नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को शेयर बजारसम्बन्धी एउटा अभिव्यक्तिका कारण नेपालको पुँजी बजारमा नकारात्मक असर देखिएपछि यो देशव्यापी रूपमा बहसको बिषय बनेको छ । देशका प्रभावशाली राजनीतिक दलमध्येको एक माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री र वर्तमान सत्ता साझेदार दलका नेताका हिसाबले पनि प्रचण्डको अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा लिनुपर्ने हुन्छ । अहिले शेयर बजारमा देखिएको प्रभावको कारण पनि यही नै हो । यो अभिव्यक्तिले प्रचण्डलाई त व्यक्तिगत रूपमा असर पुगेकै छ, उनले नेतृत्व गरेको दल र साझेदारी गरेको सरकारप्रति पनि आम लगानीकर्ताले असन्तुष्टि जनाइरहेका छन् । प्रचण्डले पार्टीको सातै प्रदेशको सम्मेलन एकसाथ उद्घाटन गर्ने क्रममा शेयर बजारलाई ‘साम्राज्यवादको विकसित रूप’ को संज्ञा दिँंदै पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु पर्नेमा शेयर, घरजग्गा कारोबारजस्ता क्षेत्रमा लगानी हुँदा अर्थतन्त्रमा राम्रो नहुने टिप्पणी गरेका थिए । उनको अभिव्यक्ति त्यतिमात्र थिएन । उनले भूमण्डलीकृत पुँजीवादलाई निस्तेज गर्ने गरी पुँजी बजारको विषयमा पनि पार्टीको आधिकारिक दस्तावेजमा नै समावेश गराउने उद्घोष गरेपछि शेयर बजार नकारात्मक भयो । प्रचण्डले धितोपत्र बोर्ड, सट्टा बजार, आईएमएफ, वल्र्ड ब्याङ्क, एशियाली ब्याङ्क साम्राज्यवादका विकसित रूपहरू भएको बताउँदै यस्तो वित्तीय एकाधिकारले पूँजीवादलाई बलियो बनाउने, त्यसलाई अगाडि बढाउने र नाफा सोहरेर संसारका केही सीमित पुँजीपतिहरूको हातमा संसारकै धन एकठ्ठा गर्ने र विश्वका अत्यधिक धेरै ८० प्रतिशत जनसङ्ख्यालाई भोको नाङ्गो राख्ने प्रणाली भएको टिप्पणी गरेका थिए ।
त्यसैपनि पुँजी बजारका लगानीकर्ताहरू निराश बनिरहेका बेला उनले यस्तो टिप्पणी गरेको दुई दिनभित्र पुँजीबजारको परिसूचक १६८ अङ्कले नकारात्मक भयो । त्यसको अर्थ बजारका लगानीकर्ताको सम्पत्तिको कुल मूल्य करिब २ खर्ब ३६ अर्ब रुपैयाँले घट्न पुग्यो । यसले लगानीकर्ताहरूलाई आक्रोसित बनाएको छ भने प्रचण्डलगायत उनको पार्टीलाई अप्ठ्यारोमा पारेको छ । हुन त पुँजीबजारले कम्युनिष्ट शासकहरूलाई सकारात्मक मान्दैन । किन कि उनीहरूको दर्शन माक्र्सवादले नै यसको विरोध गर्छ । पुँजीवादलाई नकारात्मक रूपमा हेर्छ । बाबुराम भट्टराई अर्थमन्त्री रहेका बेला उनको अभिव्यक्ति पनि यसरी नै विवादमा परेको थियो । उनले शेयर बजारलाई जुवाघरजस्तै रहेको टिप्पणी गरेपछि व्यापक आलोचना भएको थियो । त्यस्तै युवराज खतिवडा अर्थमन्त्री भएका बेला पनि उनको अभिव्यक्ति विवादमा परेको थियो । उनले शेयर बजारलाई अनुत्पादक क्षेत्र भएको टिप्पणी गर्दै लगानीकर्तालाई निरुत्साहित गर्न खोजेका थिए। उनको टिप्पणीको विरोध भयो तर, त्यसपछिका दिनमा शेयर बजार झनै विस्तार भयो । पछिल्लो समय प्रविधिको विकाससँगै मोबाइल सेटबाटै शेयर कारोबार गर्न मिल्ने व्यवस्था भएपछि शेयर बजार आम सर्वसाधारणको पहुँचमा पुग्यो । अहिले धेरैजसो युवापुस्ता शेयर बजार बारे जानकार छन् । उनीहरूले आफै घरमै बसीबसी लगानी गरिरहेका छन् । कतिपयले शेयर बजारबाट राम्रै कमाइ पनि रहेका छन् । केहीले बजार राम्रो नबुझी लगानी गर्दा गुमाइ पनि रहेका होलान् । जे भए पनि अहिलेको समयमा शेयर बजार आम नागरिकसँग जोडिएको विषय बनेको छ । साना साना पुँजीलाई लगानी गरेर नाफा कमाउने सपना देखेका धेरैलाई राजनीतिक दलका नेताहरूको यस्तो अभिव्यक्तिले असर गर्छ नै । त्यसअर्थमा पनि नेताहरूले शेयर बजारबारे बोल्दा एकपटक सोच्नु पर्ने अवस्था छ ।
देशको राजनीतिक उतार–चढाव र नेताहरूका बानी व्यवहार तथा सोचको छिटो प्रभाव देखिने ठाउँ पनि हो शेयर बजार । त्यसैले यसलाई संवेदनशील रूपमा हेर्ने गरिन्छ तर, हाम्रा नेताहरूले यसलाई अहिलेसम्म गम्भीर रूपमा लिएको पाइँंदैन । देशको अर्थतन्त्रमै हलचल ल्याउने विषयमा प्रचण्ड जत्तिका नेताले नजरअन्दाज गर्नु हुँदैन । वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्मा प्रचण्डका विश्वासपात्र मानिन्छन् । त्यसअर्थमा देशको आर्थिक नीति निर्माणमा प्रचण्डको यो अभिव्यक्तिले गम्भीर अर्थ राख्छ । उनको अभिव्यक्ति जस्तै आर्थिक नीतिमा शेयर बजारप्रति नकारात्मकता आयो भने त्यसले देशको अर्थतन्त्रमा त असर गर्छ नै स्वयम् प्रचण्डको राजनीति र उनको पार्टीको भविष्यमा पनि असर पर्न सक्छ ।