विराटनगर । चौथो संस्करणको मिस्टर एन्ड मिस लिटल कोसी प्रतियोगिताको फाइनलमा ५४ जना छनोट भएका छन् ।

दोस्रो अडिसनबाट २२ जना र पहिलो अडिसनबाट ३२ जना गरी ५४ जना फाइनलमा छानिएका हुन् । विराटनगरमा शनिबार सम्पन्न दोस्रो अडिसनमा प्रत्यक्ष रूपमा ३१ र अनलाइनबाट १ गरी ३२ जना सहभागी भए ।

यसअघि सम्पन्न भएको पहिलो अडिसनमा ४५ जना सहभागीमध्ये ३१ जना छनोट गरिएको प्रमुख कार्यकारी अधिकृत नीशा खतिवडाले जनाइन् । प्रतियोगिताको निर्णायकहरूमा जय मिडिया मेनेजमेन्ट प्रालिका अध्यक्ष जयराज राय, मिस कोसी २०२१ का विजेता प्रशिका श्रेष्ठ र फस्ट रनरअप आयुषा आचार्य रहेका थिए ।

बालबालिकाहरूमा भएको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले प्रालिले प्रतियोगिता गराउँदै आएको खतिवडाले जनाइन् । फाइनलका लागि छनोट भएकालाई बन्द प्रशिक्षणमा राखिनेछ । प्रतियोगिताको फाइनल माघमा हुने जनाइएको छ । विजेता हुने मिस्टर र मिस लिटलले जनही ३०–३० हजार रुपैयाँका साथ विभिन्न उपहार प्राप्त गर्नेछन् ।