धरान । काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभलमा ‘गड्स बफेलो’ वृत्तचित्र (डकुमेन्ट्री) उत्कृष्ट घोषित भएको छ ।
मेलम्चीको बाढीले बगाएको भैंसीको कथामा बनाइएको उक्त वृत्तचित्रका निर्देशक विष्णु कल्पितले एक हजार अमेरिकी डलर पुरस्कार जिते । यही वृत्तचित्रले नेपाल पानोरामा अन्तर्गतको उत्कृष्ट डकुमेन्ट्री अवार्ड प्राप्त गर्दै नगद ७५ हजार जित्यो ।
नेपाल पानोरामा अन्तर्गतको उत्कृष्ट आख्यान भने किरण श्रेष्ठको ‘एट एनोदर विन्टर’ ले जित्यो । २२ मिनेट लामो यो लघु फिल्ममा बोल्न नजान्ने आफ्नो छोराका लागि एक आमाले गर्ने भौतिक र मनोवैज्ञानिक यात्रा समेटिएको छ ।
यो फिल्मले एक लाख पुरस्कार जित्यो । पूजा गुरुङ र विभूषण बस्नेतको फिल्म ‘बिग हेडेड बोय: समनस एण्ड समराइ’ ले स्पेसल मेन्सन अवार्ड पायो ।
अन्तर्राष्ट्रिय डकुमेन्ट्रीतर्फ ‘एभरेष्ट द हार्ड वे’ ले किम्फको उत्कृष्ट वृत्तचित्र अवार्ड पायो । त्यस्तै यही विधातर्फ ‘फायर अन्द दि वाटर’ दोस्रो हुँदा ‘आफ्टर अन्टार्टिका’ तेस्रो अवार्ड जित्न सफल भयो ।
दोस्रो र तेस्रो हुने वृत्तचित्रले एक लाख ५० हजार र एक लाख नगद पुरस्कार जित्न सफल भए । यस्तै ‘भिलेज अफ वुमन’ ले जुरी अवार्ड जित्यो ।