धरान । वरिष्ठ गायक दीप श्रेष्ठका लागि आजको दिन अर्थात् पुस १ दुई कुराले विशेष दिन हो । एउटा आज उनको जन्मदिन, अर्को नेपाली सङ्गीत क्षेत्रमा औपचारिक पाइला चालेको दिन । आजबाट उनी ७१ वर्षमा प्रवेश गर्दैछन् अनि उनको सङ्गीत यात्रा ५३ वर्षमा लागेको छ ।
हुन त दीप सानैदेखि देउसीभैलो र स्थानीय कार्यक्रमहरूमा गाउँथे । तर, २०२५ सालको पुस १ गते उनका लागि साङ्गीतिक जीवनको जन्मदिन बन्न पुग्यो । त्यसदिन राजा महेन्द्रको निमन्त्रणामा धरान सांस्कृतिक संस्थानको टोली भीमनिधि तिवारीको नाटक ‘शिलान्यास’ लिएर काठमाडौं पुगेको थियो । त्यही टोलीमा थिए दीप पनि । नाटकको बीचमा दृश्य परिवर्तन हुने बेलामा खाली समय भर्न उद्घोषकले मञ्चमा बोलाए, ‘दीपनारायण श्रेष्ठ ।’ उनले राजाका अगाडि विजय श्रेष्ठको रचनामा आफैले सङ्गीत भरेको गीत पहिलो पटक सुनाए ‘म पत्थरको देउता होइन...’
नाटक हेरिरहेका महेन्द्रलाई दीपका गीतले छोएछन् । तुरुन्तै रेडियो नेपालका निर्देशकलाई हुकुम दिए– ‘जति छन् सबै गीत भोलि नै रेकर्ड गरिदिनू ।’ दीपसँग आफ्ना भन्ने जम्मा दुई गीत मात्र थिए । भोलिपल्टै ‘म पत्थरको देउता होइन..’ र दीपकै रचना रहेको ‘मायालु रूप छ तिम्रो...’ गीत रेकर्ड भए । त्यसपछि दीप नेपाली सङ्गीतक्षेत्रमा चम्किला तारा बनेर उदाए ।
आज उनी नेपाली सङ्गीत क्षेत्रका जीवित इतिहास हुन् । जो पुराना पुस्तामाझ त परिचित छन् नै नयाँ पुस्ताका सङ्गीतप्रेमीका लागि पनि उत्तिकै प्रिय छन् । पछिल्लो समय भ्वाइस अफ नेपालका कोच बनेपछि उनी नयाँपुस्ता माझ पनि लोकप्रिय बनेका छन् । उनले चार–पाँच दशकअघि गाएका गीतहरू अहिलेका पुस्ताले पनि उनीसँगै गाउँछन् । दुई–तीन पुस्ताका सङ्गीतप्रेमीलाई एउटै गीतले जोड्न सक्ने क्षमता कमै गायकको हुन्छ ।
उनका तिनै सदावहार गीतहरू मन पराउने सङ्गीतप्रेमीहरूले उनले सङ्गीतकर्म सिकेको र सुरु गरेको धरानमा जन्मदिनको अवसर पारेर आज (बिहीबार) साँझ विशेष साङ्गीतिक कार्यक्रमको आयोजना गर्दैछन् । दीपको जन्मदिनलाई सङ्गीतमय बनाउने तारतम्य मिलाएको छ, धरानको हान्कुक साराङ कोरियन रेष्टुरेन्टले । सङ्गीतमय जन्मदिनको आयोजक चाहिं धरान सङ्गीत प्रतिष्ठान हो ।
जहाँ दीपले आफ्ना नयाँ पुराना गीतहरू सुनाउनेछन् अनि उनी पछिको पुस्ताका धराने गायकहरूले जन्मदिनको शुभकामना स्वरूप उनका गीत गाएर उनैलाई सुनाउनेछन् । कार्यक्रम संयोजक तथा आफै पनि सङ्गीतप्रेमी हान्कुक साराङका सञ्चालक महेश श्रेष्ठ (विक्की) सुनाउँछन्, ‘दीप श्रेष्ठले सङ्गीत क्षेत्रबाट धरानको नाम पनि उचो बनाउनु भएको छ । उहाँको सम्मानमा उहाँकै जन्मदिन साङ्गीतिक रूपमा मनाउन यस्तो कार्यक्रम आयोजना गरेका हौं ।’
कार्यक्रममा गायक एपी शेर्पा, एलिन सुन्दास, किरण श्रेष्ठ, मनोज मोतेले दीपका गीतहरू गाउनेछन् । कार्यक्रमको व्यवस्थापनमा सहयोग गरिरहेको सिल्भर इन्टरटेन्मेन्टका निर्देशक सौरभ श्रेष्ठ नेपाली सङ्गीत क्षेत्रका हस्ती गायक दीपको जन्मदिन पनि साङ्गीतिक रूपमा नै मनाउन लागिएको बताउँछन् । उनी भन्छन्, ‘उहाँले धरानबाटै सङ्गीतकर्म सुरु गर्नुभयो र आधा शताब्दी गीतसङ्गीतमै बिताउनुभयो । त्यसैले उहाँको जन्मदिन पनि साङ्गीतिक उत्सवका रूपमा मनाउन लागिएको हो ।’