको छ । तर, सरकारले ओमिक्रोन फैलिनबाट रोक्न प्रभावकारी कदम चाल्न सकेको देखिँंदैन । बरु यतिबेला प्रमुख राजनीतिक दलहरू नै महाधिवेशनका नाममा भीड जम्मा गरिरहेका छन् । वडादेखि केन्द्रसम्म भइरहेका राजनीतिक दलहरूका कार्यक्रमको भीडभाडमा स्वास्थ्य मापदण्डसमेत अपनाएको पाइँंदैन । न त यी महाधिवेशनहरूमा आमनागरिकको स्वास्थ्य र देशको अर्थतन्त्रमा परेको प्रभावको विश्लेषण गरेर आगामी दिनमा कस्तो नीति लिने भन्ने बहस नै भयो । महामारी रोकथामका लागि पार्टीको भूमिका के हुने भन्ने छलफलभन्दा पनि कसले के पद पाउने भन्नेमा केन्द्रित छन् माओवादी, एमाले, काङ्ग्रेसका अधिवेशन, महाधिवेशनहरू । एमालेको चितवनमा सम्पन्न १० औं महाधिवेशनमा देखिएको भीड होस् या सत्ताको नेतृत्व गरिरहेको नेपालीकाङ्ग्रेसको महाधिवेशनको चहल–पहल होस् । यिनले कोरोना महामारी फेरि पहिला जसरी फैलिन नदिनका लागि कुनै आवाज त उठाएनन् बरु फेरि पनि फैलिँंदै गरेको कोरोनाको नयाँ भेरियन्टका लागि खतरा निम्त्याउने सम्भावना छ । आमनागरिकलाई कोरोना महामारीबाट बचाउन भूमिका खेल्नुपर्ने, उनीहरूलाई सचेत गराउनु पर्नेमा राजनीतिक दलका नेताहरूले नै यसको बेवास्ता गरिरहनु दुःखद् हो ।

एकातिर यसरी कोरोना महामारीलाई बेवास्ता गरेर राजनीतिक दलहरू भीड जम्मा गरिरहेका छन् भने अर्कातिर सरकारले सबै नागरिकलाई खोप उपलब्ध गराउन सकेको छैन । हालसम्म नेपालमा ८६ लाख ६७ हजार २ सय ५९ जनाले पूर्ण मात्राको खोप लगाएको र एक करोड ३ लाख २५ हजार ६ सय ४७ जनाले खोपको एउटा मात्रा लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क छ । यो तथ्याङ्कले अहिले पनि धेरैले खोप लगाउन पाएका छैनन् भन्ने प्रष्ट पार्छ । सरकारले आगामी चैत महिनाभित्र सबै नेपालीलाई खोप लगाउने प्रतिबद्धता गरेको छ । त्यस हिसाबमा पनि अहिलेको ओमिक्रोन फैलिँंदै गरेको अवस्थामा यतिबेला धमाधम खोप लगाइनु पर्ने हो तर, सरकारले आफ्नै प्रतिबद्धताप्रति ध्यान पु¥याउन सकेको देखिंँदैन । कोरोनाको ओमिक्रोन भेरियन्टबाट हालसम्म कसैको मृत्यु भएको पुष्टि भइसकेको छैन । तर पनि यो खतरनाक छैन भन्न सक्ने आधार पनि छैन । कोरोनाका अन्य भेरियन्टजस्तै यो पनि महामारीका रूपमा फैलिन सक्नेतर्फ सचेत रहनु आवश्यक छ । ओमिक्रोनलाई यसअघि देखा परेका अन्य भेरियन्टजस्तै भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । त्यसको अर्थ यसको प्रभाव कोरोनाका अन्य भेरियन्ट जत्तिकै खतरनाक हुन्छ । अघिल्ला दुई वर्षमा कोरोनाका विभिन्न भेरियन्टले विश्वमा ठूलो क्षति गरेको छ । नेपालमा पनि धेरै व्यक्तिको ज्यान लिएको र अर्थतन्त्रमा ठूलो असन्तुलन ल्याएको छ । त्यसबाट पाठ सिक्दै आगामी दिनमा कसरी अगाडि बढ्ने र पहिलाजस्तो अवस्था आउन नदिन के गर्ने भनेर सरकारले बेलैमा सचेतना जगाउनु आवश्यक छ । सरकारलाई आफ्नै प्रतिबद्धता बिर्सने छुट छैन । आमनागरिकलाई दिएको आश्वासनलाई बेवास्ता गर्ने अधिकार छैन । स्वास्थ्यजस्तो संवेदनशील विषयमा, मानवीयताको विषयमा आश्वासन बाँडेर पूरा नगर्नु बेइमानी हो । सत्तामा टिकिरहन आश्वासन बाँडिरहने तर, काम नगर्ने प्रवृत्ति त्याग्नु अनिवार्य छ ।

सत्ताको नेतृत्व गरिरहेको नेपाली काङ्ग्रेसको महाधिवेशनमा वा आगामी दिनमा हुने माओवादी केन्द्रको महाधिवेशनमा कोरोना महामारी समयमै नियन्त्रण गर्ने विषयमा बहस हुनु आवश्यक छ । त्यससँगै सरकारले गरेको वाचाअनुसार चैत महिनाभित्र सबै नागरिकलाई खोप लगाउने विषयमा बहस हुन आवश्यक छ । सरकार वा राजनीतिक दलको प्रमुख लक्ष्य आमनागरिकको जीवन रक्षा गर्ने हो । त्यसकारण पनि राजनीतिक दलहरूले खोपलाई प्राथमिकमा दिनुपर्ने आवाज बुलन्द गर्नु र सरकारलाई दबाव दिनु अहिलेको प्रमुख आवश्यकता हो ।