धरान / आधुनिक धरानको जगबारे जानकार नभएकाहरू धरानको मुटु भानुचोकस्थित घण्टाघरको उत्तरतर्फको पर्खालमा पुगेपछि टक्क अडिन्छन् । पर्खालमा राखिएका धरानको ऐतिहासिक तस्बिरमा आँखा डुलाउँछन्, अनि ‘यस्तो रहेछ’ धरान भनी भलाकुसारी गर्दै गन्तव्यतिर लाग्छन् ।
घण्टाघरको त्यो पर्खाल अहिले ‘सेल्फी पोइन्ट’ बनिरहेको छ । प्रेमिल जोडी भने पर्खालसँगै निर्मित ‘पाना आकार’ को प्रतिमामा टाँसिँदै तस्बिर खिच्छन्, फेसबुकमा शेयर गर्छन् । तर, धरानमा नयाँ आउनेहरूले भने भित्तातिरको तस्बिरमा निकैबेर आँखा डुलाउँछन् ।
जहाँ राणा प्रधानमन्त्री चन्द्रशमशेरले बसाएको चन्द्रबजार, जुद्धशमशेरले बसाएको नयाँबजार र ढुङ्गे रेललाई तस्बिरमा सजाइएको छ । जहाँ धरानको सिङ्गो इतिहास अटाइएको छ । धरानको इतिहास स्मरण गराउने त्यो तस्बिरलाई भानुपार्क समितिले अङ्कित गरेको हो । जहाँ धरानको मुटु भानुचोक नै पुराना दिनमा कस्तो थियो भनी बुझ्न सकिन्छ ।
धरानको इतिहास अन्यत्र सायदै भेटिन्छ । त्यहाँ राखिएका प्रतिनिधिमूलक तस्बिरले साँच्चै एकपटक ‘फ्यासब्याक’ मा लैजान्छ । कतिपय अग्रज धराने त ‘नोस्टाल्जिक’ नै बन्छन् । आजको आधुनिक धरानको जग त्यही तस्बिरको पृष्ठभूमिमा लुकेको धरानका पूर्व नगर प्रमुख मनोजकुमार मेन्याङ्बो बताउँछन् ।
तर, विगतको धरानलाई फर्केर हेर्न नचाहेकोमा पूर्व नगर प्रमुख मेन्याङ्बो दुःखित हुँदै भन्छन्, ‘पुरानो धरानलाई मान्छेहरू फर्केर हेर्न चाहँदैनन्, नयाँ पिँढीले पनि त्यसरी हेरेको देखिँदैन, त्यो धरानको उपलब्धि हो । धरानको वास्तविक विकास, पूर्वाधारको विकास कस्तो थियो भनेर अध्ययन गरेकोजस्तो लाग्दैन ।’
धरानको विगत लामो छैन । १ सय २१ वर्ष चानचुन पुग्न लागेको छ । विक्रम सम्वत् १९५७ बाट धरानमा फाट्टफुट्ट बस्ती बस्न थालेको हो । जसलाई धरान उपमहानगरपालिकाले एक सय वर्ष पुगेको अवसरमा २०५७ सालमा शतवार्षिकी मनाएको थियो । त्योभन्दा ठीक दुई वर्षअघि धरानले धरान महोत्सव मनाएको थियो ।
जहाँ पर्खालमा टाँसिएका तस्बिरहरूलाई अङ्कित गरिएका थिए । ‘ती तस्बिरहरू महोत्सवकै उपलब्धि हुन् । त्यतिखेर पुरानो धरान र नयाँ धरानका तस्बिरहरू राखेका थियौं’ पूर्व नगर प्रमुख मेन्याङ्बोले भने, ‘धरानले कति फड्को मार्न सकेछ, त्यो तस्बिरलाई कम्पेयर गरेर हेर्न सकिन्छ ।’
नयाँ पुस्ताका लागि ती तस्बिरहरू अध्ययनको विषय बन्न सक्छ । वि.सं. १९५७ अघिसम्म हालको धरान चारकोसे झाडी थियो । उक्त झाडी फाँड्नमा राणा प्रधानमन्त्री चन्द्रशमशेरले भूमिका खेलेका थिए । तत्कालीन समयमा राणाकालीन गौंडाका रूपमा धनकुटा थियो । धनकुटामा आउजाउ गर्ने क्रममा धरानलाई चन्द्रबजार बसाउन उनैले भूमिका खेले । त्यहीँबाट धरान बजारले रूप फेर्दै गयो । त्यो रूप आज आइपुग्दा फरक बनिसकेको छ ।
तर, त्यो इतिहास धरानमा कतै नसमेटिएको पाएपछि भानुपार्क समितिले पार्क बनाउने क्रममा उक्त इतिहासलाई पनि तस्बिरमा अङ्कित गरेको छ । समितिका अध्यक्ष रमेश राई भन्छन्, ‘धरानको मुटु भानुचौक भएकाले यहाँ धेरै खालका मान्छे, धेरैतिरबाट आउने भएकाले धरानको केही त राखौं न भन्ने लागेर हामीले पुराना तस्बिरहरू गुगलमा खोजेर राखेका हौं ।’
धरानका ऐतिहासिक चिजहरू राख्ने चलन कमै छ । तर, समितिले भने मेला, महोत्सवमा राखेको देखेकै कारणले यस्ता ऐतिहासिक कुराले महŒव राख्छन् भन्ने लागेरै राखेको उनी बताउँछन् । उनी भन्छन्, ‘पहिलाको हाम्रो धरान यस्तो थियो भन्ने सोच राखेर त्यहाँ तस्बिरहरू राखेका हौं । न्यू जेनेरेसनका लागि जानकारी होस् भन्ने उद्देश्य पनि हो ।’ समितिले साढे चार लाख रुपैयाँको लगानीमा गएको असार मसान्तमा सम्पन्न गरेको हो ।
त्यहाँ धरानको पुरानो भानुचौक, वडा प्रहरी कार्यालय, पिण्डेश्वर मन्दिर, ढुङ्गे रेल, लिकहरू र ऐतिहासिक महलहरूका तस्बिर राखिएका छन् । धरानमा ढुङ्गे रेलको आफ्नै इतिहास छ । भीमनगरस्थित कोसी ब्यारेज र बाँध निर्माण गर्नका लागि वि.सं. २०११ मा भारतसँग सम्झौता भएपछि ढुङ्गे रेल सञ्चालन हुन थालेको हो । धरानस्थित फुस्रेबाट ढुङ्गा ओसार्ने काम भएको थियो । यस्ता इतिहासलाई पनि समेटिएको छ । तर, अहिले त्यो इतिहासमा सीमित बनेको छ ।